असार १३,काठमाडौँ । युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘रोजी’ को टीजर सार्वजनिक भएको छ । यूट्युबभन्दा अगाडि फिल्मको टीजर फेसबुकमा अपलोड गरिएको छ । फिल्मका एक सदस्य श्रीधर भारद्वाजले फेसबुकमा ‘रोजी’ को टिजर शेयर गरेका छन् ।
टीजरमा प्रदीपले आफ्नी प्रेमिका रोजी उर्फ परमिता आरएल राणामाथि गोली चलाएका छन् । उनले टीजरको अन्तिममा भनेका छन्, ‘मैले उसलाई मारेको होइन, मुक्ति दिएको हुँ । मलाई ऊबाट र उसलाई यो संसारबाट ।’
टीजरमा प्रदीप ग्यांगस्टार लुक्समा प्रस्तुत छन् । उनको यो लुक्सले फिल्मप्रति दर्शकमा थप उत्सुकता जगाएको छ । यो फिल्म रोजी महर्जनको हत्या प्रकरणमा आधारित रहेको चर्चा छ ।
रोजीका आमा-बुबाले आफ्नो छोरीको नाम र हत्याको घट्नामा फिल्म बनाउन नदिने भन्दै पटक-पटक ‘रोजी’ टिमसँग छलफल गरिरहेका छन् । निर्माण टिम भने उक्त फिल्म रोजीको हत्या प्रकरणमा आधारित नभएको दाबी गर्दै आइरहेको छ ।
‘रोजी’ को अहिले अन्तिम चरणको छायांकन भइरहेको छ । निरक पौडेल निर्देशित यस फिल्ममा कर्मा शाक्य, मिरुना मगर, पल्पसा डंगोललगायतका कलाकारहरुको पनि अभिनय छ । टीजरमा फिल्मको प्रदर्शन मिति राखिएकोे छैन ।
गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा बनिरहेको फिल्मको प्रस्तुतकर्तामा उद्धव पौडेल रहेका छन् । यसको कथा केदार भुषालले लेखेका हुन् ।
https://youtu.be/tE5l-dgXeGw