आज जेष्ठ ३ गते, सबै बर्षहरुमा झै आज पनि स्व। कमरेडहरु मदन भण्डारी र जीवराज आश्रीत प्रति श्रद्धान्जलीको लागि पार्टी अफिस बल्खु पुगें । उहाँहरूको सालिकमा फुल, माला चढाईरहँदा ममा उहाँहरूसंग सम्वन्धित राजनीतिक, सैधान्तिक, बैचारिक र पार्टी निर्माणमा संगै हिंडेका धेरै कुराहरु मेरो मनमा ताजा बन्यो । केहि हरफ कोरुँ जस्तो लाग्यो । आजै त राजनीतिक कुराहरु धेरै भन्न सम्भव छैन । मनमा उठेका टुक्राटुक्री घटनाहरुको बारेमा मात्र उल्लेख गर्न गईरहेको छु ।
कमरेड मदन भण्डारीसंग मेरो पहिलो भेट २०३७ को कार्तिक मंसिर तिर मोरंग जिल्लाको हरैंचा भन्ने गाउँमा एउटा भूमिगत भेलामा भएको थियो । त्यो भेला मजदूर फाँटका केन्द्रिय कमिटिमा रहेका अगुवा नेताहरु र मजदूर फाँटबाट पार्टीको तर्फबाट नेतृत्व प्रदान गर्ने कमरेडहरुको भेला थियो । त्यतिखेर मेरो काठमाडौंको मजदूर फाँटको पनि जिम्मा भएकोले त्यो भेलामा पुग्न पाएको थिएँ ।
उक्त भेलामा तत्कालिन नेकपा मालेका महासचिव सिपि मैनाली, कोशीको पार्टी प्रमुख मदन भण्डारी, मजदूर फाँटका प्रमुख मुकुन्द न्यौपाने सहितको उपस्थिति थियो । सो भेलामा पार्टीको महासचिव उपस्थित भएको कारणले क। मदन भण्डारीले खासै भूमिका निभाउनु पर्ने अवस्था भएन । त्यसपछिका समयमा मेरो मदन कमरेडसंग भेटघाट हुन थाल्यो । कमरेड मदन भण्डारी ०४१ सालमा पोलिटव्यूरोमा समाविष्ट भए पछि पोलिटव्यूरोका बैठक लगातार काठमाडौंमा हुन थाल्यो । त्यसक्रममा म काठमाडौंको सचिव भएको कारण ती बैठकका लागि वा काठमाडौं आउने नेताहरुको लागि बसोबास र सेल्टरको व्यवस्था मिलाउनु पर्ने जिम्मेवारी नियमित रुपमा ममा हुने गर्दथ्यो । त्यस किसिमको जिम्मा जो कोहिलाई दिनु वा बताउनु धेरै जोखिमपूर्ण पनि थियो त्यो बेला र त्यसपछिका समयमा कमरेड मदन भण्डारीसंग महिना वा दुई महिनामा लगातार भेट हुन थाल्यो । वहाँले मेरो काम गर्ने तरिका र क्षमतालाई नजिकबाट नियाल्न थाल्नु भयो र उहाँको भूमिका र क्षमता बारेमा पनि मलाई थप जानकारी हुँदै गयो ।
कमरेड मदनसंग जोडिएको एउटा ज्यादै गम्भिर घटना मलाई सम्झना छ । २०४३र०४४ सालतिरको कुरा हो अमृत साईन्स क्याम्पसमा पढ्ने तेह्रथुम अनेरास्ववियू प्रारम्भिक कमिटीका एकजना विद्यार्थी नेता तथा पार्टी कार्यकर्ताले पार्टी च्यानल मार्फत ‘पार्टीका जिम्मेवार कमरेडसंग तुरुन्त भेट्न पर्ने भयो’ भनेर खवर पठाउनु भएको मैले थाहा पाएँ । त्यसपछि म उहाँहलाई भेट्न अस्कल छात्रावासको गेटमा पुगें । उहाँले मलाई हतार हतार दुई पन्नाको कागज थमाई दिनु भयो । त्यस कागतमा लेख्ने र उहाँको कोठामा छोड्ने व्यक्ति मदन कमरेडको घर भएको मोरंग कै ईटहरा घर भएको पदम चुडाल भन्ने व्यक्ति रहेछन् र उनी त्यस अगाडी नेकपा मालेको मोरंगको सचिव रहेछन् । ती व्यक्ति मित भाईको नाताले उनको डेरामा आएर बसेका रहेछन् र शायद उनले खेस्रा गरेको कागज नष्ट गर्न विर्सेछन् र उनको हातमा परेछ । त्यो कागज दिंदै ‘मेरो पार्टीलाई घात गर्ने काममा मेरो मीतदाई लागेका रहेछन् मलाई सह्य भएन’ भनेर गम्भीर भए । त्यो कागज भयंकर षडयन्त्रको कागज थियो । त्यसमा पदम चुडालले लेखेका थिए, “मदन भण्डारी भन्ने झट्ट हेर्दा पन्जावी जस्तो लाग्ने, सागर, एसएसआर, स्वेत सार्दुल, वर्वरिक जस्ता नामबाट पार्टीभित्र चिनिने व्यक्ति मालेको केन्द्रिय सदस्य हुन् ।” सो कागजमा मोरंगका विभिन्न व्यक्तिका नाम र ठेगाना लेखिएको थियो र उल्लेखित नाम भएका व्यक्तिहरु पार्टीका कार्यकर्ता र सेल्टरदाताहरु हुन भन्ने कुरा उल्लेख गरिएको थियो ।
त्यसै गरी कोशी अन्चलका विभिन्न जिल्ला पार्टी सचिवको नामहरु पनि उल्लेख गरेका थिए । केहि सेल्टरहरुमा संवेदनशील सामानहरु रहेको र हतियारहरु पनि रहेका हुन सक्ने भनि लेखेका थिए । मैले त्यो पत्र तत्कालिन महासचिव झलनाथ खनाल ९पंकज० र पार्टीका उपत्यका प्रमुख माधव नेपाल रंजनलाई देखाएँ । वहाँहरुसंग ती कार्यकर्ताले बताएको सवै कुरा सुनाएँ । वहाँहरु धेरै गम्भीर हुनु भयो र एक जना कर्मचारी कार्यकर्तालाई ल्पेनव्दारा विराटनगर पठाउने निधो भयो र मदन कमरेडलाई भेटी सोको जानकारी गराउने, सवै सामाग्री र सेल्टरहरु सुरक्षित राख्ने र वहाँलाई काठमाडौं आउने सल्लाह दिएर पठाईयो । त्यस सुचना पश्चात सवै सेल्टरहरु र कार्यकर्ताहरुलाई सतर्क पार्ने काम भयो र सम्भावित नोक्सानीबाट पार्टी जोगियो ।
त्यस्तै अरु केहि घटनाहरु कमरेड मदन भण्डारीसंग सम्वन्धित रहेकाछन् र मेरा मानसपटलमा नाचिरहेकाछन् । घटना के हो भने २०३८ सालमा महेन्द्र मोरंग क्याम्पस विराटनगरमा अनेरास्ववियू पाँचौं र नेविसंघ विच झडप हुँदा नेविसंघका विद्यार्थी नेताले हानेको गोलीबाट अखिलका विद्यार्थी नेता फणिन्द्र तिमिल्सिनाको हत्या भयो । फणिन्द्र गोली लागि ढलेपछि नेविसंघका विद्यार्थीहरुबाट दुईथान पेस्तोल र दुईवटा गोली अखिलका विद्यार्थीहरुले खोसे र त्यो पेस्तोल र गोली कमरेड मदन भण्डारीलाई बुझाई दिए । पछि मदन कमरेडले त्यसलाई सुरक्षित राख्न मलाई जिम्मा दिनु भयो र मैले त्यसलाई पार्टीमा बुझाइ दिए । पार्टीले कहाँ राख्यो थाहा भएन ।
एक दिन काठमाडौं पाँगाका रामकृष्ण दुवाल कमरेडले पार्टीका जिम्मेवार कमरेडलाई भेट्न जरुरीछ भनेर खबर पठाउनु भयो । यो सम्भवत ०४१÷०४२ साल तिरको कुरा हो । वहाँको पसल थानकोट प्रहरी चौकी नजिकै थियो । मैले ठाउँ पत्ता लगाउँदै वहाँको पसलमा पुगें । वहाँले एउटा ठूलो फाईल मेरो हातमा थमाई दिनु भयो । त्यसभित्र एउटा पन्ना आधा गरी पट्याएको थियो । त्यो पन्नामा लेखिएको थियो, “झापालीहरुका नक्सलाईट गुटका निम्न लिखित व्यक्तिहरु केन्द्रिय सदस्य भएको र निम्न स्थानमा आवत जावत गर्ने बुझिएकोले नीजहरुलाई तुरन्त गिरप्mतार गर्नु” भनी लेखिएको थियो । जसमा कमरेड मदनभण्डारी, सिपि मैनाली, माधव नेपाल, जिवराज आश्रीत, अमृत बोहरा, ईस्वर पोखरेल सहितको नाम उल्लेख थियो । मैले सो फाईल र पत्र कमरेड माधव नेपाललाई हस्तान्तरण गरें । सुरक्षालाई ध्यानमा राखी त्यो पत्रमा उल्लेखित सेल्टरहरु प्रयोग नगर्ने सल्लाह गरी निर्देशन जारि गरियो र सवै सेल्टरहरु र पार्टीका नेताहरुलाई बचाईयो । पछि मैले रामकृष्ण कमरेडसंग त्यो कसरी हात लाग्यो भनेर सोधें । थानकोट चौकी अगाडी सानो कुर्चि र टुल राखी प्रहरी बसेका रहेछन् । गाडीबाट आवत जावत गर्ने मान्छेलाई उनीहरु निगरानी गर्दा रहेछन् । त्यस ैवखत दुवालजीका करीब तीन बर्षको बच्चाले खेल्दै गएर टेवलमा रहेको फाईल बोकेर आएको रहेछ । पार्टीको, नेता तथा सेल्टरहरुको सुरक्षाको निम्ति त्यो अवोध बालकबाट पनि ठूलो सहयोग भएको थियो ।
यस्तै प्रशंग कमरेड जीवराज आश्रीतसंग पनि रहेकोछ । २०३३ साल चैत्र १२ गते ललितपुरको नख्खुजेल तोडेर पन्ध्रजना कमरेडहरु जेलबाट उम्किनु भयो । त्यसमध्ये कमरेड प्रदिप नेपाल सुरक्षित तवरले बनारस पुग्नु भयो । कमरेड जीवराज आश्रीत सहितका कमरेडहरुले पुष्पलाल समूहबाट विद्रोह गरी मुक्तिमोर्चा समूह बनाउनु भएको थियो । बनारसमा प्रदिप कमरेड र जीवराज आश्रीत बिच सम्पर्क भएपछि २०३४ सालको बैशाख तिर सम्पर्क सूत्रको आधारमा कमरेड जीवराज आश्रीत नरदेवी स्थित हामी बसेको डेरामा आई पुग्नु भयो । कमरेड राजेन्द्र पाण्डेले वहाँलाई कमरेड सिपि मैनाली ९जय० संग भेटाउने व्यवस्था गर्नु भयो । केहि चरणको छलफल पछि २०३४ भाद्रमा जीवराज आश्रीतको नेतृत्वमा मुक्तिमोर्चा समूह कोअर्डिनेशन कमिटी ९कोके० मा सामेल भयो । मुक्तिमोर्चाको तर्फबाट कोकेमा सामेल हुनेमा कमरेड मदन भण्डारी, मोदनाथ प्रश्रीत र बामदेव गौतम लगायतका कमरेडहरु हुनु हुन्थ्यो । कमरेड जीवराज आश्रीतसंग धेरै लामो काल सम्म राजनीतिक सहकार्य मात्र होईन एउटै सेल्टरमा बर्षौ संगै बसी एउटै भान्सामा खाना खाने गर्दथ्यौं । दुःखको कुरा कमरेड मदन भण्डारी र जीवराज आश्रीत रहस्यमय दुर्घटनामा परी सहादत हुनु भयो । आज वहाँहरुको २८ औं स्मृति दिवस हो । दिवंगत कमरेडहरु प्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।
सुरेन्द्र पाण्डे स्थायी समिति सदस्य नेकपा (एमाले)