बिमा कार्यक्रमलाई निरन्तरता दिन ४० अर्ब चाहिन्छ : स्वास्थ्यमन्त्री पौडेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १६, मंगलबार (५ घण्टा अघि)
  • ७४ पटक पढिएको
बिमा कार्यक्रमलाई निरन्तरता दिन ४० अर्ब चाहिन्छ : स्वास्थ्यमन्त्री पौडेल

वैशाख, १६ काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिन ४० अर्ब रुपैयाँ विनियोजन गर्नुपर्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटबारे सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताएका छन् ।

मन्त्री पौडेलले बिमा कार्यक्रमका लागि आगामी वर्षको बजेटमा कम्तिमा ४० अर्ब रुपैँया छुट्याउनुपर्ने बताए । उनले गत आर्थिक वर्षमा साढे सात अर्ब रुपैयाँ मात्र बजेट छुट्याइएपनि त्यो पर्याप्त नभएको बताए । उनकाअनुसार त्यतिबेला अस्पतालहरूले बिमा बोर्डबाट पाउनुपर्ने बक्यौता मात्रै १६ अर्ब रुपैयाँ रहेको थियो ।

उनले बक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने बिमा कसरी चल्छ? भन्दै प्रश्न गरे । उनले चालु आर्थिक वर्षमा महिनाको औषत खर्च २ अर्ब रुपैयाँको दरले १२ महिनाको २४ अर्ब खर्च हुने अनुमान रहेको बताए ।

गत वर्षको बाँकी १३ अर्ब रुपैयाँ बक्यौता समेत समावेश गर्दा कुल ३७ अर्ब पुग्ने उल्लेख गर्दै मन्त्री पौडेलले बीमा बोर्डको सञ्चालन खर्च पनि जोडेर कुल ४० अर्ब रुपैयाँ आवश्यक पर्ने स्पष्ट पारे ।

उनले भने, ‘एक महिनाको खर्च दुई अर्ब आउँछ भन्ने हिसावले त्यसआधारमा १२ महिनाको २४ अर्ब आउँछ । गएको आर्थिक वर्षको बक्यौता १३ अर्ब छ । त्यो समेत लगाउँदा ३७ अर्ब भयो। बिमा बोर्ड पनि चल्नुपर्ने होला नि । त्यसकारण ४० अर्बको हारहारीमा बजेट छुट्याउन जरुरी छ । त्यसकारण मैले प्रष्टसँग भनेको छु । ४० अर्ब बजेट विनियोजन गरिएमात्र अहिलेको प्रणालीको बिमा चल्छ ।’

सरकारको लगानी र नागरिकको योगदानबाट बिमा बोर्ड चलाउनुपर्ने उनको भनाइ छ । उनले योगदान नागरिक कोषलाई दिने र उपचार सेवा बिमा बोर्डबाट लिने मोडल उचित नहुने उल्लेख गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस