माघ १६, काठमाण्डौ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ । अत्यधिक रुपमा फैलिँदै गरेको उक्त भाइरसबाट संक्रमित बिरामी दुबईमा पनि पहिलो पटक भेटिएका छन् । संयुक्त अरब इमिरेट्सले बुधबार नयाँ चिनीयाँ भाइरस संक्रमित बिरामी भेटिएको पुष्टी गरेको छ । युएईका स्वास्थ्य अधिकारीहरुका अनुसार वुहानबाट चीन पसेका एकै परिवारका चार व्यक्तिमा कोरोना भाइरस देखिएको हो । उनीहरुमा फ्ल्यूको लक्षण देखा परेको छ । चिकित्सकका अनुसार हाल उनीहरुको उपचार युएई अस्पतालमा भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार इमिरेट्सका अधिकारीहरुले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सम्बन्धी जारी गरेको आवश्यक सावधानी, वैज्ञानिक सिफारिस, सर्त र मापदण्ड अनुरुप सावधानी अपनाएका छन् । सामान्य स्वास्थ्य अवस्था चिन्ताको विषय होइन । यस्तै चीनका सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ । पछिल्लो पटक तिब्बतमा पनि संक्रमित भेटिएको छ ।
चीनबाट फैलिएको कोरोना भाइरसका बिरामी भारतमा पनि देखिएका छन् । भारतको केरलामा बिहीबार पहिलो बिरमी पुष्टि भएको भारतीय च्यानल एएनआईले जनाएको छ । एएनआईले ट्वीटरमार्फत यसबारे जानकारी गराएको छ । यसैगरी चीनको केरुङबाट फर्किएकी एक महिलालाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा परीक्षण सुरु गरिएको छ । बिहीबार बिहान उपचारका जिल्ला अस्पताल पुगेकी एक महिलालाई संक्रमण भएको आशंकामा आइसुलेसन कक्षमा राखेर उपचार गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले बताए । २४ वर्षीय यी महिला केरुङबाट माघ २ गते नेपाल आएकी थिइन् । यही माघ १३ गतेबाट उनी बिरामी परेकी थिइन् । सुरुमा धामीझांक्री लगाएको र ठिक नभएपछि अस्पताल पुगेको उनले बताएकी छिन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले कोरोनाको संक्रमण फैलन नदिन आग्रह गरेको छ । यस क्षेत्रका राष्ट्रहरूलाई छिटोभन्दा छिटो भाइरसको पहिचान गर्न र यसलाई फैलन नदिनका लागि सतर्क रहन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो ।