विष्णु माझीले नै भनिन– ‘मलाई त्यति बोल्न आउँदैन, त्यसैले बाहिर गएर घुलमिल हुन सक्दिनँ ’

Post Thumbnail

पुस २२,स्याङजा । प्रख्यात लोकगायिका विष्णु माझी आइतबार स्याङजाको सीडीओ कार्यालयमा श्रीमान सुन्दरमणि अधिकारीसहित पुगिन् । उनले सँधैझैं पछ्यौरी र मास्कले अनुहार ढाकेकी थिइन् ।

विष्णु माझी लामो समयदेखि ‘गुप्तवासमा’ रहेको विषयमा मिडियामा आएपछि स्याङजाका प्रमुख जिल्ला अधिकारी कोषराज निरौलाले चासो दिएका थिए । सुन्दरमणि र विष्णु गाउँमा आएपछि उनले भेटघाटका लागि डाकेका थिए । भेटघाटमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी राजकुमार लम्साल पनि सहभागी थिए ।

लम्सालले विष्णु कुनै परिबन्दमा परेर सार्वजनिक हुन नसकेकी हुन् कि भन्ने आशंकाले प्रशासनमा बोलाएर कुराकानी गरिएको बताए ।

‘उहाँहरुको विषयमा समाचारहरु बाक्लै आउन थालेपछि खास स्थिति के हो त भनेर बुझ्ने सल्लाह मैले र सीडीओ साबले गर्‍यौं । त्यसैले उनीहरु जिल्ला आएको मौकामा बोलाएका हौं,’ लम्सालले भने ।

लम्साल अनुसार विष्णुले आफ्नै इच्छाले गुमनाम जीवन बाँचिरहेको बताएकी छिन् । उनको भनाइ उद्धृत गर्दै निरौलाले भने, ‘मलाई त्यति बोल्न आउँदैन, त्यसैले बाहिर गएर घुलमिल हुन सक्दिनँ ।’

लम्साल भन्छन्, ‘हामीसँग पनि उहाँले थोरै कुरा गर्नुभयो । लवज गाउँले पाराको थियो । बोल्नै नआउने त होइन ।’

उनले बाहिर सार्वजनिक भएर कार्यक्रमहरुमा भाग लिन सुझाव दिएको बताए ।

‘तपाईंको यति मीठो स्वरकी धनी हुनुहुन्छ । देशभरि तपाईंका प्रशंसक छन् । कार्यक्रमहरुमा जानुस, गीत गाउनुस । बोल्न बिस्तारै बिस्तारै बानी परिहालिन्छ नि ।’ उनले विष्णुलाई भनेका थिए । तर, विष्णुले कुनै जवाफ दिइनन् ।

विष्णुको अनुहारमा कुनै खोट (एसीड वा जलनको दाग) भएर पो मुख लुकाएकी हुन् कि भन्ने आशंकाले मास्क पनि खोल्न लगाएको लम्सालले बताए ।

‘उहाँले मास्क पनि खोलेर अनुहार देखाउनुभयो, अनुहारमा आशंका गरिएजस्तो केही छैन,’ लम्सालले भने ।

उनले विष्णुलाई आफूले निकै दुब्ली देखेको बताए ।

‘तपाईं यति हिट हुनुहुन्छ । पैसा कमाइरहनुभएको छ । शरीरचाहिँ किन सुकेको त ? भनेर पनि मैले सोधेँ । उहाँले अझै दुब्लाउन मन लागेको जवाफ दिनुभयो,’ लम्सासले भने ।

सीडीओ र एसपीले सुन्दरमणिसँग पनि बाहिर नदेखिनुको कारणबारे सोधपुछ गरेका थिए । उनले सुरुमा त्यस्तो खास कारण केही नभएको बताए ।

‘त्यसपछि हामीले भन्यौं कि त्यसो भए तुरुन्तै यहीँ पत्रकार सम्मेलन गर्नुस् र जनतालाई भनिदिनुस् कि हामी दुबै ठीक छौं,’ लम्सालले भने ।

तर, सुन्दरमणिले त्यसलाई इन्कार गरे । उनले भने, ‘हामी एउटा उद्देश्यमा छौं, उद्देश्य पूरा नभएसम्म सार्वजनिक हुन सक्दैनौं । हाम्रो बाध्यता बुझिदिनुहोला ।’

उनको यस्तो भनाइपछि आफूहरुले धेरै कुरा खोतल्न नचाहेको प्रजिअ लम्साल बताउँछन् ।

‘जब उनीहरु दुबै बाहिर खुल्न चाहँदैनन् भने यो उनीहरुको निजी विषय हो, त्यसैले यसमा थप खोतलिरहनु आवश्यक देखिएन,’ लम्सालले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस