परीक्षामा अनियमितता आरोप लागेका त्रिविका परीक्षकले गरे आत्महत्या

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ४, शनिबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

साउन ४, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा अनियमितता आरोप लागेका उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डेले आत्महत्या गरेका छन्।

आयोगका पूर्वकर्मचारीसमेत रहेका ६७ वर्षीय पाण्डे बिहीबार साँझ त्रिपुरेश्वरस्थित एक भवनको ६ तलामाथिबाट हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उनी कानुन व्यवसायीलाई भेट्न उक्त भवनमा सञ्चालित ल फर्ममा पुगेका थिए। त्यही भवनबाट हामफालेर आत्महत्या गरेको हुन सक्ने महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले बताए।

‘त्यहाँ हिँडडुल गर्दा सजिलै खस्ने ठाउँ छैन, हामफाले जस्तो देखिन्छ,’ उनले भने, ‘उपचारका क्रममा अस्पताल लैजादैं गर्दा मृत्यु भएपछि थप अनुसन्धान गरिरहेका छौं।’

उनको शव पोस्टमार्टमकै क्रममा रहेको प्रहरीले जनाएको छ।

‘उहाँ केही दिनदेखि तनाबमा हुनुहुन्थ्यो रे, कानुन व्यवसायी भेट्न भन्दै भवनमा चढनुभएको रहेछ,’ ज्ञवालीले भने, ‘भेटेर फर्कने क्रममा घटना भएको देखिन्छ।’

परीक्षार्थीको नम्बर थपघट गरेर नतिजा फेरबदल गराएको आरोपमा अख्तियारले उनीसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ। सेवा आयोगको विज्ञापन नम्बर १८०७३र०७४ अन्तर्गतको मुख्य कार्यालय सहायक पदको दोस्रो पत्र र कार्यालय सहायकको प्रथम पत्रको उत्तरपुस्तिका परीक्षणमा उनी संलग्न थिए।

ताजा अपडेट

खोजी गर्नुहोस