सुजन कुमार बुढाथोकी
पिसा, इटाली
केही लेख्न मन लागेको छ, केही बोल्न मन लागेको छ । बास्तबमा म खेलाडी मान्छे, लेखेरै कसैको वाहवाही कमाउन त सक्दिन होला तै पनि प्रयास गरेको छु । खै सुरु कहाँबाट गरुँ ? सन २००० को जुलाईमा आफ्नो भएको केही सपना पूरा गर्ने अभिलाषाले म इटाली आए । झन्डै २० बर्षको मेरो इटाली बसाइमा तितामिठा क्षणहरु प्रसस्तै छन । आफ्नो घर-परिवार साथिभाइ समाजलाई छोडेर परदेशमा रहनु धेरैको बाध्यता होला । काम गर्ने, पैसा कमाउने र आफ्नो सुन्दर भबिस्यको नक्सा कोर्नु पहिलो सपना थियो। अर्काको देशमा स्थापित हुने क्रममा गरेका संघर्ष आजपनि ताजा भएर मनमा बसेका छन् । २० बर्षको यो दौरानमा आफ्नो देशमा भएका असहज परिस्थितिहरुमा मन भतभत पोल्दो रहेछ । राजपरिवारको हत्या, ०६२/०६३ को आन्दोलन, २०७२ को भुकम्प, भारतीय नाकाबन्दी र आजको कोरोना (कोभिड १९) को बिश्वमहामारीले आक्रान्त पारेको अवस्थामा मन रोइरहेको छ । कोरोनाको कुरा गर्दा इटालीको अवस्था बिश्व माझ प्रस्ट छ । १ दिन २ दिन ४ दिन गर्दै आगो सरी कोरोना फैलिदै गयो । हिजोसम्म संगै बसेर गफ चुटेका साथीहरू घर-घरमा थुनियौ । एकाएक शहर सुनसान बन्यो । एक्लै घरभित्रै २ महिना भन्दाबढी बस्नुपर्ने अवस्था आयो त्यो मेरोलागी सजिलो थिएन बाध्यता थियो ।
होम क्वारेन्टाइनमा बस्दा प्रायः नेपालको समाचार हेरिन्थ्यो । नेपालमा पनि कोरोनाको बिजारोपण भैसकेको थियो । इटालीमा माहामारीलाइ नजिकबाट नियालेको थिए भने नेपालको महामारीलाई महसुस गरेको थिए । उपचार प्रक्रिया, राहत, आर्थिक गतिविधि, बजार आदिलाइ केलाएर अध्ययन गरिरहेको थिए । इटालीमा पुर्ण पालना सहितको लक्डाउन थियो अति आवश्यकिय बजार सहज थियो । भिडभाड बिना किनमेल गर्न सकिन्थ्यो । त्यहा क्रेता र बिक्रेता दुबैले नियमलाई पछ्याएका थिए । किनमेलकै कारण कुनै डर थिएन, राहतको समस्या थिएन सरकारले राम्रो ब्यबस्था गर्दैछ । फुर्सद भएर होला म नेपालको बारेमा असाध्यै जानकार थिए । समाचार, साथिभाइसंगको कुराकानीले मलाई बुझ्न सजिलो थियो। बजार बिहान मात्र खुल्छ दिनभरि बन्द ! यसो गर्दा भिड बढ्दैन ? मेरो मनले प्रस्न गर्थ्यो । यस्ता पसल त बिहान देखि बेलुकासम्म खोले पो भिड कम हुन्थ्यो होला, किनमेलमा एकरुपता आउथ्यो होला ।
लकडाउन यसको पहिलो औषधी रहेछ तर लकडाउन लम्बिदै जादा हामी पनी त्यहि अनुरुप मानसिक रुपमा तयार हुँदै जानुपर्छ सजिलो उपायहरु धेरै छन । परिवारसंग रमाउने, पकाउन सिक्ने, आफन्त हरुसंग फोनमा कुराकानी गर्ने, फिल्म हेर्ने आदि । अझ भन्ने हो भने सृजनशिल बन्ने एउटा सुबर्ण अवसर पनि हुनसक्छ । लकडाउनमा विभिन्न पुस्तकहरुको अध्ययन, विभिन्न बिषयमा लेखन आदि जस्ता सृजनशिल काम गर्न सकिन्छ । जग्गा–जमिन भएकालाई अझ सजिलो छ कि तरकारी फलफुल आदिमा लाग्न सकिन्छ । जे होस फुर्सदको राम्रो सदुपयोग भएमा फ़ुर्तिलो र आनन्द प्राप्त गर्न सकिन्छ ।
सतर्क हुने हो तर जो पनि संक्रमीत हुन सक्छ । त्यसैले पनि आफुलार्इ पर्दा कस्तो होला ? अरुलाइ पनि त्यस्तै हो भनेर न्युनतम सोच मात्र राख्ने हो भने पनि उनिहरु माथी अन्याय नहोला । सजग र सतर्क हुने हो । यदी भैहाल्यो भने ठुलो समस्याको रुपमा नलिइ उपचारमा लाग्नु पर्छ । मेरा पनि केही साथीहरू संक्रमीत भएका थिए । उनिहरुले घरमै बसेर राम्रो हेरचाह गरे र पुर्ण निको भए । आज सामान्य जिवनमा फर्किएका छन । कसैले मृत्युबरण गर्नपरेन। मेरो भगवान संगपनी त्यही प्रार्थना थियो। यति ठुलो महामारीलाई चिर्दै स्थिति सामान्यकरण तर्फ प्रवेश हुदैछ । यो नै ठुलो सफलता हो जस्तो लाग्छ । मलाई त लाग्छ इटालीबाट नेपालले धेरै सिक्न सक्छ । नेपाललाई एउटा उपयुक्त मौका पनि हो । यतिनै बेला स्वास्थ्य क्षेत्रमा ठुलो सुधार गर्न सक्छ जस्तो लाग्छ । संक्रमीतहरुलाइ राम्रो सुबिधा र उपचार हुनुपर्छ, कसैको मृत्यु भएमा ब्यबस्थापनको लागि तयारी अवस्थामा राख्नुपर्छ । साना कमजोरीले कसैले पनि दुख पाउनु हुदैन । सकेसम्मको मानवीय उदाहरण देखाउनु पर्छ । कालोबजारीया र भ्रस्टाचारीमाथि कडा कारबाही गर्नपनी चुक्नहुन्न सरकार । यसको लागि सरकार र जनता सजग रहनपर्छ ।