मंसिर १७, काठमाडौं । विद्यार्थी सडक आन्दोलनमा रहेका वेला सरकारले चिकित्सा शिक्षाको वार्षिक परीक्षा सञ्चालन गर्ने भएको छ ।
१९ मंसिरदेखि एमबिबिएस पहिलो र दोस्रो वर्षसहित चिकित्सा शिक्षाका अन्य परीक्षा सञ्चालन हुँदै छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले विद्यार्थी आन्दोलनमै रहे पनि परीक्षा नरोकिने जनाएको छ । आइओएमका डिन प्रा.डा.जगदीशप्रसाद अग्रवालले विद्यार्थीको आग्रहमा एकपटकका लागि सारेको परीक्षा अब नसर्ने स्पष्ट पारे ।
कलेजहरूले लिएको बढी शुल्क फिर्ताको माग गर्दै निरन्तर विद्यार्थी आन्दोलनमा भएकाले उनीहरूको आग्रहलाई स्वीकार गर्दै आइओएमले २१ कात्तिकबाट हुने परीक्षा एक महिना पछि सरेको थियो । तर, निजी कलेजहरूले माग सम्बोधन नगरेको भन्दै विद्यार्थीहरू पुनः परीक्षा बहिष्कार गर्ने निर्णयमा पुगेका छन् । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक डा. मिलन गैरेले लिएको बढी शुल्क समायोजन गरेर मात्रै परीक्षा सञ्चालन गर्नुपर्ने बताए ।
१० मंसिर राति भएको सहमतिअनुसार पहिलो र दोस्रो वर्षका विद्यार्थीसँग बढी लिएको रकम तत्काल फिर्ता हुनुपर्ने उनको भनाइ छ । तर, कलेजहरूले सरकारसमक्ष लिएको बढी रकम फिर्ता गर्ने बताए पनि अहिलेसम्म कुनै प्रक्रिया अघि बढाएका छैनन् । नयाँपत्रिका दैनिकमा खबर छ ।