भाद्र १, काठमाडौँ । भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जाइरा’ टिम प्रचारलाई चुस्त बनाउन मोफसल यात्रामा निस्किएको छ । नेपाली फिल्मको दोस्रो ठूलो बजार मानिने पोखरामा शुक्रबार दिनभरी नै फिल्मको टिमले प्रचार-प्रसारका विभिन्न कार्यक्रम गर्यो । मोफसल यात्रामा फिल्मकी लिड अभिनेत्री नम्रता श्रेष्ठ, नकारात्मक भूमिकामा रहेका अभिनेता प्रमोद अग्रहरी, नव अभिनेत्री सुजिता श्रेष्ठ, कलाकार सम्राट मगरलगायत छन् ।
लेकसाइडमा रहेको डुंगा रेष्ट्रोमा आयोजित पत्रकार सम्मेलनमा पोखरामा स्थायी बसोबास गर्ने कलाकार सम्राट मगरलाई सञ्चारकर्मीमाझ परिचित गराइएको थियो । ‘फिटनेस ट्रेनर’ सम्राटले यो फिल्मबाट अभिनयमा डेब्यू गरेका हुन् । फिल्ममा उनी जाइरा अर्थात् नम्रता श्रेष्ठको कोचको भूमिकामा छन् । उनले फिल्ममा अभिनय गर्दा पाउँदा खुसी महशुस भएको बताए । उनको अभिनेत्री नम्रताले पनि तारिफ गरिन् ।
‘तपाईँले आँफैले लगानि गरेर जोखिम मानिने महिला प्रधान एक्शन चलचित्र बनाउने हिम्मत कसरी गर्नुभयो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा नायिका नम्रता श्रेष्ठले अरुले हिम्मत नगरेकोले आफूले एक्सन फिल्म बनाउन हिम्मत गरेको बताइन् । आफूले यस प्रकारको भूमिकामा अभिनय गर्न सक्दिनँ भन्ने भ्रमलाई चिर्दै अभिनय गरेको उनको भनाई छ । उनी फिल्मकी निर्माता समेत हुन् ।
चरित्रलाई आत्मसात् गर्न आठ महिना लामो तालिम लिएर मार्शल आर्टका सबै फर्म सिकेको उनले बताइन् । उनी भन्छिन्, ‘मिक्स मार्शल आर्ट फाइटसँग नेपालीहरु त्यति धेरै परिचित नभएकोले फिल्म केही अनौठो लाग्न सक्छ तर फिल्म राम्रो बनेका कारण सफल हुनेमा विश्वस्त छु । मलाई लभर गर्लको भूमिकामा दर्शकले निकै रुचाउनुभएको छ । एक्सन भूमिकामा पनि मन पराउनुहुन्छ भन्नेमा आशावादी छु ।’