मंसिर २९,काभ्रे। जिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकामा माध्यमिक विद्यालयको सङ्ख्या कम हुँदा विद्यार्थीलाई साढे तीन घण्टाभन्दा बढी हिँडेर विद्यालय धाउनुपर्ने बाध्यता छ ।
विद्यालयमा छात्रावासको व्यवस्था हुन नसक्दा यी दुई गाउँपालिकाका विद्यार्थी वर्षौंदेखि साढे तीन घण्टाको बाटो हिँडेर विद्यालय पढ्न जाने गरेका छन् ।
नेपाल सरकारले आधा घण्टाभन्दा बढी हिँडेर विद्यालय जान नपर्ने नीति बनाएको भए पनि यहाँका बालबालिका भने दैनिक साढे तीन घण्टासम्म हिँडेरै पढ्न जानुपर्ने बाध्यतामा छन् ।
महाभारत गाउँपालिका वडा नं. ६ मा रहेको जनमोहन माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा चमेली घलानले साढे तीन घण्टा हिँडेर विद्यालय आउने गरेको बताए। वडा नं. ७ कालीमाटीमा घर रहेको बताउने उनी दैनिक ६ः३० बजे घरबाट हिँड्ने गरेकी छन् ।
उठ्नेबित्तिकै घरबाट विद्यालयका लागि हिँड्ने गरेको छु । नजिकै माध्यमिक विद्यालय नहुँदा पढ्नकै लागि आफू साढे तीन घण्टा हिँडेर आउने गरेको उनले गुनासो गरिन् । उनले घर फर्किंदा पनि त्यति नै समय लाग्ने गरेको बताइन् ।
कक्षा १० मा अध्ययनरत छात्र फुर्साङ मोक्तानले तीन घण्टा हिँडेर विद्यालय आएको बताए । विद्यालयमा छात्रावास छैन, भूकम्पले घर भत्किएपछि कोठा लिएर बस्ने ठाउँ पनि छैनन् । त्यसैले दैनिक तीन घण्टा हिँडेर विद्यालय आउने गरेको छु ।
महाभारत गाउँपालिका वडा नं. ५ मा रहेको ग्रामोन्नति माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा पञ्चमाया बल दुई घण्टा हिँडेर विद्यालय आउने गरेको बताउँछन् । प्राथमिक तहसम्म त गाउँमा नै पढियो तर त्यसभन्दा माथि पढ्ने विद्यालय नहुँदा दुई घण्टा हिँडेर विद्यालय आउने गरेका छौँ ।
उनीहरू दैनिक २० जना भलडाँडा भन्ने ठाउँबाट विद्यालय आउने गरेका छन् । यी त केही प्रतिनिधि पात्र मात्र भए । जिल्लाको डाँडापारि क्षेत्रमा अझै पनि शिक्षा लिनकै लागि घण्टौँसम्म बालबालिका हिँडेर आउजाउ गर्नुपर्ने बाध्यतामा छन् । छात्रावासका लागि पहल नहुँदा घण्टौंसम्म असुरक्षित बाटोबाट बालबालिका आउनुपर्ने अवस्थामा रहेको स्थानीय रामबहादुर ब्लोनले बताए ।