मंसिर १०,काठमाडौँ । सेन्ट लरेन्स कलेजको आयोजनामा प्लस टु तहमा भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम गरिएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक कार्यक्रमबीच कलेजले आफ्ना नयाँ विद्यार्थीलाई स्वागत गरेको हो। कार्यक्रम सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्वमा भएको थियो । काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख गोविन्द प्रसाद शर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सेन्ट लरेन्स स्कुलका प्रधानाध्यापक तारा प्रसाद सुवेदीले आफ्नो शिक्षाका लागि सेन्ट लरेन्स कलेज छानेका विद्यार्थीलाई सही निर्णय गरेकोमा धन्यवाद र बधाई दिए। आगामी दुई वर्ष विद्यार्थीको सर्वपक्षीय विकासका लागि कलेजले सबै प्रयास गर्ने उनको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले २७ वर्षसम्म विभिन्न आरोह अवरोह पार गरेर कलेज आजको स्थानसम्म आइपुगेको भन्दै खुसी व्यक्त गरे। कार्यक्रम अवलोकन गरिरहँदा पूर्व विद्यार्थीहरूले विभिन्न क्षेत्रमा सफलता हासिल गरेर सम्मान पाएको र उनीहरू देश तथा विदेशमा दक्ष जनशक्तिका रूपमा कार्यरत छन् भन्ने थाहा पाउँदा हर्ष लागेको बताए। महानगरमा झन्डै २ लाख ८० हजार विद्यार्थी अध्ययनरत रहेको उल्लेख गरेका उनले सेन्ट लरेन्स विद्यार्थीले नेपाल टप गर्नु गर्वको विषय भएको भन्दै बधाई दिए। उनले पाठ्यक्रमका लक्षित सिकाइ उपलब्धि हासिल गर्न विद्यार्थी सफल हुने विश्वास व्यक्त गरे।
कार्यक्रमका सभापति तथा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले चाबहिलमा उत्कृष्ट कार्य र नतिजा सहित सेन्ट लरेन्स कलेज रहेको र निरन्तर रहने बताए। उनले विभिन्न विषयमा अध्ययन गरेर आज सफल भएका पूर्व विद्यार्थीहरूको उदाहरण दिँदै हाल अध्ययनरत विद्यार्थीले पनि त्यस बाट प्रेरणा लिनुपर्ने उल्लेख गरे। गुणस्तरमा सम्झौता नगरी आफ्नो उद्देश्य पूरा गर्नका लागि कलेज सदैव प्रतिबद्ध रहेको उनको भनाइ थियो । अभिभावकको सपना, विद्यार्थीको उद्देश्य र देशको आवश्यकता परिपूर्ति गर्न सेन्ट लरेन्स सधैं सफल भएको उनको दाबी थियो। वर्षों देखि उत्कृष्ट नतिजाको निरन्तरता रहेको हुँदा यस्तो गौरवशाली गरिमा बोकेको शैक्षिक संस्थामा प्रवेश गर्ने सबै विद्यार्थीको भविष्य सोचे अनुरूप हुने भन्दै उनले सबैलाई कार्यक्रममा स्वागत गर्दै औपचारिक कार्यक्रम समापन गरे।
विद्यार्थीहरूका तर्फबाट स्वागत मन्तव्य राख्दै हाल कक्षा १२ अध्ययनरत छात्रा पूर्णिका ढकाल ज्योतिका राईले सेन्ट लरेन्स छान्ने निर्णय नवआगन्तुक विद्यार्थीहरूको सबैभन्दा राम्रो निर्णय भएको बताइन् । उनले आफू पनि कलेज कस्तो होला भन्ने दुबिधामै कलेज प्रवेश गरेको भए पनि आज कलेजको शैक्षिक वातावरण देखेर प्रभावित भएको उल्लेख गरिन्। सेन्ट लरेन्स हरेक हिसाबले उत्कृष्ट शैक्षिक संस्था भएकाले सबैको भविष्य उज्ज्वल हुनेमा आफू विश्वस्त रहेको उनको भनाई थियो।