कात्तिक १५,काठमाडौँ । काठमाडौंस्थित भारतीय दूतावासले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रयोग गर्ने गरी नेपाललाई दुई सय वटा सवारी साधन उपहार दिएको छ ।
भारतीय दूतावासका अनुसार मङ्गलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई ती सवारी साधन हस्तान्तरण गर्नुभएको हो । यी सवारी साधन निर्वाचनका लागि प्रयोग गरिनेछ ।
भारतले दिएको २०० सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । अर्थमन्त्री शर्माले यी सवारीसाधन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिए ।
भारतीय दूतावासका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहार दिएको छ ।