काठमाण्डौ । गायक सुगम पोखरेलले आफ्ना दिवंगत बुबाको सम्झनामा गीत सार्वजनिक गरेका छन् । उनले युट्युबमार्फत ‘बुबा हजुरको याद आउँछ’ बोलको गीत सार्वजनिक गरेका हुन् । बुबाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीत आफ्ना बुबालाई सुनाउन नपाएकोमा सुगमले दुःख व्यक्त गरेका छन् । सुगमका बाबु एकनाथ पोखरेलको गत साउन १० गते ८१ वर्षको उमेरमा निधन भएको थियो । सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत सुगम पोखरेलकै रहेको छ भने संगीत संयोजन सुजिल कर्माचार्यको छ । गीतमा बुबाको साथ र मायालाई वर्णन गरिएको छ । गीतमा परिवारले पाउने बुबाको मायालाई चित्रण गरिएको छ । गीतको भिडियोमा सुगमले आफै प्रस्तुति दिएका छन् भने उनका बुबाका भिडियो फुटेज पनि देख्न सकिन्छ । भिडियोलाई विकास मगरले सम्पादन र छायांकन गरेका हुन् ।