दिपू वर्णवाल
बीरगन्ज । फूल बोलको नेपाली गीत निर्माण सम्पन्न भएर सार्वजनिक हुनका लागि तयार भएको छ । बीरगन्जका युवाहरुको एक समुहले निर्माण गरेको फुल गीतको म्युजिक भिडियो सार्वजनिक हुन लागेको हो । गायक तथा संगीतकार अनुप तिवारीको शब्द, स्वर रहेको गीतमा संगीत पनि तिवारी स्वयम्ले भरेका छन् ।
गीतको संगीत संयोजन विवेक परियारले गरेका हुन् । गीतको भिडियोमा युवराज केशरी र सभ्यता गिरी फिचरिंग छन् भने भिडियोको निर्देशन पनि केशरीले नै गरेका हुन् । भिडियोलाई सभ्यता ईन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो भने र दि टिम प्रोडक्शनले निर्माण गरेको हो । महिला हिंसाका घटनाहरु विरुद्धको आवाजको रुपमा यो गीतको निर्माण गरिएको छ । गीतमा प्रयोग भएका शब्दहरुले हिंसा विरुद्धको भाव बोकेका छन् ।
गायक तथा संगीतकार तिवारीका अनुसार बढ्दै गएको हिंसाका घटनाहरु विरुद्ध जनचेतनाका लागि यो गीतको निर्माण गरिएको हो । देशमा महिला हिंसाका घटनाहरु बढ्दै गएपनि न्याय सम्पादनमा सरकारले प्रभावकारी भुमिका निर्वाह नगरि आन्तरिक किचलोमा व्यस्त हुनुले यस्ता घटनाहरुले प्रश्रय पाएको गायक तिवारीको भनाई छ ।
“मैले लेखेको गीतले हिंसा न्युन गर्दिन्छ नै भन्ने छैन”, तिवारी भन्छन्, “यो एउटा प्रयास, न्यायका लागि आवाज नउठाउनेहरुका विरुद्ध ।” गीतको भावलाई आत्मसात गर्दै भिडियोको निर्माण गरिएको मोडेल युवराज केशरीले बताए । भिडियोमा गीतलाई न्याय गर्ने प्रयास गरेको केशरीले बताए । फूल चाँडै सार्वजनिक हुने जनाइएको छ ।