काठमाण्डौ । आफ्नै साथीले साथीको हत्या गरे भन्दा अचम्म लाग्न सक्छ । तपाईं आफ्नो मिल्ने साथीलाई आँखा चिम्लेर विश्वास गर्नुहुन्छ ? विश्वास गर्नुहुन्छ भने कुनै दिन गहिरिएर सोच्नुपर्ने परिस्थिति पनि नआउला भन्न सकिन्न । कहिलेकाही तपाईंको विश्वासिलो नजिकको साथीले तपाईंको ज्यान पनि लिन सक्छ । यस्तै विषयमा बनेको लघु चलचित्र ट्रष्ट अर्थात् विश्वास सार्वजनिक भएको छ । लघु चलचित्रमा एकदमै मिल्ने दुई साथीहरू माथिको विश्वास कसरी तोडिन्छ भन्ने कुरा उतार्न खोजिएको छ ।
कथा एउटा क्याफेबाट शुरू हुन्छ । दुवै जना चिया पिउँछन्, बाँडेर खाजा खान्छन् । बिल तिर्ने बेलामा दुवैले तिर्न खोज्छन् । एकजनाले बिल तिरेपछि दुवै कोठामा आउँछन् अनि शुरू हुन्छ विश्वासमाथिको प्रश्न । बिल तिर्ने बेलामा साथीको पर्समा भएको आफ्नो प्रेमिकाको फोटोले कथालाई नयाँ मोड थपिदिन्छ । कथाको मुख्य पात्र अर्थात घटनाको मुख्य कारण प्रेमिका भएतापनि उनको भुमिकालाई तस्बिरमार्फत देखाउन खोजिएको छ । धेरै केटीहरु खेलाईराख्ने साथीले आफ्नै प्रेमिकालाई पनि नछोडेपछि विश्वास र सम्बन्ध टुट्ने मात्र हैन ज्यान लिन पनि पछि हट्दैन भन्ने कुरालाई देखाइएको छ ।
एउटा बन्द कोठाभित्र दुई साथीबीचको द्वन्द्वात्मक दृश्यले धेरैको मन सिरिङ्ग बनाईदिन्छ, जसकारण पोष्टरमा १६ वर्षमाथिकालाई मात्र हेर्न प्रेरित गरिएको छ । घटनाको रहस्य अन्तीममा मात्र खुल्दै जान्छ, जसकारण कथावस्तु सरल रुपमा सजिलै बुझ्न कठिन हुन्छ । कुनै संवाद प्रयोग नगरिएको यस लघुचलचित्रमा समाजमा हुन सक्ने घटनाको प्रतिनिधित्व गरेर घनिष्ठ साथीको विश्वासमाथि प्रश्न उठाइएको छ । दुई आत्मिय साथीको विश्वास कसरी टुट्छ भन्ने विषयलाई उठान गरिएको छ ।
करिब १३ मिनेट लामो लघुचलचित्र हेरिरहँदा आफ्नै साथीको विश्वासलाई एकपटक सोच्न बाध्य बनाउँछ । निर्माण पक्ष केही कमजोर देखिए तापनि चलचित्र हेरिरहँदा दर्शकलाई कौतुहलता जगाइरहन्छ । समग्र रुपमा यसबाट दर्शकलाई सन्देश दिने भन्दा पनि सचेत तुल्याउन प्रेरित गरेको भेटिन्छ ।
सञ्चारकर्मी तथा रंगकर्मी मोहन अभिलाषीको लेखन तथा निर्देशनमा बनेको चलचित्रको छायांकन रामकृष्ण चौँलागाइँले गरेका हुन् । क्याफे, कोठा र पार्कमा छायांकन गरिएको यस लघु चलचित्रमा मोहन अभिलाषी, मोहन श्रेष्ठ, मुकेश हमाल, प्रेम श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो :