किन मान्ने अधिकमास ?

  • अनलाइन केन्द्र
  • / विचार/दृष्टिकोण /
  • २०७७ आश्विन १५, बिहिबार (४ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

–सन्दीप सापकोटा
राष्ट्रिय अभियन्ता, पर्वसमय सुधार अभियान
केन्द्रीय सचिव, पर्वसमय सुधार राष्ट्रिय समाज नेपाल

सनातनीय धर्माबलम्बीहरुले अधिकमासलाई विशेष महत्वका साथ लिने गरेका छन् । यस वर्ष असोज २ गते देखि असोज ३० गतेसम्म अधिकमास परेको छ । यसको अगाडि पितृपक्ष महालय श्राद्ध र पछााडि शारदीय नवरात्र, वडादशैँ पर्व परेको छ । शास्त्र अनुसार हरेक महिनाका आ–आफ्ना अधिपति एकएक सूर्य हुन्छन् जसलाई वेदले द्वादश आदित्यको रुपमा व्याख्या गरेको छ तर अधिकमासको अधिपति कुनै सूर्य हुँदैन । माघदेखि पौषसम्मका सूर्यहरु क्रमशः अरुण, सूर्य, भानु, रक्षपन, चन्द्र, रवि, गभस्ति, अर्यमा, हिरण्यरेता, दिवाकर, मित्र तथा विष्णु हुन् । नारदीय पुराणको पुरुषोत्तम मास महात्म्यमा शुद्ध बाह्र महिनाहरुको मलस्वरुप हुनाले यस महिनालाई मलमास भनिएको र अरुबाट मल भनेर तिरस्कृत गरिएको यस महिनाको अधिपतित्व ग्रहण स्वयं पुरुषोत्तम श्रीकृष्णले गरेका कारण यस महिनाको नाम नै पुरुषोत्तम हुन गएको कुरा उल्लेख गरिएको छ । त्यसैले यस अवधिमा पुरुषोत्तम श्रीकृष्ण र विष्णुका विभिन्न अवतारको विशेष पूजा आराधना गर्ने र काँसको थालीमा तीन वर्षमा शेष रहने ३३ दिनका प्रतीक ३३ वटा मालपूवा राखी, विष्णुका ३३ नामले पूजा गरेर सत्पात्र ब्राह्मणलाई दानदक्षिणा गर्ने प्रचलन रहेको पाइन्छ । एक मलमासबाट अर्को मलमास आउनको लागि करिब १००० दिन लाग्ने हुँदा सो अवधिलाई हजार हात भएका सहस्रभुज अवलोकितेश्वर श्रीमत्स्येन्द्रनाथसँग पनि सम्बन्धित गरि व्याख्या गरिएको पाइन्छ । अधिकमासकै समयावधिमा काठमाडौँको पश्चिमी भेगमा रहेको मत्स्यनारायण मन्दीरमा एकमहिना भव्य मेला लाग्ने गर्दछ ।अधिकमासलाई शास्त्रमा मलमास, पुरुषोत्तम मास, नपुंसकमास, मलिम्लुचमास आदिको नामले सम्बोधित गरिएको छ। यस अवधिमा पितृकर्म, विवाह, व्रतबन्ध लगायतका उत्सव, सप्ताह, नवाह लगायतका अनुष्ठान, गृहप्रवेश, यात्रा, नयाँकामको शुभारम्भ लगायतका मङ्गल कार्यहरु गर्नुहुँदैन र नव विवाहित दम्पत्ती पहिलो पटक पर्ने अधिकमासमा सँगै बस्न हुँदैन भन्ने मान्यता समाजमा रही आएको छ । माथि उल्लेख गरिएका धार्मिक सामाजिक मान्यता भए, यस लेखमा अधिकमासको ज्योतिषीय दृष्टिबाट वास्तविक उद्देश्यको बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।

के हो अधिकमास?
सूर्य, चन्द्र र नक्षत्रलाई आधार लिएर काल गणना गरिनेनेपालको समय गणना पद्धति समन्वयात्मक, वैज्ञानिक र परिष्कृत छ । यसरी मापनका लागि आधार लिइने खगोलीय पिण्डहरुको गतिमा भिन्नता हुन्छ । त्यसैले यस पद्धतिमा सापेक्षिक सुधारको पनि आवश्यकता पर्दछ । यसरी ग्रहगणित र प्राकृतिक वस्तुस्थिति मिलाउनका लागि अधिकमास, क्षयमास आदिको प्रयोग गर्ने गरिन्छ । विश्व परिदृश्यमा समय मापन प्रणालीलाई नियाल्ने हो भने दक्षिण एसियाली भूखण्डका अलावा अन्त कतै अधिकमासको प्रयोग भएको पाइदैँन । मुसलमानहरुले चन्द्रमालाई प्रधानता दिन्छन् र चन्द्रको आधारमा चल्ने हिजारी संवत् चलाउँछन् । पाश्चात्यहरुले सूर्यलाई मान्यता दिई सौर्य संवत्का रुपमा ईश्वी संव्त चलाउँछन् । ईश्वी संवत्मा काल समायोजन गर्न हरेक चारचार वर्षमा लिप ईएर मानेर फेब्रुअरीमा एकपटक २९ दिनको महिना बनाइन्छ । तर नेपाल, भारत आदि पौरस्त्य संस्कृति अनुशरण गरिने मुलुकहरुले शास्त्रसम्मत पूर्ण वैज्ञानिक र परिमार्जित पद्धतिलाई अप्नाउँछन् र चन्द्र, सूर्य, नक्षत्र आदि बाट समय मापन गर्ने गर्छन् । सूर्यको गतिलाई आधार मानेर गणना गरिने वर्षलाई सौर्य वर्ष भनिन्छ जसको मान ३६५ दिन १५ घडी २२ पला ५७ विपला हुन्छ । त्यस्तै चन्द्रगतिलाई आधार मानेर गणना गरिने वर्षलाई चान्द्रवर्ष भनिन्छ जसको मान ३५४ दिन २२ घडी १ पला र २३ विपलाको हुन्छ । यसरी प्रतिवर्ष सौर्य र चान्द्रवर्षको वर्षमानमा १० दिन ५३ घडी २१ पला अर्थात् करिब ११ दिनको अन्तर रहने गर्दछ । चान्द्र दिनहरु सौर्यदिन भन्दा अधिक हुने हुँदा लगभग तीन वर्षमा १२ महिनाको ठाउँमा १३ चान्द्र महिना हुने गर्दछ । दुईवटा सौर्य संक्रान्तिको बीचमा पर्ने यो अन्र्तवर्ती काललाई नै अधिकमास भनिन्छ । यस प्रकारसँग गणना गर्दा प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेट पूरा भएपछि एक अधिक मासबाट अर्को अधिक मास आउँछ । त्यस्तै एकै चान्द्र महिनामा दुईवटा सौर्य संक्रान्ति पर्नुलाई क्षयमास भनिन्छ । क्षयमास भने घटीमा १९ वर्षदेखि बढीमा ४१ वर्षमा एकपटक आउने गर्दछ ।यसरी ग्रहगणितको अन्तरलाई समायोजन गरि गणना पद्धतिमा शुद्धि ल्याउन र व्यवहारिक पक्षप्राकृतिक वस्तुस्थितिसँग तालमेल मिल्नेगरीव्यवस्थित पार्न सूर्य र चन्द्रको गतिलाई एकै ठाउँमा ल्याउन अपरिहार्य रहन्छ ।

अधिकमासको उपादेयता
वेदाङ्गज्योतिष कालमा सूर्य उत्तरायण हुने माघ महिनाबाट वर्षको सुरु हुने प्रचलन हुन्थ्यो र तीन वर्ष जतिमा मलमास थप्दा आषाढ महिना वा पौष महिनामा थप्ने गरिन्थ्यो । तर भाष्कराचार्यको सूर्य सिद्धान्त ज्योतिष प्रचलनमा ल्याइएपछि वैशाख महिनाबाट वर्ष सुरु हुने र ३२ महिना १६ दिन पछि एक चान्द्र महिना थप गर्ने मलमास प्रथाको सुरुवात भएको हो ।सर्वेषु मासेष्वधिकमासकः स्यात भन्ने प्रमाणबाट आजकल जुनसुकै महिनामा पनि अधिकमास पर्न सक्छ जसको वास्तविक प्रयोजन सौर्य र चान्द्र मासको गतिमा तादात्म्यता ल्याई समय मापनलाई शुद्ध र प्रकृति सापेक्ष बनाउनु हो ।अधिकमासको प्रयोजनीयताको शाश्वत पक्ष पनि यही नै हो । यो भयो चान्द्रमानमा आएको विचलनको समस्या निराकरण । यो कुरा बुझ्न र बुझाउन सजिलो छ, सुधार प्रक्रिया पनि सजिलो छ । तर जब सूर्यमा नै विचलन आउँछ, त्यो लामो समयावधिमा थोरै विचलन आउने भएकाले बुझ्न र बुझाउन कठिन मानिन्छ । कारण सूर्यमा १ दिनको विचलन आउन ७२ वर्ष लाग्दछ भने पूरा एक महिनामा अन्तर आउन २१५० वर्ष लाग्दछ । यस विषयको सम्बन्धमा पनि अधिमाससँग केन्द्रीत भई केही चर्चा गर्न प्रासंगिक देखिन्छ ।

सायन र निरयण
धर्मशास्त्रमा ज्योतिषीय काल गणना सायन र निरयण दुई पद्धतिबाट गरिन्छ जहाँ अयन भन्नाले बाटो भन्ने बुझिन्छ । पहिलो, सायन पद्धतिले प्राकृतिक रुपमा अन्तरिक्षमा भएका नक्षत्र, सूर्य, चन्द्रको वास्तविक स्थितिको मापन गर्दछ अर्थात् यसले चलायमान खगोलीय पिण्डहरुको मापन गर्दछ । सायन विन्दूहरु भनेका चल विन्दूहरु हुन् । उदाहरणार्थ सूर्य, चन्द्रमा, तारा नक्षत्रहरुको आफ्ना आफ्नै स्वतन्त्र गति छ, त्यही अनुसार अन्तरिक्षमा परिभ्रमण गर्दछन् । दोश्रो, निरयण पद्धति पञ्चाङ्ग निर्माण गर्न अप्नाइएको विधि हो जसमा खगोलीय पिण्डहरु अचल हुन्छन् भनी मानिएको हुन्छ । यही मान्यतामा आधारित रहेर पर्व, पूजा, अनुष्ठान लगायतका शास्त्रनिर्देशित कृत्यहरु सम्पादित हुन्छन् । निरयण पद्धतिको उदाहरण ः हरेक महिनाको पूर्णिमा तत्तत् नक्षत्रसँग बाँधिएका हुन्छन् । वैशाख शुक्ल पूर्णिमामा विशाखा नक्षत्र पर्नै पर्छ, ज्येष्ठमा ज्येष्ठा, असारमा पूर्वाषाढा, श्रावण शुक्ल पूर्णिमामा श्रवण नक्षत्र लगायत गरेर हरेक महिना स्थिर मानिएको नक्षत्रसँग बाँधिएको हुन्छ । बाह्रवटा सौर्य संक्रान्तिहरु पनि अचल हुन्छन्, चलाउन मिल्दैन । यी अचल विन्दूहरुसँग बाँधिएर पर्वहरु मनाउने व्यवस्था शास्त्रले गरेको छ ।
यसर्थ, शास्त्रले प्रतिपादन गरेका व्रत, उत्सव आदि धार्मिक कृत्यहरु युगयुगान्तरसम्म यथावत् सुरक्षित राख्न पञ्चाङ्ग गणनाका सायन र निरयण दुबै पद्धति उत्तिकै अपेक्षित हुन्छन् । हिन्दू समाजमा सायन र निरयणको विवाद पहिले देखि नै चलिआएको छ तर नेपाली परिवेशमा आधिकारिक रुपमा प्रकाशित हुने पञ्चाङ्गहरुले निरयण र सायन दुबैलाई उत्तिकै महत्व दिएर समन्वयलाई कायम गरेको पाइन्छ । ज्योतिषीय शास्त्रहरुले सायन र निरयणको अन्तर केवल १५ दिन (एक पूर्णिमा क्षेत्र भित्र मात्र) रहनु पर्छ भनेको छ । अर्थात् कुनै पनि महिनाको सौर्य संक्रान्तिको १५ दिन अगााडि वा त्यसको १५ दिन पछाडि सोही महिनाको पूर्णिमा पर्नुपर्दछ । यसलाई बुझिने भाषामा प्रस्तुत गर्दा हरेक संक्रान्ति पेण्डुलम अडाइएको किला हो, पूर्णिमा भनेको पेण्डुलम हो र पूर्णिमा क्षेत्र भनेको त्यसको डोरी हो । आफ्नो क्षेत्रमा नै सिमित भई हल्लदा मात्र समयमा वास्तविकता आउँछ । क्षेत्रबाट बाहिर जाँदा त्यसले शुद्धता ल्याउन सक्दैन । तर वर्तमान परिप्रेक्षमा २४ दिनको अन्तर सिर्जना भईसकेको अवस्था छ । माथि उल्लेख गरिएको सूर्यमा विचलन आउनु भनेको यही नै हो । यसरी सूर्यमा विचलन आएकाले वर्तमान समयमा चाडपर्वहरु शुद्ध समयमा पर्दैनन् । त्यसैले सूर्यको परिवर्तनलाई समयसापेक्ष रुपमा संशोधन गरि सूर्यको परिवर्तित स्थिति अनुसार गणना पद्धतिलाई अद्यावधिक गरिनु अपरिहार्य छ । सुधार गरिएका र गर्न मिल्ने प्रशस्त प्रमाणहरु सनातनीयहरुको प्रमाणिक ग्रन्थ वेदमा उल्लेख गरिएको पाइन्छ ।

उत्तरायण र दक्षिणायन
सूर्य मकर रेखामा डिसेम्बर २२ मा र कर्कट रेखामा जुन २१ मा पुग्दछ । हामीले साउने संक्रान्ति साउन १ लाई (वर्षको सबै भन्दा लामो दिन) भनेर मनाई रहँदा वास्तविक लामो दिन (जुन २१) प्रचलित पञ्चाङ्ग अनुसार असार ६ गते नै बितिसकेको हुन्छ । अहिले पञ्चाङ्ग प्रकाशन गर्न रुजु गरि स्वीकृति दिने नेपाल सरकारको आधिकारिक निकाय नेपाल पञ्चाङ्ग निर्णयक समितिबाट स्वीकृत हुने १३ वटा पञ्चाङ्गले असार ६ गते नै कर्कटेदृश्यार्क अर्थात् कर्कट राशीमा सूर्यको संक्रमण भयो अर्थात् असार ६ गते नै सूर्य श्रावण १ मा पुगिसकेको तथ्यलाई उल्लेख गरेका छन् । त्यस्तै पुष ६ गतेलाई मकरे दृष्यार्क भनेकाले हामीले मान्दै आएको माघ १ गतेको सूर्य पुष ६ गते नै मकर राशीमा पुगिसकेको स्थिति छ । पञ्चाङ्गमा असार ६ गते (२१ जुनमा) सूर्य कर्कट रेखामा पुग्ने र पुष ६ गते (२२ डिसेम्बरमा) मा सूर्य मकर रेखामा पुग्ने वैज्ञानिक कुरालाई नमानी २४ दिन पछि साउन १ गते (जुलाई १७ मा) मात्र सूर्य कर्कट रेखामा पुग्ने कुरा मानि साउन १ गते मात्र दक्षिणायण लाग्ने र माघ १ (जनवरी १५) मा सूर्य मकर रेखामा मानी उत्तरायण मानिने गरिएको छ । जुन न त विज्ञान सम्मत छ न त शास्त्र सम्मत नै छ । यसरी जनसामान्यले नबुझ्ने गरि दुईवटा एक अर्कामा विरोधाभासी कुरा पञ्चाङ्गमा उल्लेख गरेर पञ्चाङ्ग प्रकाशन गर्नु कानुनत ठीक होइन । त्यसैले प्रचलित पञ्चाङ्गपत्र प्राकृतिक वस्तुस्थिति सित नमिल्ने र अवैज्ञानिक हुन पुगेको छ ।

विज्ञका कुरा
ज्योर्तिविद् प्रा. नयराज पन्तले लच्छिविसंवत्को पृष्ठ ९७ मा वेदाङ्ग ज्योतिषमा बताइएको अयनारम्भ विन्दुलाई बराहमीहिरले १५०० वर्ष अगाडी २४ दिन अगाडी सारेको प्रमाणलाई अगि सार्नुभएको र यसलाई शास्त्रसम्मत वैज्ञानिक अकाट्य प्रमाण स्वीकार गर्नुभएको छ । उपर्युक्त पुस्तकमा नै हरेक १५ अधिक मासमध्ये १४ अधिक मासलाई मात्र मनाई गणनामा हुने अन्तरलाई मिलाउने प्रचलन हाम्रो समाजमा रहेको तथ्यलाई पनि उहाँले पेश गर्नुभएको छ । यसरी १५ दिन भित्र कायम रहनु पर्ने अन्तर सीमा नाघेर २४ दिन पुगिसकेको अवस्थामा अब एउटा मलमास लाई शुद्धमास मानेर एक महिना सुधार गर्नु अपरिहार्य भइसेकेको छ । मुहूर्त चिन्तामणिको संक्रान्ति प्रकरणको नवौँ श्लोकमा र उपर्युक्त श्लोकको पीयुषधारा व्याख्यामा सायन संक्रान्ति स्नानादि धार्मिक कृत्यमा अधिक पुण्यदायक मानिएको र निरयण संक्रान्ति भन्दा सायनलाई बढी मान्यता दिनु पर्ने जनाइएको छ । अतः दुबै संक्रान्तिलाई समान महत्व प्रदान गरि सायन संक्रान्तिको नजिकमा निरयण संक्रान्तिलाई स्थापित गर्नुपर्ने देखिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले पर्वसुधार– शास्त्रीय चिन्तन लेखमा अयनचलनले गर्दा गणना पद्धतिमा अशुद्धता आएको जसले गर्दा चाडपर्व मनाउने समय शास्त्रप्रतिकूल भइरहेको उल्लेख गर्नुभएको छ । यो समयलाई शास्त्र अनुकूल बनाउन मलमासलाई प्रयोग गरेर एक महिना सुधार गर्नुपर्छ भन्ने तथ्य अगाडि सार्नुभएको छ । त्यस्तै समितिका सदस्य विद्वान प्रा.डा. साम्बराज आचार्यका अनुसार सौर चान्द्रमानमा सामञ्जस्य कायम गर्न अधिकमासलाई साधारणमास मान्नु पाप हो, इतिहासलाई कलङ्कित गर्नु हो भन्ने धारणा राख्ने व्यक्तिहरुको अध्ययन कमजोर र दूराग्रहपूर्ण छ । अधिकमासको हिसाब जसरी मिलाए पनि हुने कुरा हो, यसको महत्वपूर्ण पक्ष र महत्व भनेकै सौरमान र चान्द्रमानको सामञ्जस्य मिलाउने कुरा हो, यसलाई प्रयोग गरि एक महिना सुधार गर्न शास्त्रको दृष्टिबाट बाधा नपर्ने देखिन्छ भनी उल्लेख गर्नुभएको छ । समितिका अर्का सदस्य दैवज्ञ ज्यो. कीर्तिमदन जोशी भन्नुहुन्छ – दृष्ट सायन र अदृष्ट निरयणको सम्बन्धलाई स्थापित गर्न एक अधिकमासलाई सामान्य मास सरह मानेर चाडपर्व मनाए मात्र शास्त्रको औचित्य पुष्टि हुन्छ ।

अतः अधिकमासको वास्तविक प्रयोजन भनेको समन्वयात्मक गणना पद्धतिका आधार सूर्य, चन्द्रमा र नक्षत्रको ग्रहगणितलाई प्राकृतिक वस्तुस्थितिसँग समन्वय कायम गराई शास्त्र र विज्ञानले स्थापित गरेका मान्यतामा आँच आउन नदिनु हो । अधिकमासको वास्तविक प्रयोजन सम्बन्धित सबैले बुझ्नु अपरिहार्य छ र सम्बन्धित निकायले पनि आम जनमानसलाई यो मनाउन जरुरी देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस