-कुसुम भट्टराई
म ‘न्यूज २४’को नियमित दर्शक हुँ । ‘न्यूज २४’ हरेक दिन सोझै हाम्रो बेडरुमसम्म आइपुग्छ, यो सरकारमा दर्ता भएको र जनताप्रति उत्तरदायी हुने टिभी च्यानल हो । यो आम जनताको सरोकारसँग तादत्म्य राख्ने सार्वजनिक च्यानल हो । यही च्यानलमा आइरहने रवी लामीछानेको ‘सिधा कुरा जनतासँग’ मलाई निकै मनपर्ने कार्यक्रम हो ।
यो कार्यक्रममा हालै यसका सँचालक रवी लामीछानेले आफ्नो निजी कुरा गरे, जुन उनको अधिकारभन्दा बाहीरको कुरा हो । रवी लामीछानेले आफ्नो निजी समस्या ओकल्न टिभी च्यानलको दुरुपयोग गर्नुहुँदैनथ्यो । ‘न्यूज २४’ का लाखौं दर्शक यस्ता छन्, जसलाई रवी लामीछानेले कसलाई भोग्यो, कसलाई छोडयो, प्रथम पत्नीबाट कतिवटा बच्चा पायो, दोश्रो पत्नीबाट कतिवटा पायो, अब चौथी स्वास्नी कसलाई बनाउँदैछ, उसले अब छोरा पाउला कि छोरी ? आदि इत्यादि कुरासँग कुनै सरोकार थिएन र छैन । उनका बारेमा सरोकार नै नभएका दर्शकलाई पनि उनले आफ्ना निजी गन्थन सुनाए, जुन मिडिया इथिक विपरीतको कुरा हो । बोल्ने माइक र खिच्ने क्यामरा छ भन्दैमा र घोक्रो सुक्ने गरी कराउँदैमा इथिक विपरीतको कुरा जायज ठहरीदैन । रवीले ति कुरा फेसबुक, टवीटर, निजी यूटयूबमा भन्नुपथ्र्यो, ‘न्यूज २४’को प्लेटफर्मको दुरुपयोग गर्नुहुँदैनथ्यो ।
अब अर्को कुरा, रवी लामीछानेले जे गरीरहेका छन्, असल गरीरहेका होलान्, तर उनी भगवान पनि हैनन्, बुद्ध पनि हैनन् । उनी तपाइ हामीजस्तै मान्छे हुन् र मानविय कमजोरीहरु जसबाट पनि हुन्छ । रवीले ‘न्यूज २४’को कार्यक्रममार्फत पाएको नेम र फेमका आधारमा बशीभूत भएर कसैले पनि ‘यस्तो राम्रो काम गर्ने मान्छे रबीबाट पटक्कै गल्ती कमजोरी हुँदैन, उनी विलकुल असल हुन’ भन्ने धारणा पनि नराख्दा हुन्छ ।
हरेक मानिसको व्यक्तित्वको डबल पाटो हुन्छ । तपाइ हामी सबै ‘स्प्लीट पर्सनालीटी’ (द्वैध व्यक्तित्व) बोकेर बाँचीरहेका हुन्छौं । बाहीर देख्दा म असल छु, तर भित्र बदमास पनि हुनसक्छु । हाम्रै नेताहरुलाई हेर्दा भैहाल्छ नी, प्रचण्ड, ओली आदिका भाषण र तिनका भित्री गोपनीय हर्कतहरु हेरौं न । हामी सबै यस्तै मानिसहरुले घेरीएको समाजमा छौ. ।
अतः फलानो महान, फलानो बदमास भन्ने ‘स्कुल अफ थट’ नै गलत छ । यस हिसाबले रवी महान, बाँकी फटाहा भन्ने स्कुल अफ थट पनि त्यागौं र सबै मिलेर समग्र सिस्टम बदल्न लागौं । सिस्टमलाई भाइरल बनाउँ, व्यक्तिलाई हैन । रवीले टिभीमा घोक्रो सुकाएर एकाध मुद्दामा कराउँदैमा र केही अनुचित काम गर्नेहरुलाई सिआइबीको सहयोगमा कठघरामा उभ्याउँदैमा (हिरो बन्न खोज्दैमा) यो देशका सारा बेथिति हटनेवाला छैनन् । बस, उनी एकजना चर्चित हुने र ‘म विशेष हुँ’ भन्ने उनको अहँकारको घडा भरीनुबाहेक यो टोटल करप्ट समाजमा केही लछारपाटो लाग्नेवाला छैन । अतः मेरो आग्रह छ, रवी लामीछानेको लभ या एक्स्ट्रा म्यारीटल अफेयर्स आजको यो देशको मुद्दा हैन, मुद्दा निर्मला पन्तको बलात्कार र हत्याको हो, हामी त्यसमा ध्यान केन्द्रित गरौं ।