बिश्व मजदुर दिवस : कोरोनाको प्रभाव र रोजगारी सङ्कट

  • अनलाइन केन्द्र
  • / विचार/दृष्टिकोण /
  • २०७७ बैशाख १९, शुक्रबार (४ साल अघि)
  • ७३ पटक पढिएको
Post Thumbnail
दिनेश घिमिरे
-उपमहासचिब,नेस्वहोमयु, केन्द्रिय कमिटी  

आज अन्तराष्ट्रिय मजदुर दिवस (May 1st), मजदुरहरुले आफ्नो हक अधिकारका निम्ती बलिदानीपुर्ण आन्दोलनमा उत्रिएको दिन । सन् १८८६ मे १ मा अमेरिकाको सिकागो शहरमा मजुदरहरुले आफ्नो वर्गिय हितसंग जोडिएको माग राख्दै संघर्षमा उत्रिए । राज्यले मजदुरहरुको उक्त आन्दोलन माथी ब्यापक दमन ग¥यो । मजदुरहरुको बलिदानीपुर्ण लामो आन्दोलन पश्चात ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको मागले सफलता पाउन थाल्यो । त्यसै बलिदानीपुर्ण आन्दोलनको स्मरण गर्दै मे १ लाई अन्तराष्ट्रिय मजदुर दिवसको रुपमा मनाउन थालियो । नेपालमा पनि सन् १९६३ देखी मनाउन थालिएको हो । मजदुरहरुका यस महत्वपुर्ण र ऐतिहासिक दिनमा मजदुर पक्षिय आन्दोनलमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने विश्वभरका महान शहिदहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आगामी दिनहरुमा मजदुरहरुले सुरक्षित कार्यथलोमा आत्मसम्मानका साथ जीवन धान्न पुग्ने तलब, भत्ता लगायतका सेवा सुबिधाहरु प्राप्त गर्न सफल होस विश्वभरका मजदुरहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
नेपालमा अन्तराष्ट्रिय मजदुर दिवस धुमधामका साथ मनाउदै आई रहेका छौं । यस दिनलाई नेपालमा सन् २००७ देखि राज्यले सार्वजानिक विदा पनि दिन थालिएको छ । नेपालमा मजदुरहरुको हक अधिकारका निम्ती भन्दै थुप्रै ट्रेड युनियनहरु गठन भएका पनि छन् । के नेपाली मजदुर वर्गको अबस्थामा परिवर्तन आएको छ त ? राज्यले मजदुर वर्गको उत्थानको निम्ती चासो दिएको छ त ? पुँजीपतीहरुले मजदुरहरुको पिडा बुझ्ने कोशिस गरेको छ त ? ट्रेड युनियनहरुले मजदुरहरुको अबस्था सुधार गर्न र उनीहरु माथी आई परेका समस्याहरु समाधान गर्न साच्चै पहल गरेका छन् त ? यि बिषयहरु गम्भिर भएर सोचौं ।
नेपालमा भएका हरेक राजनैतिक परिवर्तनका निम्ती गरिएको आन्दोलनहरुमा मजदुरहरुको भुमिका, योगदान र सहभागिता उल्लेख्य हुने गरेको छ । मजदुरहरुको बलिदानीबाट प्राप्त भएको प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक सरकारहरुले मजदुरकै मुद्धाहरुलाई सम्बोधन गर्न उदासिन देखिदै आएको छ । राज्यले नै जारी गरेको नियम कानुन अनुसार मजदुरहरुले पाउनु पर्ने न्यनतम सेवा सुबिधा आजको दिनसम्म पनि अधिकांस औपचारीक क्षेत्रमै कार्यरत मजदुरहरुले प्राप्त गर्न सकेका छैनन् । अझ अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको अबस्था कति दयानिय छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ । मजदुरहरुको बलिदानको जगबाट उठेको हरेक राजनैतिक ब्यबस्थामा बिभिन्न रुपमा पुँजीपतीहरुको नियन्त्रण रहनु नै मजदुरहरुको अभिषाप हो ।
हरेक प्रतिष्ठानहरुबाट बस्तु तथा सेवाको उत्पादन, बिक्रि बितरण पुँजीपतीहरुको पुँजी र मजदुरहरुको श्रम लागनी भए पश्चात हुन्छ । यस हिसाबले बस्तु तथा सेवाको उत्पादन, बिक्रि बितरण गर्न यि दुवै पक्षको अनिवार्य सहभागीता हुन्छ तथापी पुँजीपतीहरु थोरै लगानी गरेर धेरै मुनाफा कमाउन खोज्ने र मजदुरहरु तोकिएको श्रम गरिसके पछि बढी भन्दा बढी सेवा सुबिधा लिन खोज्ने हुन्छन् नै । यि दुबै पक्ष एक बिना अर्को निरर्थक हुने भएता पनि एकले अर्कोलाई वर्ग शत्रु ठान्ने गरेको कारण न त मजदुरले कम्तीमा बाँच्न पुग्ने सेवा सुबिधा प्राप्त गर्न सकेका छन् न त पुँजीपतीहरुले ढुक्क भएर लगानी गर्ने बाताबरण बनेको छ । पुँजीपतीहरुले मजुदरहरु आफ्नो ब्यबसायको अभिन्न अंग हो, श्रमको उचित सम्मान गर्नु पर्दछ भन्ने सोचाईको बिकास गरेमा मात्र पनि मजदुरको अबस्थामा केही सुधार आउनेछ । पुँजीपती र मजदुरको सुमधुर सम्बन्धबाट मात्र शान्तिपुर्ण औद्योगिक बाताबरणको निर्माण हुन्छ । शान्तिपुर्ण बाताबरणमा बस्तु तथा सेवाको उत्पादन बिक्रि बितरण बढी हुन्छ र बढी मुनाफा कमाउन सकिन्छ भन्ने कुरा पुँजीपतीहरुले याद गर्नु पर्दछ । यसका लागी मजदुरको पिडा, मर्का र उनीहरुको अबस्था सुधारको निमित्त पुँजीपतीहरु जिम्मेवार ढंगले प्रस्तुत हुनु पर्दछ ।

नेपालको मजदुरहरुको अबस्था सुधार गर्नका निमित्त थुप्रै ट्रेड युनियनहरु गठन भएका छन् । सबै ट्रेड युनियनहरु कुनै न कुनै राजनैतिक दलसंग आबद्ध छन् । सबै राजनैतिक दलहरु पुँजीपतीहरुको नियन्त्रणमा छन् । घुमाउरो रुपमा ट्रेड युनियनहरु नै पुँजीपतीहरुको नियन्त्रणमा छन् । त्यसो भएको हुनाले मजदुरको समस्याहरु यथाबत छन् । मजदुरहरुको हक अधिकारको मुद्धा कुरामा मात्र सिमित भएका छन् । नेपाली ट्रेड आन्दोलनको ईतिहास हेर्दा नेपाली मजदुरहरुको हक अधिकार प्राप्त गर्नको निम्ती २०३६–०३७ साल तिरबाट नै भुमिगत रुपमा बिभिन्न बिषयगत ट्रेड युनियन संघहरु गठन भई बिभिन्न गतिबिधीहरु हुदै आएका थिए । यिनै ट्रेड युनियन संघहरु मिलि २०४६ सालमा ट्रेड युनियन आन्दोलनलाई सशक्त र ब्यबस्थित बनाउन नेपाल ट्रेड युनियन महासंघको गठन भयोे । ट्रेड युनियन ऐन–२०४९ जारी भएपछि यो महासंघ मान्यता प्राप्त नेपालको पहिलो ट्रेड युनियन महासंघ भयो । २०४६ सालदेखी नेपालको ट्रेड युनियन आन्दोलन आजको दिनसम्म आईपुग्दा मजदुरहरुको अबस्था जुन चरणमा पुग्नु गर्ने थियो, श्रम क्षेत्र जति ब्यबस्थित हुनु पर्ने थियो, त्यो चरणको उपलब्धी हासिल गर्न यस युनियनको सक्रियता नपुगेका पक्कै हो । औपचारिक अनौपचारिक सबै क्षेत्रमा कार्यरत मजदुरहरुको पिडामा आफ्नो दृष्टि पु¥याउन नसकेका पनि हो नै यद्यपी हाल नेपाली मजदुरहरुले प्राप्त गर्दै आएका सेवा सुबिधा यही ट्रेड युनियनको नेतृत्वमा भएको आन्दोलनको उपलब्धीहरु हुन् । श्रम क्षेत्रमा भएको भद्रगोल अबस्थालाई केही ब्यबस्थित गर्ने काम यसै युनियनको नेतृत्वमा भएका हुन् । श्रम क्षेत्रका अन्य ट्रेड युनियनहरु भन्दा जिम्मेवार, आफ्नो वर्गिय आन्दोलनप्रति बफादार यस नेपाल ट्रेड युनियन महासंघसंग सम्पुर्ण नेपाली मजदुरहरुको भबिष्य जोडिएको छ । त्यसैले यस युनियनले आगामी दिनहरुमा आफ्नो गतिलाई अझै द्रुत बनाई नेपाली मजदुरहरुको अबस्था सुधारका निम्ती रात दिन तत्पर रहनु पर्दछ । अन्यथा मजदुरहरुको अबस्था झनै कमजोर हुदै जानेछ । राज्यको हरेक अंग पुँजीपतीहरु नियन्त्रणमा छ । अझै पनि पुँजीपतीहरुले मजदुरलाई आफ्नो वर्गिय शत्रु ठान्ने र सकेसम्म शोषण गर्न तत्पर छन् ।
आज विश्व कोरोना भाईरस (कोभिड–१९) संग जुधिरहेको छ । विश्वको अर्थतन्त्रमा यसले ठुलो धक्का पु¥याएको छ । लाखौ मजदुरहरु बेराजगार हुने सम्भावना छ । नेपाल र नेपालीहरु पनि यसबाट अछुतो छैन । राज्यको अर्थतन्त्र, मजदुरको रोजगारी र ब्यबसायीको ब्यबसाय सुरक्षित गर्नको निमित्त सरकारले उपयुक्त नीति लिनु पर्ने देखिन्छ । यसको लागी सरकार, ब्यबसायी र ट्रेड युनियनको संयुक्त प्रयासबाट उपयुक्त निश्कर्ष निकाली सबै पक्ष ईमान्दारिताका साथ अगाडी बढनु पर्दछ ।
आज १३१ औं अन्तराष्ट्रिय मजदुर दिवस अबसरमा विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को छिट्टै अन्त्य होस भन्ने कामनाका साथ सुरक्षित कर्मथलोमा सम्मानजनक ढंगले काम गर्न पाउने र कम्तीमा बाँच्न पुग्ने सेवा सुबिधा प्राप्त गर्न सक्ने शक्ति सम्पुर्ण मजदुरहरुमा प्राप्त होस हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

ताजा अपडेट

खोजी गर्नुहोस