माघ १६, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १७० पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १७० जनाले ज्यान गुमाएका छन् भने झन्डै ८ हजारमा यसको संक्रमण देखिएको छ ।
बुधबार मात्रै ३८ जनाको मृत्यु भएको छ भने थप एक हजार ७ सय ३७ जनामा यसको संक्रमण फैलिएको छ । बिहीबार बिहानसम्म आएको तथ्याङ्कअनुसार ७ हजार ७ सय ७१ जनामा यसको संक्रमण देखिएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहान कोरोना भाइरसको संक्रमण एकअर्कामा सर्ने बताएको छ । आयोगले हाछ्युँ गर्दा वा खोक्दा निस्कने थुक र र्यालको छिटाबाट कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने जानकारी दिएको हो ।