असार २४, काठमाडौँ । टलक्क टल्किने र ताजा देखिने तरकारी सबैको रोजाइमा पर्छ।
तर, यस्तै तरकारीमै विषादीको मात्रा बढी हुन सक्ने विज्ञहरुको भनाइ छ।
बरु अलिअलि किरा लागेको, मध्यम आकारको, बांगोटिंगो, सामान्य चमक भएको तरकारीमा कम विषादी हुनसक्छ।
बेमौसमीको दाँजोमा मौसमी तरकारी र फलफूलमा विषादी कम हुन्छ।
नेपाल कृषि अनुसन्धान परिषद् बागबानी अनुसन्धान महाशाखाका प्रमुख इश्वरीप्रसाद गौतमका अनुसार बेमौसमी तरकारी र फलफूलमा धेरै किरा लाग्ने भएकाले किसानले अत्यधिक विषादी हालेका हुन्छन्।
‘तरकारी किनेर ल्याएपछि दुई तीन दिन फ्रिज वा चिसो ठाउँमा राखेपछि उपयोग गर्नु राम्रो हुन्छ। बेमौसमी कृषि उत्पादन सम्भव भए नखाऔँ, खानै परे नुनपानीमा आधा घण्टा डुबाएपछि सफा पानीमा पखालेर खाऔँ,’ उनले भने, ‘नुनपानीको घोलले धेरैजसो विष सोस्छ।’
बोक्रा ताछेर तरकारी पकाउँदा पनि विषको मात्रा केही कम हुन्छ।