धादिङ । विश्वव्यापी कोरोना कहरको सन्त्रासका कारण हाम्रो मुलुकमा पनि लकडाउन जारी भयो । सबै क्षेत्र ठप्प भयो । केहि महिनाको अन्तरालमा लकडाउन हटेर खुकुलो भएसँगै रोग र भोकसँग लड्ने दुबै वर्गले डरै–डरमा भए पनि केहि राहत महसुस गरे । सिर्जनशील व्यक्तिहरुका लागि हरेक समय अवसर बन्ने गर्छ । खुशीका पलमा त हरेक रमाउँछन् नै दुःखमा समेत सक्रिय रहन सक्ने भनेकै शब्दसँग खेल्ने वर्ग नै हो । उसले खुशी र रोदनमा उत्तिकै दिमागी स्पर्श पनि गरिरहेको हुन्छ । आनन्द लिइरहेको हुन्छ । विश्वव्यापी कोरोना कहरमा पनि आफूलाई सक्रिय बनाएर यहि सिद्ध गराएका छन् सिर्जनात्मक क्षमताका धनीहरुले । अध्ययन र रचनामा मस्त र व्यस्त बनेका छन् । यस्तै एक उदाहरण हुन् गायक तथा संगीतकार प्रदीप रुपाखेती ।
नेपाली गीत संगीतमा विगत केहि वर्षदेखि अनवरत रुपमा आफ्नो सांगीतिक यात्रालाई निकै फराकिलो बनाउँदै आएका हुन् गायक प्रदीप । उनी यतिबेला लकडाउनले गर्दा सुरु गर्न नसकिएका गीतहरु रेकर्डमा आफूलाई व्यस्त बनाइरहेका छन् । प्रदीप भन्छन् – ‘लकडाउनले धेरै नै असर गरेको छ, अब बिस्तारै रेकर्डको कामलाई तिब्रता दिएको छु, । ‘चोट’ गीतबाट गीति लेखन र संगीतमा हात हालेका प्रदीपका एकपछि अर्को गर्दै दर्जनौं गीतहरु आएका छन् ।
कुराभन्दा कामलाई प्राथमिकता दिनुपर्छ भन्ने सकारात्मक सोचका धनी प्रदीप अगाडि भन्छन् – ‘अब अरु काममा व्यस्त भए पनि अहिले गरेका सिर्जनाहरु छिट्टै बजारमा ल्याउने छु । यहि समयमा उनले केही गीतहरुको रेकर्डिङ पनि गरिसकेका छन् । गायनका लागि उनले नयाँ पुराना सबैलाई समेटेका छन् । अन्य गीतहरु पनि चाँडो भन्दा चाँडो सार्वजनिक गर्ने उनी बताउँछन् । यसरी अधिकांशलाई कठिन मोड बनेको लकडाउन, निशेधाज्ञालाई प्रदीप भने अवसरको रुपमा उपयोग गरेको बताउँछन् । उनी भन्छन् – ‘स्वास्थ्य नै धन हो सावधानी त अपनाएर काम गर्नुपर्छ । साथै तिहार घर आँगनमा आईसकेको अबस्थामा सम्पूर्ण देश तथा बिदेशमा हुने नेपालीहरु, संगीत प्रेमी लगायतमा शुभकामना समेत दिएका छन् । तिहार आफ्नो क्षमता अनुसार तथा कोरोना भाइरसको माहामारीमा सावधानीका साथ मनाउन रुपाखेतीको आग्रह छ ।