उपकूलपति रौनियार ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २७, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार २७, काठमाडौँ । बीपी कोइराला राष्ट्रिय विज्ञान प्रतिष्ठान धरानका उपकूलपति प्राडा राजकुमार रौनियार ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ रौनियारलाई विश्वविद्यालयको कार्यालय परिसरमा रहेको उपकूलपतिको निवासबाटै घुससहित रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

उपकूलपति रौनियार सँगै विश्वविद्यालयमा एमडीमा अध्ययनरत डा रामहरि रौनियार पनि पक्राउ परेका छन् ।

रौनियारले विचौलियाको रुपमा घुस रकम लिएर उपकूलपतिलाई बुझाएको र सोही क्रममा दुवैलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । घुस रकमसहित पक्राउ परेलगत्तै उपकूलपति रौनियार स्वतः निलम्वनमा परेका छन् ।

अख्तियारका अनुसार विश्वविद्यालय प्रांगणमा निर्माण भएका विभिन्न भवनहरुको कार्य सम्पन्न भएपछि भुक्तानी दिने क्रममा उपकूलपति रौनियारले निर्माण व्यवसायीसँग कमिशन वापत रकम पाउनु पर्ने भन्दै रकमको वार्गेनिङ गर्दै आएका थिए ।

उपकूलपतिले रकम वार्गेनिङ गरेको सूचनाको आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको विशेष टोलीले विहीवार उनीहरु दुवैलाई घुस रकमसहित पक्राउ गर्न सफल भएको हो ।

उपकूलपतिले घुस रकम लिनका लागि विश्वविद्यालयमै एमडी पढ्ने डा। रामहरि रौनियारलाई प्रयोग गरेका थिए ।

केहीदिन देखि उपकूलपतिको आदेश भन्दै रामहरिले नै रकमको बार्गेनिङ गर्दै आएका थिए ।

निर्माण व्यवसायी बाट रकम लिएर उपकूलपतिलाई बुझाउने क्रममा उनीहरु दुवै जना अख्तियारको नियन्त्रणमा परेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस