फागुन ११,काठमाडौँ । १८ वर्षमुनिकी गायिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । पल शाहबाट आफू पीडित भएको भन्दै ती गायिकाले उजुरी दिएकी हुन् । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर उजुरी दर्ता गरिएको हो ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।
पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले कानुनी कारवाहीको माग गर्दै ती गायिकाले बुधबार कार्यालयमा उपस्थित भएर शाह विरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ती गायिका अहिले बल्ल १७ वर्ष पुगेकी छिन् ।
हालै मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।