४ बैसाख, काठमाण्डौ । र्यापिड डायग्नोस्टिक टेस्ट आरडीटी किटको परीक्षणबाट एन्टिबडी पोजिटिभ देखिएको पोखराकी एक महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । संकलित स्वाब बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिनमा परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको प्रयोगशाला निर्देशक सपना सुवेदीले जानकारी दिएकी छन् । यसअघि बुधबार दिउँसो आरडीटी किटबाट रगतको नमुना दुईपल्टसम्म परीक्षण गर्दा एन्टिबडी पोजिटिभ देखिएको थियो ।
पोखरा–१२ ढिकालेथर बस्ने ५५ वर्षीया उनी २७ दिनअघि दुबईमा रहेका छोरालाई भेटेर फर्किएकी थिइन् । ती महिलामा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको र अवस्था सामान्य रहेको सुवेदीले बताइन् । पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको रगतको नमुना बुधबार आरडीटी किटबाट परीक्षण गरिएको थियो ।