-देशको सडक संजाल तथा बस्ती गाउँ जिल्लाको साथै सहरहरुको बीच भागमा पर्ने एउटा सुन्दर उपमहानगरपालीका हेटौडा । हेटौडाबाट देशको संघीय राजधानी जोड्ने अनेकन सडक संजालहरु छन् । पुरानो सडक राष्ट्रिय राजमार्ग त्रिभुवन राजपथले हेटौडालाई २०१६ सालबाटै जोड्ने काम गरेको थियो । हाल यस उपमहानगरपालीकाबाट काठमाण्डौ जोड्ने सडकहरु कान्ती लोकपथ, गणेशमान सिंह पथ, सिस्नेरी काठमाण्डौ, फाखेल–काठमाण्डौ, मातातीर्थ सडक, चित्लाङ–चन्द्रागिरी जस्ता सडक भएको शहर हो । भनिन्छ, सडक संजालमा जोडेपछि शहरको द्रुत गतीमा विकास हुन्छ भनेर । त्यसो भन्दैगर्दा हामी यस नगरको विकासको गतीबारे के महशुस गरीरहेको छौँ ? त्यसको कुनै छनक देखिन्छ त ? यसबारे मेरो केही धारणा आज यहाँ राख्न खोजिरहेको छु ।
यस शहरको थप विशेषता संघीय र प्रान्तीय प्रणाली लागु भएपछि थप थपीएको छ । तर पनी यसले देशको संघीय राजधानीको पनी राजधानीको पगरी भीरेर अन्य प्रदेशको भन्दा गति लिन सकेको छैन । यस प्रदेशको राजधानी बोकेको हेटौडा उपमहानगरपालीका बिशेष के योजनाहरु बनाई अघि वढी रहेको छ ? हेटौडाको विकास र सङ्गै जोडिएको जिल्लाको महानगरपालीकाहरुमा विकासको गती र पहुँच कती फरक छ ? यो बडो ठुलो प्रश्न बनेको छ । यस उपमहानगरपालिकाको बासिन्दाको र बाहिरबाट हेर्ने विकास तथा निकासहरुलाई मापन गर्ने समुदाय तथा विशेष व्यक्तीहरुको नजरमा सुपारीटारको सीमाना सकिएपछि काठमाण्डौबाट हेटौडा प्रवेश गर्दा सामरी नदीको सिमानाबाट शरु हुने यस नगरको प्राकृतिक बनोटत आफैमा अती सुन्दर छ । पारीपट्टी रहेको लालझाडी त्यसैको काख मुनीबाट बगीरहेको राप्ती खोला र त्यस नदीको सुन्दर सफा कलकल पानी बोक्दै १.नम्बर वडा हुदै राप्ती को पुलमा आएर १० न.वडा हुदै ११ न.वडाको छेउबाट पारी पट्टी घेरेको १२ न.वडा, ३ न.वडा र १३ न.वडा को वरपर बगेको खोला र त्यस खोलाको किनारा गर्न सक्ने विकास त्यसबाट शहरलाई न्याय गर्दै पर्यटक तथा आगन्तुक लोभ्याउन सक्ने तर्फ न कतै चर्चा देखिन्छ न नगरले मास्टर प्लान नै बनाएको पाईन्छ ।
जे सुकै भनेपनी पंचायती कालमा प्लानीङ्ग गरेको नगर विकास आज हाम्रो शान भएको छ । २०७८ को जनगणना अनुसार यस उपमहानगरपालीकाको कुल जनसंख्या १ लाख ९३ हजार ५ सय ७६ रहेको छ । यस नगर भित्र ४६ हजार ५ सय ६६ घरधुरी छ । यस नगरले ऐतिहासिक महत्व बोकेको कुरा महाभारत मा पाँच पाण्डव वनवासको बेला यहा आएको भन्ने किंवदन्ती छ । त्यसबेला हेडम्बा राक्षससंग युद्ध भएको र त्यही नाम नै पछि अपभ्रंश भएर हेटौडा बनेको भन्ने पाईन्छ । यसै सन्दर्भमा देवास राईहरु द्धारा पुजा गरीने भुटनदेवी मन्दिर यस नगरपालीकाको पहिचान हो । हामीले नगरलाई बोकेको देवीको लागी केही गरेका छौ ? यस नगरको चारैतिर संयोग बस हो या यस क्षेत्रको नै आवश्यकता हो थाहा छैन, तराईबाट यस नगर प्रवेश गर्ने द्वारको रुपमा रहेको चुरीयामाई मन्दिरको दर्शन गर्दै हेटौडाको नगरी प्रवेश गर्न पाईन्छ । भने हेटौडा बजारको उत्तर पुर्वपट्टी रहेको मनकामना माई, पश्चिमतिरको डाँडामा अवस्थीत पाथीभरामाई र तल बेसीँमा रहेको ऐतिहासिक भुटनदेवीको थलोको रुपमा परीचित शहर यसको बजारीकरण र विकास सङ्ग जोड्न नसकेको कारण आगन्तुक, पर्यटक लगानीकर्ताबाट परै रहनु परेको अवस्था छ ।
यस शहरको विकासमा हाम्रो सोच हाम्रो दृष्ट्री कती सम्म पुगेको छ ? यस हेटौडालाई सरोकार वालाहरुले कती न्याय गरेका छन ? त्यो त ट्डकारो रुपमा देखीएको छ । यस नगरको सिमाना पुर्वमा वकैया गाँउपालिका, पश्चिममा मनहरी गाँउपालिका, उत्तरमा मकवानपुर गढी, भिमफेदी र कैलाश गाँउपालिका जोडिएको छ भने दक्षिणमा पर्सा जिल्ला र बारा जिल्लाको सिमाना जोडिएको छ । एउटा त भारतको नजीक रहेको यस नगरीले तराईको गर्मीको कारणले आउने आगन्तुक पर्यटक र यसद्धारा श्रृजना गर्न सक्ने रोजगारी र त्यसैको माध्यमबाट यस क्षेत्रको लगानी भित्रिन सक्ने योजना त कता हो कता यहाँ अमेरीका (यु.एस. ए. को सहयोगमा बनेको देशकै सबैभन्दा ठुलो औधोगीक क्षेत्रको जर्गेना गर्न समेत चासो र मेसो पनी देखीएको छैन । यो एउटा मध्य वाणिज्य केन्द्रको साथै यातायातको मुल स्थान नै हो । हामीले यसबारे कुनै ध्यान दिन सकेनौँ । न त यसबाट कुनै लाभ नै लिन सक्यौँ । उपमहानगरको यो उदासिनताले हामी हेटौँडालाई औद्योगिक नगरबाट विस्तारै पलायन बनाउन त खोज्दैछैनौ यो गम्भिर विषय बन्न पुगेको छ ।
यसको लागी लामो समय देखी हामी अटोल्याण्ड भन्दा गरेको सुनेका छौ । न त यो शहरमा कुनै सभागृह छ, न त प्रर्दशनी स्थल छ । यसो नहुदा यहाँ लगानी आउने त कुरै भएन । एकपल्ट हामीले यसको गुरुयोजना बारे छलफल गर्न जरुरी छ । यती बेला त हेटौडाले चक्रपथहरुलाई जोडी सक्नुपर्ने हो । यस क्षेत्रमा हामीले हाम्रो स्थानीयलाई अरु नगर जिल्लाहरुमा दिइने सेवा जस्तै स्वास्थ्य, शिक्षा लगायतका विषयमा पनी प्रवेश गरेको देखीदैन । बाग्मती प्रदेशको राजधानी हुन नपुग विषयहरु हामीले कहिले सम्म पुरा गर्ने भन्नेवारे पनी हामी लागी परेको देख्दैनौ । त्यसो त हामीले भन्ने गरेको यस क्षेत्रको धार्मिक क्षेत्रहरुको विकास पनी नीजी तर्फबाट मात्रै अघि बढेको पाईन्छ । जसलाई हामीले हाम्रो वेवसाइट त राख्दछौ तर वार्षीक बजेटमा भने स्थान पाउदैन । यसरी उपमहानगरपालीकाबाट महानगरको कल्पना कसरी गर्ने भन्ने बारे गहन चिन्तन गर्न जरुरी छ ।
आजसम्म हाम्रो नगर संचालनको लागी देखापरेका व्यक्तीहरु आफ्नो दल गत सोच भन्दा माथि उठ्न नसक्नु पनी मुख्य कारण हो भन्दा फरक नपर्ला । अन्तराष्ट्रिय लगानी ल्याउने रोजगारी विकास गर्न भन्दा यहि भएको श्रोत र साधन लाई खास गरी वगरको गिट्टी र बालुवा भन्दा माथि उठ्न जरुरी देखीन्छ कार्यकर्ता पोस्ने स्थलको रुपमा मात्रै सीमीत हुदा हाम्रो हेटौडा नगरपालीका उमो होइन उधो गतीतिर लम्की रहेको कुराहरु यहाका जनता माझ दिनकै जस्तो छलफल भएकै पाईन्छ । यस नगरको विकास र यस अघि सार्न पर्ने विषयमा निरन्तर खोज सामाग्री सहित यहाँहरु माझ आइरहन्छु । यहाँहरुको अमुल्य सुझावले थप क्षेत्रहरुको पहिचान गरी यस उपमहानगरपालीकालाई देशकै एक सुन्दर, सफा र रमणीय शहरको रुपमा पस्कन सक्नेबारे सबैको हातेमालो को खाँचो छ भन्ने मेरो ठम्याई छ ।
अरुणराज सुमार्गी युवा व्यवसायी,स्वतन्त्र विचारक तथा सामाजीक अभियन्ता हुन् ।