असोज १०, काठमाडौं । हिन्दु नेपालीहरुलाई लक्षित गरी प्रत्येक चाडपर्वका भिन्नभिन्न गीत तयार छन्।
तीजको लहर सकिएपछि भित्रिने महान पर्व विजयादशमी अर्थात बडादसैँमा मालाश्री धुनले बेग्लै उत्साह थप्छ।
रेडियो तथा टेलिभिजन घन्किने मालाश्री धुनले नै दसैँको रौनक भित्र्याउँछ भन्दा अत्युक्ति हुँदैन।
मालाश्री धुन करिब ४ सय वर्ष पुरानो मानिन्छ।
दसैँलाई लक्षित गरी तयार भएका गीतले विश्वभर छरिएका हिन्दू धर्मावलम्बी नेपालीहरुको भावनालाई स्पर्श गर्छ।
दसैँका गीतमा नेपालीहरुको सुख, दुःख लुकेको पाइन्छ।
लरी…लरी…लरीलै बाट सुरु भएको चलचित्र ‘मुग्लान’ मा समावेश ‘दसैँ आयो’ गीतले घर आँगनमै दसैँ भित्रिएको अनुभुती गराउँछ।
लोकनाथ सापकोटाको शव्दको यो गीतमा उदित नारायण झा तथा दीपा झाले स्वर दिएका छन्।
त्यसैगरी ‘नमुछे आमा दहीमा टीका नछरे जमरा..’ बोलको गीत दसैँको अर्को लोकप्रिय गीत हो।
यो गीतले नेपाली युवाहरुको बाध्यताको प्रतिनिधित्व गरेको छ। स्वर्गीय लक्ष्मण रायमाझीले लेखेका यो गीतलाई नारायण रायमाझीले रेकर्ड गराएका थिए।
पछि गायक कृष्णभक्त राई तथा लक्ष्मीले फरक शैलीमा गाएपछि यो गीतले थप चर्चा पायो।
स्वरसम्राट नारायणगोपाल तथा दिलमाया खातीले गाएको ‘विछोडको पीडा नसकी खप्न दसैँको बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ बोलको गीत दसैँको अर्को लोकप्रिय र सदावहार गीत हो।
त्यसैगरी ‘वर्षमा दिनमा लै लै…, दसैँ नै हो कि यो मेरो दशा…, फौजीलाई कुन हो दसँै कुन हो चाड तिहार…. बोलको गीत दसैँका लोकप्रिय र कहिल्यै पुराना नहुने गीतहरु हुन्।