मंसिर १, काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा कपाल, दाह्री र जुँगा पालेका एक युवा भेटिए । ती युवा थिए – गीतकार / संगीतकार बादल घिमिरे । फरक किसिमका गीत संगीत सिर्जना गरेर नेपाली संगीतप्रेमीको मन जित्न सफल घिमिरे पछिल्लो समयका ब्यस्त संगीतकारभित्र पर्छन्।
अनलाइन केन्द्रका प्रधान सम्पादक राज ढुँगानाले उनको व्यस्तताको बारेमा कुराकानी गरेका छन् । उनीसँगको छोटो संवाद यहाँ प्रस्तुत गरिएको छ :
• लामो समयपछि अचानक भेट भयो । तपाईको लुक्समा निकै परिवर्तन भएछ नी ?
– म पहिले दुब्लो अनि ख्याउटे पाराको थिएँ । मलाई निकै माया गर्ने एक जना युवती थिइन् । कपाल , दाह्री र जुँगा पाल्नुस् तपाईलाई खुब सुहाउँछ भनिन् । मैले उनको निर्देशन पालना गरेँ ।
• यसको मतलब तपाईको प्रेमिका भन्न खोज्नु भएको हो ?
– सिधै यसरी न बुझ्नुहोस् न ! मेरा गीत संगीत मन पराउनेहरूले मलाई निकै माया गर्नुहुन्छ । माया गर्ने सबै जना प्रेमी प्रेमीका हुँदैनन् । आज एक अर्कालाई देख्न नरूचाउनेहरू पनि कालान्तरमा प्रेमी प्रेमिका बन्न सक्छन् ।
• नेपालमा पहिलोपटक लोक गायिका विष्णु माझीको गुमनाम जीवनको बारेमा आवाज उठाउनुभयो । अहिले चुपचाप हुनुहुन्छ नी किन ?
– विष्णु मेरी माइती चेली हुन् । उनको स्वरको लाखौँ प्रंशशक छन् । म त उनको भलैको लागि केही कुरा गरेको थिएँ । उनी र उनको परिवारप्रति मेरो कुनै आग्रह पूर्वाग्रह छैन । गुमनाम जिन्दगी बाँचेर उनका फ्यानहरूलाई निरास नबनाईदिए हुन्थ्यो भन्ने चाहाना मात्र हो । उनले आफूभित्रको कस्तुरी आँफैले थाहा पाईरहेकी छैनन् । समय आएपछि यथार्थका साथ सार्वजनिक होलिन् भन्ने आशा गरौँ ।
• अहिलेका युवा पुस्तामा विदेश मोह बढीरहेको बेला तपाई पूर्णकालीन संगीत क्षेत्रमा हुनुहुन्छ । यसमा भविष्य के छ ?
– हेर्नुस् , मलाई धेरैजसो मान्छेहरूले लफँगो भन्ने गर्छन् किनकि मैले पैसा नकमाएर नाम कमाउन लागिरहेको छु । यहाँ पैसा कमाए मात्र प्रगति गरेको ठहरिन्छ । नेपाली समाजले संगीतकर्मलाई पेशाको रूपमा लिने गरेको छैन् । यस्सो फुर्सदमा गर्ने साइड जब हो भन्ठान्छन् । गीत संगीत सिर्जना त्यस्ता मान्छेहरूले मात्र गर्छन् जसलाई इश्वरले करौडौंबाट केहीलाई मात्र छानेर यस धर्तीमा पठाइदिएका हुन्छन् । म सिर्जनाको गर्न सक्ने मान्छेको भविष्य नराम्रो हुने भन्ने कुरै हुँदैन ।
• अब बजारमा आउन लागेको तपाईको सिर्जना के रहेको छ ?
– भएँ म त साउने झरी झैँ
गुलेलीले हानेको चरी झैँ
रेलले तान्यो र ? बैगुनी छौ भन्ने कस्ले जान्यो र ?
मेरो शब्द / संगीतमा कान्तिुपर डेन्टल कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठज्युले यो गीत गाउँदै हुनुहुन्छ । यो मैले हिजो मात्रै सिर्जना गरेको गीत हो ।
• हवस् , आफ्नो अमूल्य समय दिनुभो यहाँलाई धन्यवाद छ ।
– पाठकहरूबीच साक्षात्कार हुने अवसर पाएँ । यसका लागि अनलाइन केन्द्रलाई धन्यवाद ।