‘भोक मरेको राज्यमा सूर्यबहादुर अब भारी बोक्दैन’

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ जेष्ठ २१, बुधबार (४ साल अघि)
  • ९७ पटक पढिएको
Post Thumbnail

खै ऊ एक दशकदेखि थ्यो भन्थे देख्नेले
काठमाडौं आएपछि चिनेको थ्यो कि थेन अक्षर
देख्यो देखेन नजिकै विश्वविद्यालय
अनि सोच्यो कि सोचेन होला उसले
त्यहाँ –
अक्षर सिकाइन्छ तर भोक मार्न सिकाइँदैन
थाहा छ कि छैन होला
राज्यको यो सहरलाई भारी र नाम्लो ?
सायद यस्तै यस्तै सोचेर
उसले स्कुल पढेन
पढेन कुनै विश्वविद्यालय
किनकि किताबका पानामा देशको नक्सा हुन्छ
तर भारी बोक्नेहरूको गोरेटो हुन्न भनेर
रोज्यो उसले नाम्लो ।
केही मागेन उसले राज्यसँग
प्रत्येक छाक पेटमा माड खोज्यो उसले
कीर्तिपुर सहरभरि बेच्यो सस्तैमा श्रम
झार्यो आयुका पसिना
नाप्यो हजारौं किलोमिटरका पाइला
खै देशमा जनगणना हुँदा
गनिएको थ्यो कि थेन ऊ ?
ऊ छुटेको खवर छापिए कि छापिएनन् कुनै अखबारमा
र ती कुनैको प्रयोजनबिना
बोकिरह्यो उसले भारी ।
कतै चुनावमा भोट वदर गर्छ भनेर
झण्डा देखाउने झोलेहरूले छुटाई पो दिएकी ?
सायद शङ्का त्यो पनि हुनुपर्छ ।
कि उसको साथमा
सास जानू अगावै र
मृत हुँदा पनि साथमै थ्यो राज्य बोक्ने नाम्लो
बोक्न उसले बालुवा ,गिट्टी ,इँटादेखि
कहिले किराना बोक्यो
कहिले चुह्लो , आगोदेखि पानीसम्म बोक्यो
अनि दुनियाँ नयाँ बनाउने
बोक्यो भोटा र कपास पनि
तर
आज ऊ निर्जन सडकको पेटीमा
कहिल्यै नउठ्ने गरी सुत्दा
बेखबर थ्यो राज्य
बेखबर थे भोक बाँड्ने संघसंस्था
खै कसले पिलायो एक घुट्को पानी ?
कसले दियो एक टुक्रा कपडा
कसले मेटाइदियो उसको भोक ?
न बजे उसको मृत्युमा कुनै शोक धुन
न आए कुनै पेङ्दोर्जेहरू मलामी जान ।
मुटुले काम गर्न छाडेपछि
एक हुल नीला बर्दीहरू आएर
पुर्याए सेता कोटका अदालतसम्म
सुन्नेले सुनाए –
पोस्टमार्टममा आएछ रिपोर्ट
लोकतन्त्रको चुनावमा नाम छुटेकाले
हाल्न पाको थेन भोट
भोकले मरेको होइन ऊ
अस्ति रेडियो सुन्नेले सुनाइदेछन् असी करोडको राहत
त्यही दिनदेखि हुन थालेको थ्यो बिमार
लागेथ्यो भोक मर्ने बिमार
दुई तिहाइ पार्टीले चलाएको राज्यको पावरले मरेको हो ऊ
किनकि –
भरखरै भनेको थ्यो सरकारले
” आइन्दा भोकले कोही मर्नु पर्दैन ।”
रिपोर्टमा देखिएथ्यो – भोक नेगेटिभ मृत्युु ।
दाइ ! तिमीलाई कसैले भनेनन् होला पहिले –
यो सहरले बाँचेको पनि देख्दैन
मरेको त थाहै हुन्न
न सुखले बाँच्न दिन्छ
न मर्दा एकधरो कात्रो नै दिन्छ ?
जाऊ बरू आफ्नै माटामा पोख पसिना ।
हेर त आज –
न जल्ने घाट पायौ
न साथ पायौ कसैको
हातको नाम्लोसँगै
अज्ञात मृत्यु भो तिम्रो
सलाम ! मजदुरका हातको भोक मृत्युुमा
धिक्कार छ सहर !
के मजदुरहरूको अज्ञात मृत्युुमा
जुठो लाग्छ कि लाग्दैन राज्यलाई ?
मुर्दावाद !!
तिमी मात्र मरेका होइनौ दाइ !
सिङ्गो मजदुर मरेको हो
नाम्लो मरेको हो
भारी मरेको हो
मरेको हो पसिना र श्रम
राज्य !
अन्तिम समाचार उसको
भोक मरेको राज्यमा सूर्यबहादुर अब भारी बोक्दैन
कृषि प्रधान देशमा भोक मरेको
सूर्यबहादुर तामाङप्रति
भावपूर्ण  श्रद्धाञ्जलीको सलाम !!!

आर पी गाउँले

ताजा अपडेट

खोजी गर्नुहोस