काठमाडौँ । नेपाल चिकित्सक संघले काठमाडौं बाहिरका डाक्टरलाई जिल्ला प्रशासन कार्यालय र काठमाडौं उपत्यकाका डाक्टरलाई स्वास्थ्य मन्त्रालय घेराउ गर्न निर्देशन दिएको छ । चिकित्सक संघको विस्तारित कार्यसमिति र आवासीय चिकित्सकको छलफलले उक्त निर्णय गरेका हो ।
बुधबार पत्रकार सम्मेलनमा कार्यकारी सदस्य तेत्छु मल्लले निजी मेडिकल कलेजमा काम गर्ने डाक्टरले आकस्मिक बाहेक सम्पूर्ण काम संघर्षमा आउन अनुरोध गरे । साथै २४ घन्टाभित्र माग कार्यान्वयन नभए आकस्मिक बाहेकका सेवा रोक्ने संघले चेतावनी दिएको छ ।
चिकित्सा शिक्षा आयोगले २५ माघमा बसेको १६औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् । नाफा कमाउने उद्देश्यका साथ एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनका लागि चलखेल गरिरहेको आरोप उनीहरूमाथि लागिरहेको छ ।
आवासीय चिकित्सक २८ दिनसम्म पनि सडक उत्रिएर आफ्नो अधिकार माग्दा पनि सरकारले उदासिनता देखाएको मल्लले बताए । निजी मेडिकल कलेजहरुले आयोगले कायम गरेको निर्वाह भत्ता नदिएपछि २८ दिनयता सडकमा उत्रिएर चिकित्सक आन्दोलन गरिरहेका छन् ।
तर निजी मेडिकल सञ्चालकले डर, त्रास र धम्कीपूर्ण दिने काम गरिहेको आवासीय चिकित्सक बताउँछन् । चितवन मेडिकल कलेजमा आवासीय चिकित्सक विप्लव लामिछानेले आवासीय चिकित्सकहरूलाई मेडिकल कलेजले दबाएको बताए ।