भाद्र २४, काठमाडौं । डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् ।
डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ ।
सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिन नपर्ने बताए । डा। पुनले लक्षण देख्नासाथ अस्पताल पुगेर परिक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए । उनले भने, ‘शरीरका जोर्नीहरूको दुखाइ अत्यधिक हुन्छ ।
८÷१० दिनसम्म पीडा हुन्छ, धेरैजसो संक्रमित हुने मात्रै हो । तर, आत्तिनुपर्दैन ।’ डा.पुनका अनुसार डेंगु संक्रमण गराउने लामखुट्टे बिहान ९ देखि १२ र दिउँसो ३ देखि ७ को बीचमा मात्रै बढी सक्रिय हुने बताए ।
डेंगुको प्रकोप फैलिँदै गए पनि सरकारले भने रोकथामको लागि प्रभावकारी उपाय अवलम्बन गर्न सकेको छैन । सरकारले नियन्त्रणका लागि बजेट छुट्याए पनि सो रकम प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।
रोकथामका लागि सरकारले १० करोड मात्रै विनियोजन गरेको छ जुन निकै न्यून हो । स्थानीय तहका लागि १ करोड ६७ लाख, प्रदेशका लागि ६ करोड १७ लाख र केन्द्रका लागि १ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ ।
सो रकम ‘खोज र नष्ट गर’, जनचेतना अभियानका लागि खर्च भइरहेको महाशाखाले जनाएको छ ।