विश्व पानी दिवस: थाक्रेका २६ घर परिवारलाई सरसफाइ सामग्री वितरण

Post Thumbnail

चैत्र १०,धादिङ । थाक्रे गाउँपालिका वडा नं. ५ पोखरीचौरका २६ घर परिवारलाई सरसफाइ सामग्री वितरण गरिएको छ । विश्व पानी दिवसको अवसरमा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै सरसफाइ सामग्री (तौलिया र साबुन) वितरण गरिएको हो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल, सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन), महांकाल दिगो विकास केन्द्र, पौखरीचौर लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले संयुक्त रुपमा आयोजना गरिएको सचेतना कार्यक्रममा थाक्रे गाउँकार्यपालिकाकी सदस्य रजनी तामाङले खाना पकाउनु अघि, खाना खाएपछि, शौचालय गएपछि र वस्तुभाउलाई छोएपछि साबुन पानीले मिचीमिची हात धोएर तौलियाले पुछ्नुपर्ने बताए । उनले गाउँपालिकाले समेत विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिहेको जानकारी गराए ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले विगतका बर्षहरुमा विश्व पानी दिवस भव्य रुपमा मनाउने गरिएको स्मरण गर्दै यसबर्ष कोरोना भाइरसका कारण २५ जना भन्दा बढी भेला हुन नमिल्ने र भीडभाडमा जान नहुने भएकाले त्यो सम्भव नभएको बताए । उनले सरसफाइ सामग्रीको उचित प्रयोग गर्न समेत आग्रह गरे । पत्रकार राज ढुंगानाले कोराना भाईरसले अहिले विश्वभरी जनजिवनमा पारिरहेको असर र यसको रोकथामका लागी नेपाल सरकारले गरिरहेको पहलका विषयमा जानकारी दिएका थिए । उनले कोरोना भाईरस नेपालमा नआएपनि सबै नागरिक सचेत हुनपर्नेमा जोड दिएका थिए । ढुंगानाले भने–’कारोनाबाट अहिलेको अवस्थामा बच्ने एकमात्रै उपाय नियमित हात धुनु र संक्रमितबाट टाढा रहनु हो, यो नै चिकित्सकले दिएका सवैभन्दा उपयुक्त उपाय हुन् ।’

विश्व पानी दिवसको अवसर पारेर आफ्नो गाउँसम्म कोरोना भाइरस बिरुद्धको सचेतनामूलक कार्यक्रम आयोजना गरेकोमा पूर्व वडाध्यक्ष सन्तमान तामाङले धन्यबाद व्यक्त गरे । उनले आफूहरुलाई प्रदान गरिएको सरसफाइ सामग्रीको सदुपयोग गरिने बताए ।

राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले विश्वभर पानीको स्रोत सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै सन् १९९२ को मार्च २२ तारिखमा विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो । त्यस यता हरेक बर्षको मार्च २२ तारिखमा विश्व पानी दिवस मनाउँदै आएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरसका कारण यस बर्ष विगतका बर्षहरुमा जस्तो बृहत कार्यक्रमहरु हुन नसकेपनि यसबर्ष विभिन्न चेतनामूलक कार्यक्रमहरु गरेर विश्व पानी दिवस मनाएका छन् । विश्व पानी दिवस मनाईरहँदा नेपालको ११ प्रतिशत जनसंख्याले अझै पनि खानेपानीको आधारभूत सेवा नपाएको सरकारी तथ्याङ्क छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार ८९ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहूँच पुगेको छ । ती मध्ये २० प्रतिशत नागरिकले उच्च तथा मध्यम स्तरको खानेपानी उपभोग गरिरहेका छन् । सरकारले पन्ध्रौं योजनाको अन्त्यसम्ममा ४० प्रतिशत जनसंख्यालाई उच्च तथा मध्यम स्तरको खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस