चैत्र ३, काठमाडौँ । ओस्कर अवार्ड विजेता संगीतकार तथा गायक एआर रहमानको स्वास्थ्य आइतबार बिहान अचानक बिग्रियो । छातीमा गम्भीर दुखाइ भएपछि उनलाई चेन्नईको अपोलो अस्पतालमा भर्ना गरिएको छ । ५८ वर्षीय संगीतकारलाई आज बिहान ७:३० बजे अस्पताल भर्ना गरिएको थियो, जहाँ उनको ईसीजी पनि गरिएको थियो । आकस्मिक वार्डमा भर्ना भएका रहमानको एन्जियोग्राफी पनि गरिएको थियो ।
डाक्टरहरूको टोलीले उनको निरन्तर निगरानी गरिरहेको छ । यसैबिच, रहमानको टोलीबाट उनी उपवास बसेको भनिएको छ । उनको स्वास्थ्य बिग्रनुको कारण डिहाइड्रेसन हुन सक्ने बताइएको छ । हालै, रहमानकी पूर्व पत्नी सायरा बानोलाई पनि अपोलो अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको आकस्मिक शल्यक्रिया गरिएको थियो । एआर रहमानले २० नोभेम्बर २०२४ मा श्रीमती सायरासँग सम्बन्ध विच्छेदको घोषणा गरेका थिए। यो जोडीले १९९५ मा मागी विवाह गरेका थिए, जुन २९ वर्षपछि टुटेको थियो ।
यस विवाहबाट यो दम्पतीका तीन सन्तान छन् । सम्बन्ध विच्छेदको घोषणा लगत्तै बानोको स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।
सम्बन्ध विच्छेदपछि रहमानको उनको ब्यान्डमा काम गर्ने मोहिनी डेसँग अफेयर रहेको खबर आएको थियो । तर रहमानले यस्ता अपमानजनक अफवाह फैलाउनेहरू विरुद्ध कानुनी कारबाही गर्ने घोषणा गरेका थिए । रहमान दुई ओस्कार जित्ने एक मात्र भारतीय हुन् । उनले स्लमडग मिलेनियर फिल्मको जय हो गीतका लागि २ वटा ओस्कर जितेका थिए । रहमानले २ वटा ग्रामी अवार्ड पनि जितेका छन् ।