हरितालिका तीज र यसको साँस्कृतिक मर्म

Post Thumbnail

-सुमिता बस्नेत

सामाजिक सञ्जालमा रमाउने धेरथोर लत ममा पनि परेको छ । मलाई तीजमा पूजा आराधना भन्दा पनि छमछमी नाच्न खुब मनपर्छ । प्रविधिले निकै सजिलो बनाइदिएको छ । यस्सो युट्युब खोल्यो, तिजको गीत बजायो छमछम नाच्यो, साच्चिकै गजब भएको छ ।सामाजिक सञ्जालमा तिजका बारेमा विभिन्न किसिमका बहसहरू देख्दा मलाई पनि केही लेखु जस्तो लाग्यो । यसको ऐतिहासिक अध्ययन गर्दा, हरितालिका शब्द संस्कृत भाषाको ‘आलि भि हरिता’ को नेपाली रुपान्तरण हो । जसको अर्थ ‘सखी वा साथीद्वारा हरण गरिएको भन्ने हुन्छ । सत्ययुगमा पर्वतराज हिमालयकी पुत्री पार्वतीको विवाह भगवान् विष्णुसँग गर्ने देवर्षि नारदको प्रस्ताव बाबु हिमालयले सहर्ष स्वीकार्दछन् तर पार्वती वाल्यकालदेखि नै महादेव शिवसँग विवाह गर्न चाहन्थिन् ।

विष्णुसँग विवाह हुनबाट रोक्न साथी विजयाले पार्वतीलाई हरण गरेर घना जङ्गलको एकान्त गुफामा लगेर राख्छिन् । पार्वतीले आफ्नो दैवी शक्ति उद्बोधन गर्नका निम्ति, भाद्र शक्ल तृतीयाका दिनदेखि त्यसै गुफामा बसेर कठोर तपस्या शुरु गर्दछिन् । त्यसैले यस दिनलाई हरितालिका भनियो र कालान्तरमा यसले समाजमा संस्कारको रुप लियो ।परापूर्वकालमा देवी देवताको पूजाआरधना, भजनकीर्तन गरी हरितालिका तिज मनाउने प्रचलन थियो । मध्ययुगमा समाज विकासको क्रमसँगै वालविवाह, बहुविवाह, अनमेल विवाह आदिका कारण महिलाहरूमाथि दमन, उत्पीडन र व्यभिचारपूर्ण व्यवहारहरू हुन थाले । महिलाहरू वर्षभरि कहीँ कतै जान पाउँदैनथे । चेलीलाई माइतीमा ल्याउने र मिठो मसिनो खुवाउने, वर्षभरिमा एक जोर नयाँ लुगा पाउने, विवाह गरेर टाढा टाढा पुगेका दिदी बहिनी, साथी संगी पाटी, पौवा र चौताराहरूमा नाचगान गरेर आफ्ना पीडा र वेदनाहरू पोख्ने थलो बन्यो तीज । महिलाहरु स्वतन्त्र र उन्मुक्त भएको अनुभूति गर्ने महान पर्व बन्यो तिज । छोरी चेलीहरू दिनभरि छमछमी निर्धक्क नाच्न सकून् भनेर बुवा दाजुहरूले अघिल्लो दिन राति दरिलो र अडिलो खानेकुरा खुवाउँदै जाँदा ‘दरखाने’ संस्कार बस्यो । हिजोआज तीजका सन्दर्भमा धेरै परिवर्तन र बहशहरु हुन थालेको छ ।हाम्रो समाजमा हरितालिकाको दिन निराहार ब्रत बसे असल पति पाइन्छ, पतिको आयु लम्बिन्छ भन्ने प्रचलन छ तर संस्कृत विद्यापीठका प्राचार्य नारायण सापकोटा भन्नुहुन्छ– “पार्वतीले आफ्नो दैवी शक्ति (सूक्ष्म शक्ति) उद्बोधन गर्न स्वेच्छाले कठोर तपस्या गरेकी थिइन् । निराहार व्रत बसेर असल पति पाइन्छ, पतिको आयु लम्बिन्छ भन्ने पुराणमा कतै उल्लेख छैन ।” पार्वती नारी शक्तिको प्रतीक हुन् । पार्वतीले कठोर साधनाद्वारा आफ्नो दैवी शक्ति उद्घाटित गरी, नारी पुरुष समान हुन भनी सत्ययुगमा नारीको अस्तित्व स्थापित गर्न शिवलाई ‘अर्धनारीश्वर’ (आधा अङ्ग नारी र आधा अङ्ग पुरुष) को रूप धारण गर्न बाध्य बनाएकी थिइन् ।

हरितालिकाको दिन अर्धनारीश्वरको प्रतिमा बनाएर गरिने पूजा नारी पुरुष समानताको सन्देश होे ।पार्वती नारी शक्तिको प्रतीक हुन् । पार्वतीले नारी अस्तित्वका लागी गरेका सङ्घर्षका थुप्रै प्रसङ्गहरू देवीभागवतमा उल्लेख गरेको पाइन्छ । त्यसैगरी शिवजीले पार्वती पुत्र गणेशको बध गरेपछि मेरो पुत्र जिवित गर या मसँग युद्ध गर भनी चुनौती दिएपछि मात्र शिवले गणेशलाई पुनर्जीवित गराएका थिए । पार्वतीले आफ्नो सम्पूर्ण ज्ञान र शक्ति दिएर पुत्र गणेशलाई सम्पूर्ण जगत्ले पुज्ने ‘नन्दन’ को उपाधि दिएर देवलोकमा मातृसत्ता स्थापित गरेकी थिइन् । देवताहरूमा अहङ्कार बढेपछि पार्वती ‘विद्युत’ रूपमा प्रकट भई देवलोकमा नारी अस्तित्व कायम गरेकी थिइन् ।तीज पर्व मनाइरहँदा पार्वती नारी शक्तिकी प्रतिक हुन् । नारीको शक्ति अपार छ, हामी कमजोर छैनौ भन्न्ो आत्मबोध गरौ., आफ्नो क्षेत्रमा पार्वती जस्तै कठोर साधना र सङ्घर्ष गरी अब्बल साबित हुने उर्जा ग्रहण गरौँ । असल पति पाउन र पतिको आयु बढाउन निराहार व्रत बस्नु पर्छ भन्ने अन्धविश्वास त्यागौं । आफु सक्षम र योग्य बनौं, समान क्षमता र स्तरको जीवनसाथीसंग मात्र सम्मानीत जीवन जीउन सकिन्छ । छोरीलाई शिक्षित, दृढ विश्वासी बनाऔँ, नारी शक्तिको पौराणिक महिमा र अस्तित्व उजागर गरौँ । सबै खाले भेदभाव, शोषण र उत्पीडनका जन्जिरहरू चुडाउँदै समृद्धितर्फ अगाडि बढ्ने हौसला दिने पर्वका रूपमा तीज मनाऔँ ।तीजसँग जोडिएको अर्काे सन्दर्भ ‘ऋषिपञ्चमी’ हो । ऋषिपञ्चमीमा विधिपूर्वक सप्तर्षिको पूजा गर्नाले रजस्वला (Menstruation) को समयमा अन्जानवश छोइछाई गर्दा हुने महापापबाट मुक्ति पाइन्छ भन्ने मान्यता छ । नारायण गुरु भन्नुहुन्छ; ऋषिपञ्चमी देह (शरीर) र आत्मा शुद्धिको उत्कृष्ट विधि हो ।

यो दैनिक गर्नुपर्ने नित्य कर्म हो । ऋषिपञ्चमीको पौराणिक कथा गजबको छ ! वृत्रासुरको हत्या गरेकाले भगवान इन्द्र ब्रह्म हत्याको पापमा पर्दछन् र ब्रह्माजीसँग ब्रह्मदोषको निवारणको उपाय सोध्छन् । ब्रह्मले इन्द्रलाई उक्त पापबाट मुक्त गर्न त्यो पाप अग्नि, जल, पर्वत र स्त्रीलाई बाँडिदिन्छन् र रजोदर्शन (Menstruation) को समयमा स्त्री पहिलो दिन चण्डाल्नी (ज्यादै निच र घृणित) दोस्रो दिन ब्रह्महत्यारी (कैदी) र तेस्रो दिन धोविनीको रूपमा रहनु पर्नेछ भनी इन्द्रको पाप महिला माथि थोपर्छन् । त्यसपछि रजस्वलाको समयमा महिलालाई अपवित्र र अछुत भएर वस्न बाध्य पारिन्छ । यो पनि संस्कार बन्दछ । के यसमा महिलाको कुनै दोष छ ? के यसको कुनै वैज्ञानिक आधार छ ? यस्तो अन्धविश्वासी परम्परालाई किन मानिरहने ? यो निर्दाेष महिला माथि थोपरिएको अनुचित दोष मात्र हो । वैज्ञानिक दृष्टिकोणबाट पनि रजस्वला सृष्टिको सुन्दर शुभारम्भ हो, महत्वपूर्ण उत्सव हो । त्यसैले घरघरमा रहेको छोइप्रथा (छाउपडी) लाई अब सबैले मिलेर अन्त्य गरौँ । यसले छोरीहरूको आत्मबल दह्रो बनाउँदैन, आत्मसम्मान बढाउँदैन झन कमजोर र अपहेलित महशुश गराउँछ । रजस्वलाको समयमा सरसफाई गनर्, राम्रोसँग प्याड प्रयोग गर्न सिकाऔँ, पोषिलो खाना र आराम गर्न लगाऔँ । धर्म, संस्कार र संस्कृतिहरु मनाइरहँदा यसले महिलामाथि पारिहेको नकारात्मक असरहरुबारे सचेत बनौं । महिलाको आत्मसम्मान मा चोट पु¥याउने विकृत र अन्धविश्वासी संस्कारहरुलाई हटाउने साहस गरौं । राम्रा संस्कारहरु संरक्षण र संबर्धन गरौं ।हिजोआज तीजको सन्दर्भलाई लिएर शहरतिर हुने खाने र हुँदा खाने बीचको जस्तो, सत्ता पक्ष र प्रतिपक्षको जस्तो वहस चलेको छ ।

एउटा मत तिजलाई यसको सांस्कृतिक मर्म अनुसार, अनावश्यक तडकभडक नगरी सामान्य तरिकाले मनाउनुपर्छ भन्ने देखिन्छ भने अर्को पुरुषहरू दिनदिनै होटलहरूमा रमाइरहेका छन् भने महिलाहरूलाई अरु बेला अवसर मिल्दैन । तिजको बेला आफूसँग भएका गरगहना लगाएर सुविधा सम्पन्न होटलहरूमा रमाउन पाउनुपर्छ भन्ने देखिन्छ । व्यक्तिगत स्वतन्त्रताका दृष्टिले यो स्वभाविक होला तर चाडपर्व र संस्कृतिहरू सबैका साझा सम्पत्ति हुन् । सबैले सहज रूपमा समानानुभूति पूर्वक, सौहार्दता र आत्मीयता साथ मनाउने वातावरण हुनु गर्नुपर्दछ । अधिकांसले तीज बोझिलो हुँदै गएको र कतिपय परिस्थितिले अभावमा रहनेहरूलाई हिनताबोध गराइरहेको अभिव्यक्ति दिएको पाइन्छ । धेरै अघिदेखि टिकट नै किन्न बाध्य पारेर दिदि बहिनीबीच गहना कपडा लगाउने प्रतिस्पर्धा जस्तो गरी तीज मनाउने परम्परा बढ्दै जाँदा धेरैले नैतिक दवाव महसुस गरेको पाइन्छ ।समृद्ध समाज निर्माणका लागि राजनैतिक परिवर्तन सँगसँगै परिष्कृत संस्कृति चाहिन्छ । पितृसत्तात्मक संरचनाले निर्माण गरेका धेरैजसो संस्कृतिहरू महिला सशक्तिकरणका बाधक छन् । यसका निमित्त साँस्कृतिक क्रान्ति आवश्यक छ ।। प्रगतिशील र जनपक्षीय संस्कृतिहरूको स्थापना गर्नुपर्दछ । उपभोक्तावादले समाजमा विकृति ल्याएको छ । देशको आर्थिक अवस्था हेर्दा ९७ प्रतिशत व्यापार घाटा छ ।

साठी लाख यूवाहरूले विदेशी भूमिमा बगाएको रगत र पसिनाको रेमिट्यान्सले हाम्रो अर्थतन्त्र धानिएको छ । चाडपर्वहरूलाई अनावश्यक खर्चिलो र भड्किलो बनाउँदा व्यापार घाटा बढ्दै जान्छ । किनकि हाम्रो राष्ट्रिय उत्पादन शून्यप्रायः छ । त्यसैले यूवाहरूले विदेशमा रगत पसिना बगाएर कमाएको आम्दानी सिधै विदेश पठाउनुभन्दा राष्ट्रिय उत्पादनमा लगाऔं र हाम्रो अर्थतन्त्रलाई सम्वृद्ध बनाऔं र सामाजिक रुपान्तरण र जनपक्षिय ढंगले संस्कृति मनाऔं । दर कसैका लागी कर नबनोस । छमछमी नाचेर, माया ममता साटेर, सामाजिक सम्बन्धहरू बलियो हुने गरी सभ्य र भव्य किसिमले तिज मनाऔं ।

ताजा अपडेट

खोजी गर्नुहोस