कार्तिक १८, काठमाडौं । जाडोयामको सुरुवातसँगै छालामा सुक्खापन आउने गर्छ । सामान्ययता सबैभन्दा बढी एक्सपोज हुने भाग, जस्तैः अनुहार, हात, खुट्टामा बढी सुक्खापन देखिन्छ ।
सुक्खापनले गर्दा छाला फुट्ने, कडा हुने अथवा एलर्जी देखापर्नेजस्ता समस्या देखिन्छन् । छालालाई मुलायम तथा चम्किलो बनाउने उत्पादन ग्रन्थीको रक्तसञ्चारमा कमी आउने भएकाले जाडोमा छालामा सुक्खापन देखिन्छ । तसर्थ चिसो मौसममा छालाको स्याहार गर्न आवश्यक हुन्छ ।
बच्ने उपाय
- चिसो मौसममा शरीर ढाक्ने लुगा लगाउनुपर्छ । अघिल्लो वर्ष थन्क्याएर राखेका लुगा सीधै प्रयोगमा ल्याउनुहुँदैन । दराजमा लामो समयसम्म राखेका लुगा सीधै प्रयोगमा ल्याउँदा छालामा एलर्जी हुन सक्छ । यस्ता कपडा सुकाएर, आइरन गरेर वा धोएर मात्र प्रयोगमा ल्याउन सकिन्छ ।
- छालामा मोस्चराइजरको प्रयोग गर्नुपर्छ । जाडो मौसममा प्रयोग गरिने मोस्चराइजर गर्मीमा प्रयोग गरिनेभन्दा प्रभावकारी हुनुपर्छ । क्लिजिङ क्रिमले छाला सफा गरेपछि कोमलता दिन घरमै बनाइएका प्याक पनि प्रयोगमा ल्याउन सकिन्छ । खानपानमा विशेष ध्यान दिनुपर्छ । हरिया सागसब्जीका साथै प्रशस्त पानी पिउन जरुरी हुन्छ ।
- नुहाउँदा मनतातो पानीको प्रयोग गर्नुपर्छ । जसले छाला सुक्खा हुन दिँदैन । त्यस्तै, कडा खालको साबुनको प्रयोग गर्नुहुँदैन । मोस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा साबर जेलको प्रयोग छालाका लागि राम्रो मानिन्छ ।