माघ ८, काठमाण्डौ । चीनमा कोरोना भाइरसको प्रकोप देखा परेको छ । भाइरसको प्रकोपबाट कम्तिमा चार जनाको मृत्यु भएको छ । संक्रमित तीनजसय जना उपचारका लागि भर्ना गराइएको छ । विश्व स्वास्थ्य संगठनले भाइरसको संक्रमणलाई लिएर बुधबार आकस्मिक बैठक डाकेको छ । मानव–मानवबीच सर्ने भएकोले नेपालमा समेत सजगता अपनाउनुपर्ने चिकित्सकले सुझाब दिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा. वासुदेव पाण्डेले प्रकोप चीनमा देखिए पनि नेपालमा समेत आवागमन हुने भएकोले विशेष सजगता अपनाउनुपर्ने बताए । यसै साता काठमाडौं आएका चीनको वुहान प्रान्तका एकजना पर्यटकमा उक्त संक्रमणको सम्भावना देखिएपछि अस्पताल पुगेकोमा पछि संक्रमण नरहेको चिकित्सकले ठहर गरेको डा. पाण्डेले बताए । विदेशबाट आउने पर्यटकमा रोग वा भाइरसको संक्रमण जाँच्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परामर्श केन्द्र राखिएको छ ।
डा. पाण्डेले विश्व स्वास्थ्य संगठनको बैठकपछि थप सजगताका लागि प्रयास गरिने बताए । विमानस्थलको सहायता केन्द्रलाई भने सक्रिय अवस्थामा राखिएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमण छुट्याउने उपकरण समेत छैन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उपकरण सहयोगको लागि विश्व स्वास्थ्य संगठनलाई आग्रह गरेको छ । केही दिनभित्रै उपकरण आउने बताइएको छ ।
पहिलो पटक दुई साता अघि नै देखापरेको उक्त भाइरसको प्रकोप बढेपछि चिनियाँ अधिकारीहरुले कोरोना भाइरस प्रकोपको रुप लिन सक्ने स्वीकार गरेका छन् । राष्ट्रपति सी चिनफिङ्गले आवश्यक सतर्कता र सावधानी अपनाउन कुनै कदम बाँकी नराख्ने बताएका छन् ।