सानुबाबु तिमिल्सिना
गत बैशाख महिनाको मध्यतिर धादिङ जिल्ला स्थित सिद्धलेक गाउँपालिका वडा नम्वर १ नलाङ नयाँबस्ती निवासी देशबहादुर परियार खेत अधिया कमाउने विषयमा सल्लाह गर्न हाम्रो घरमा आउनुभयो । कुराकानीको क्रममा बुबाले खेत अहिले अरुलाई नै अधियामा कमाउन दिएको र विचमा दिन नमिल्ने बताएपछि उहाले खाली भएपछि म खेत अधिया कमाउछु, मलाई दिनुपर्छ भनेर फर्कनुभयो । हुन त देशबहादुर परियार दाईले हाम्रै छिमेकका काकाको खेत अधियामा विगत केही बर्षदेखि नियमित रुपमा कमाउँदै आउनुभएको छ । यस विचमा एउटा खेत अधियाँमा कमाउँदा कमाउँदै फेरी अरु जग्गा किन खोज्नुभएको होला, अरु खेत पनि कमाउनुपर्ने आवश्यकता के परेछ ? भन्ने मेरो मनमा खुलदुली जाग्यो । उहाँको जग्गाजमिन थोरै भएकोले गर्दा खेत कमाउँदै आउनुभएको कुरा त मैले बुझेको थिए । सो अधिया कमाईबाट उहाको परिवारलाई धेरैथोरै सहयोग पनि हुँदै आएको थियो । तर यस विचमा कोरोना अर्थात कोभिड १९ को सन्त्रासका कारण कामको सिलसिलामा जिल्लाबाहिर काठमाण्डौ लगायतका ठाउँमा रहेका परिवारका सदस्यहरु सबै घरमा आएपछि भने उहाले पछि सम्मका लागि परिवारको खाद्य आपूर्ति व्यवस्था मिलाउनका लागि जग्गा खोज्नुभएको रहेछ ।
यो त एउटा उदाहरण मात्र हो । अहिले प्राय गाउँघरमा खेतबारी अधियाँमा कमाउने मानिसहरुको संख्या ठुलै छ र खेती गर्नको लागि अधियांमा जग्गा खोज्नेको संख्या पनि उत्तिकै मात्रामा छ । पहिला बाँझो बसेको खेतबारी आफैंले खेती गर्न शुरु गरेकाको संकख्या पनि कम छैन । यस अवधिमा मानिसहरुले गाउँघरमा खेतीपातिको कामलाई पनि निरन्तरता दिएका छन् । खाद्यान्न बाली मात्र नभएर यस विचमा मानिसहरुले तरकारी तथा फलफुल बालीको पनि खेती गर्दै आएका छन् । बर्षैदेखि बाँझीएर रहेको जग्गाजमिनमा पनि अहिले मानिसहरुले परिश्रम गरी खनजोत गर्दै आएका र खेतीको तयारी गर्दै आएका देख्न सकिन्छ । त्यतिमात्र होइन, खेतबारीका साथसाथै बाँझो रहेको मैदान, चउर लगायतका खेतीयोग्य जमिनमा खनजोत गरी खेती गर्ने क्रम पनि विस्तार भएको छ । केही बर्ष अगाडिसम्म गाउँघरबाट शहर पसेका मानिसहरु विस्तारै गाउँघरलाई विर्सेर उतै रमाउने, भुल्ने, नफर्कने, फर्के पनि चाडपर्वमा मात्र फर्कने, चाड पर्व मानेर शहर नै फर्कने, गाउँको घर रित्तो हुने, जग्गाजमिन बाँझिने, बर्षौसम्म पनि खेती नगर्ने, गाउँमै बसेकाले पनि विभिन्न कारणले आफुले खेती नगर्ने, दुःख गरेर खेती गर्नुभन्दा बरु किनेर खान सजिलो भनी खेती नगर्ने, लगायतका अवस्था देखिने गरेकोमा अहिले भने विलकुल अवस्था फरक देख्न सकिन्छ । अहिले गाउँघरका खेतबारी अन्नबालीले हराभरा भएको छ । मानिसहरु आफ्नो खेतबारीको काममा परिवारका सदस्य जम्मा भएर काम गर्दै आएका देख्न सकिन्छ । ज्यालामजदुरीका लागि मानिसहरु खोज्ने क्रम पनि अहिले त्यति छैन । आफ्नै घरका सदस्यहरुले काम गर्न सकिने भएपछि किन ज्यालामा कामदार खोज्नुप¥यो भन्दै मानिसहरु आफैले काम गर्दै आएका पनि छन ।
फेरी अहिले हामीलाई समयले पनि साथ दिएको छ । एक त घर छाडेर कमाउन गएका युवाशक्ति अहिले आफ्नै घरआँगनमा जम्मा भएका छन् । काम गर्न लाग्ने जनशक्तिको कुनै कमि अहिले छैन । विगतमा जस्तो कस्ले खेतबारी खनिदेला, कस्ले जोतिदेला, गोडमेल कसरी गर्ने होला भन्ने अवस्था अहिले छैन । त्यतिमात्र होइन, लडकडाउन शुरु भएको समयले पनि हामीलाई कृषिकर्म गर्नलाई साथ दिएको छ । चैत्र ११ गतेबाट शुरु भएको लकडाउनको अवस्थालाई हेर्दा पनि हाम्रो पहाडी क्षेत्रतिर त्यो समय भनेको बारीमा धान, मकै लगाउनको लागि जग्गा तयारी गर्ने सिजन हो । त्यसको लागि जग्गाको खनजोत, पोलपाल, गोठको मलखाडलमा रहेको गोबर मल निकालेर खेतबारीमा पु¥याउने, मकै छर्नको लागि जग्गा तयारी गर्ने आदीको समय हो । कामको सिजन र लकडाउनको समय एकै पटक परेका कारण किसानहरुलाई यसले सहयोग पुगेको छ । घरमा जम्मा भएका परिवारका सदस्यहरुबाट यस्ता काममा पक्कै सहयोग मिल्यो भन्ने लाग्छ । त्यतिमात्र होइन, तयारी जग्गामा मकै, धान लगायतका सिजन अनुसारका अन्नबाली तथा फलफुल र तरकारी खेती शुरु गरी गोडमेल गर्ने सम्मको अवस्थामा सबै साथ रहँदा जनशक्तिको अभावमा हुने गरेका विगतका त्यस्ता कुनै समस्या यस समयमा भोग्नुपरेको छैन । त्यसमाथि अहिले प्रकृतिले पनि साथ दिएको छ । पहाडी क्षेत्र भएका कारण हामीकहाँ धेरै ठाउँमा सिँचाईको समस्या छ । यस्तो अवस्थामा धेरै भन्दा धेरै खेतीपातिको लागि आकाशे पानीको भरपर्नुपर्ने अवस्था रहेको विद्यमान परिस्थितिमा समय समयमा परेको आकाशे पानीले अहिलेको खेतीपातिलाई फाइदा मिलेको छ । यसकारण यस्तो प्रकृतिको समेत साथ रहेको अवस्थालाई हामीले अवसरको रुपमा लिएर खेतीलाई विस्तार गरी मनग्य उत्पादा बढाउने वातावरण सिर्जना गर्नुपर्छ ।
तर हामीकहाँ अझै धेरै समस्या यथावत नै छन् । दुःख परिश्रम गरे अनुसार अन्नपात उत्पादन हुन सकेका छैनन जसले गर्दा किसानहरुलाई निरास बनाएको छ । यसको लागि सरकार, स्थानीय तह तथा प्रदेश सबै निकायबाट किसानको हितको लागि केही प्रयास पनि शुरु हुन थालेका छन् । कृषि लाई सरल र सहज बनाउन कृषि यन्त्रिकरणको लागि मिनि टिलर सहुलियत रकममा वितरण गरिने, नयाँ र उन्नत प्रविधिका कृषि उपज, विउ विजन वितरण गर्ने, कृषक समुह गठन गरी कृषक पाठशाला सञ्चालन, खेती व्यवस्थापन, रोगकिरा नियन्त्रण, मलखाद प्रयोग लगायतका उपयोगी विषयमा समय समयमा काम पनि शुरु हुन थालेका छन् तर यस्ता गतिविधि पनि सिमित ठाउँमा मात्र रहेका कारण सबै किसानको पहुँचमा पुग्ने वातावरण मिलाउन अझै आवश्यक छ । हामीकहाँ भएको अर्को समस्या भनेको रासायनिक मलको अभाव । किसानहरु खेती गर्न चाहान्छन्, गर्दै आएका पनि छन् तर समयमा रासायनिक मल बजारमा पाइदैन, जसको कारण खेतीबालीमा समयमा मल प्रयोग गर्द नपाउँदा कृषि उत्पादन घटेको कारण किसान निरास छन् । सिमित मात्रामा उपलब्ध रासायनिक मल सबै किसानले पाउन सकेका छैनन, माग धेरै छ तर थोरै मात्र उपलब्ध हुने अवस्थाले पनि कृषिमा भने जसरी परिवर्तन आउन सकिरहेको छैन । यस्ता विषयमा पनि सोच्न आवश्यक छ ।
समस्या यतिमा मात्र सिमित छैन । पहिलाको जस्तो घरगाउँमा नै धानमकैका विउ राख्ने चलन अहिले हराएर गएको छ । बजारबाट किनेर विउ लाने चलन अहिले गाउँगाउँ सम्म पुगेको छ । राम्रो भनेर लगेको धानको विउले पटक पटक धोका दिएको उदाहरण हामीले यसअघि धेरै पटक सुनेकै हो । बाला नलाग्ने, लागेपनि उत्पादन कम हुने समस्या धानमा देखिने गरेको छ भने मकैमा घोगा नलाग्ने, घोगा लागे पनि दाना नलाग्ने, कम दाना लाग्ने लगायतका समस्या किसानहरुले भोग्दै आएका समस्या हुन् । यस्ता समस्याले पनि किसानलाई निरास बनाउँदै लगेको छ । यसका साथै समय समयमा लाग्ने रोग किरा अहिले देखिएको मकैबालिमा समस्यामा रुपमा रहेको अमेरिकी फौजी किरा, गबारो लगायतका समस्याले पनि किसान निरास छन् । बर्षदिनसम्म पु¥याउनुपर्ने अन्नबालीमा खेती लगाउने समयदेखि भित्र्याउने समयसम्म र भित्र्याइसकेपछि पनि मुसा, लगायतका अन्य घुन पुत्ला लगायतका किराले दुःख दिने कारणले सोचे अनुसारको सन्तुष्ति मिलेको छैन । तैपनि किसानहरुले आफ्नो नियमित कर्म गर्न भने छाडेका छैनन । यस अवस्थालाई विचार गरी सरकारी निकायबाट ठोस रणनीति चाल्नुपर्ने आवश्यकता बढेर गएको छ । अझ भन्नुपर्दा त कोरोनाले हामी किसानहरुलाई एउता उत्साह र जाँगर तथा अवसर दिएको अहिलेको अवस्थामा कृषि र किसानको हितमा हुने खालका काम गर्न सम्बन्धीत स्थानीय तह, प्रदेश र केन्द्र सरकार सबैले गम्भिर ढंगबाट दिर्घकालिन समस्या समाधानको विषयमा कदम चाल्न आवश्यक छ ।
कोरोना भाईरस अर्थात कोभिड १९ रोगको सन्त्रासका कारण देशका विभिन्न भागमा रहेका मात्र होइन भारत लगायतका विश्वका विभिन्न देशमा रोजगारीका क्रममा पुगेका नागरिकहरु धमाधम स्वदेश फर्कदै छन् । धेरै नागरिकहरु लकडाउन शुरु हुनुभन्दा अगाडि देखिनै गाउँघरमा रहँदै आएका छन् । कोरोनाको सन्त्रास कहिलेसम्म रहन्छ भन्ने यकिन छैन । कोरोना संक्रमण हुन नदिन भन्दै नेपाल सरकारले लगाउँदै आएको लकडाउन पनि जारी छ । चैत्र ११ गतेदेखि जारी लकडाउन यही जेठ महिनाको ३२ गतेसम्म हुने पक्का छ भने त्यपछि पनि खुल्ने हो वा होइन भन्ने अन्यौल नै छ । रोग संक्रमणको अवस्था हेरेर लकडाउनको मोडालिटि केही परिवर्तन गर्ने सकारको तयारी रहेको भएपनि अन्त्य कहिले हुन्छ यसै भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा घरमा आएकाहरु फर्कन सक्ने कुरा पनि भएन । त्यसमाथि कोरोना संक्रमण दर पछिल्लो समय बढ्दै गएको अवस्थामा यत्तिकै फर्कनु पनि भएन । उता काम गरेको ठाउँमा पनि अवस्था उस्तै छ । लकडाउनका कारण काम हुन सकेको छैन । सबैतिरको अवस्था उस्तै भएपछि अन्तिम विकल्प भनेको आफ्नो घरगाउँ नै हो । यस परिस्थितिमा अहिलेको आवश्यकता र भविष्यको समेत अवस्थालाई ख्याल गरेर अन्नपात उत्पादन गर्ने अवस्थामा सबै एकचित्त ढंगले लाग्नुपर्ने आवश्यकता छ ।
-लेखक सञ्चार तथा सामाजिक क्षेत्रमा क्रियाशिल छन् ।