साउन १७,काठमाडौँ । राजु गिरीद्धारा निर्देशित चलचित्र ‘निर्जला’को गीत ‘भाले मोटर’ सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।
गीत प्रिमियर कार्यक्रममा गिरीले निर्जला विगतका आफ्ना चलचित्रभन्दा फरक रहेको दाबी गरेका छन् । ‘यो गाउँले परिवेशको आर्गनिक चलचित्र हो’, उनले भने । चलचित्रका निर्माता प्रकाशचन्द्र न्यौपानेले निर्जला आम नेपाली नारीको कथा बोल्ने बताएका छन् ।
सार्वजनिक गीत भाले मोटरलाई सलिल सुन्दर तुलाधर र सवनम आचार्यले गाएका हुन् । बाबुल गिरीको शब्द र सङ्गीत रहेको गीतको कोरियोग्राफी क्रान्ति केसीले गरेका छन् ।
गीतको भिडियोमा नायिका शुभेच्छा थापा, नायक किशोर खतिवडा र निक शर्माले नृत्य गरेका छन् । कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्काले निर्जलालाई सफलताको शुभकामना दिएका थिए ।
प्रकाश चन्द्र न्यौपाने प्रस्तुतकर्ता रहेको यो चलचित्र नायिका शुभेच्छाले नै लेखेकी हुन् । रबि कोइरालाको छायाँकन रहेको चलचित्रलाई तारा थापाले सम्पादन गरेका हुन् । चलचित्र आउँदो असोज १९ गतेबाट देशभरका सिनेमाघरमा आउने तयारीमा छ ।
चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा र निम शर्माका अलवा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, बाले तामाङ, अन्जली घिसिङ प्रेम पौडेल, बालकलाकार सागर गिरीलगायतका कलाकारको अभिनय रहेको बताइएका छ ।