माघ १६, काठमाण्डौ । आगामी एक दशकमा नेपालमा निमोनिया लगायत अन्य प्रमुख रोगका विरुद्ध लड्ने अभियानलाई बलियो बनाउँदा पाँच वर्षमुनिका २३ हजारभन्दा बढी बालबालिकालाई मृत्युबाट जोगाउन सकिने एक अध्ययन प्रतिवेदनले औँल्याएको छ । स्पेनको बार्सिलोनामा बुधबारदेखि शुरु भएकोे ‘बाल्यावस्थाको निमोनियाको विश्वव्यापी मञ्च ग्लोबल फोरम अन चाइल्डहुड निमोनिया’ पूर्वसन्ध्यामा सो आँकलन प्रतिवेदन सार्वजनिक गरिएको हो । विश्वमा पहिलोपटक सो मञ्चको बैठक भएको जनाइएको छ ।
जनस्वास्थ्यका विविध क्षेत्रको अध्ययन अनुसन्धानमा विश्व प्रसिद्ध अमेरिकाको जन्स हप्किन्स विश्वविद्यालयद्वारा गरिएको सो अध्ययन प्रतिवेदनका अनुसार नेपालमा निमोनियाको उपचार र रोकथाम सेवाको विस्तारले मात्र पनि पाँच वर्षमुनिका करिब नौ हजार बालबालिकालाई अकालमा मृत्यु हुनबाट जोगाउन सकिने र यस्ता सेवाको विस्तारले सिर्जना गर्ने ‘लहर प्रभाव’ ले थप १४ हजारभन्दा धेरै बालबालिकाको अन्य रोगबाट हुने मृत्युलाई रोक्न सकिने आँैल्याइएको छ । ब्याक्टेरिया, भाइरस र फङ्गी पाँच वर्षमुनिका बालबालिकमा निमोनिया हुने प्रमुख कारकतत्व मानिन्छ । रासस