यतिबेला देशमा असन्तुष्टिको कालो बादल मडारिरहेको छ । यसलाई कतिले निराशाको भनेर पनि अथ्र्याइरहेका छन् । तर यो पंङतीकार देशमा निराशा छ भनेर भन्दैन् । केही समय अघिमात्रै मध्ये पश्चिमका केही जिल्ला र बागमतीका केही जिल्लाहरुको भ्रमण गरेर आएपछि पङतीकारले देशमा केही भएन भन्नेहरुका लागि पहिले देश घुमेर आउ भन्न आग्रह गर्ने गरेको छ । काठमाडौँलाई देश देख्ने र सिंहदरबारतिर मात्रै ध्यान दिनेहरुका लागि देशमा निराशा छ, तर काठमाडौँबाहिर निराशा त फिटिक्कै छैन् तर असन्तुष्टि चाँही बृहत नै छ । भर्खरैमात्रै स्याङजाका वालिङ पुगेपछि मैले देशका सबै पालिका प्रमुख र सरकारको टाउको दुखाई बनेको फोहोरलाई कसरी मोहोर बनाउन सकिन्छ र फोहोर फ्याँक्ने ठाँउ डम्पिङ साइडलाई कसरी बगैचाँमा रुपान्तरण गर्न सकिन्छ भनेर प्रत्यक्ष अवलोकन गरेर आएको थिए । वालिङ हेर्न जाँदा बजारमा त फोहोर पाउनुहुन्न नै वालिङभित्र पर्ने सिद्धार्थ राजमार्गका केही भाग पनि चिटिक्क देख्न पाउनुहुनेछ । यहाँ पुर्व जनप्रतिनिधि र वर्तमान जनप्रतिनिधिको सक्रियतामा सुन्दर वालिङको विकास र चेतना बढ्दो क्रममा छ । अहिले वालिङमा जनताले फोहोर नगरपालिकालाई हैन् , आफ्नो घरभित्रको नकुहिने फोहोर वर्गिकरण गरेर आफै बेच्न थालेका छन् । कुहिने फोहोर मल बनाउन थालेका छन् । केही दिन अगाडी यो पंङतीकार नुवाकोटको अलि उचाइमा रहेको वेलकोटगढी नगरपालिकाको रुपिङमा पुगेको थियो । गाँउमा एकजना ३२ कटेकी गृहणीलाई भ्याइनभ्याई थियो । उनलाई सिंहदरबार र काठमाडौँतिर ध्यान दिने फुर्सद नै छैन् । बिहानदेखि उनी व्यस्त हुन्छिन् । केहीदिन अघिमात्रै करिब १ लाख बराबरको खसीबाख्रा बेचेकी उनी दैनिक ९ लिटर दुध डेरीमा बेच्छिन् । दिनको करिब १ हजार रुपैया आम्दानी गर्छिन् । गाँउमा अहिले डेरी टन्नै छ । डेरी सञ्चालकहरुको प्रतिस्पर्धा छ । यता गाँउको डेरीमा सबैभन्दा बढी दुध कसले ल्याउने भन्ने प्रतिस्पर्धा पनि चल्न सुरु गरेको छ । केही समयअघि यहाँ न त कुनै डेरी नै थियो । न त गाँउमा सहज यातायातको पहुँच नै । उनको व्यस्तता बाख्रा,भैसी,खेतीपातीमा छ । आफ्नै धान उब्जनीले उनको परिवार राम्रै चलेको छ । सिप सिकेका उनका श्रीमान भने देशमा काम कम पाइने हो की भन्ने चिन्तामा भेटिन्छन् तर निराश छैनन् । मध्ये पश्चिमबाट देशको मध्ये भागकै एक विकाशोन्मुख गाँउमा पुग्दै गर्दा लाग्यो गरेर खानेलाई देशमा केही छैन् होइन्, पुगेको छैन् भन्ने मनमा चाँही अवश्य छ । गाँउमा बाटो पुग्यो, स्वास्थ्यचौकीमा गत बैशाखदेखि अहिलेसम्म १३ जनाले सुत्केरी गराइसकेका छन् । केही समयअघि निजी स्कुलमा पढेको छोरालाई गाँउकै सरकारी स्कुलमा हालेकी छिन् । किन भनेर यो पङतीकारले सोध्दै गर्दा उनले भनिन्–गाँउको यो लक्ष्मीश्वरी स्कुल यहाँको राम्रो सरकारी स्कुल हो । नतिजा पनि राम्रो छ ।
मैले यो दुई उदाहरण दिँदै गर्दा काठमाडौँमा भर्खरैमात्र प्रहरीले निराशाको खेती गर्दै अराजकताको राँको बालेर दुई नागरिकको निहत्था ज्यान जानेगरी भएको बेलगाम प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईलाई प्रहरीले प्लेन चढाएर ल्याउदै थियो । मैले यो लेखको सुरुमै भनेको छु, देशमा निराशा त रत्तिभर पनि छैन् तर असन्तुष्टि भने पक्कै छ । असन्तुष्टिको ज्वारभाटामा नागरिकले अहिलेको राजनितिक नेतृत्वलाई प्रमुख दुश्मन मानेका छन् । न की व्यवस्थालाई । नचाहेर पनि वास्तविकता भन्नपर्ने हुन्छ मुख्यगरी केपी शर्मा ओली,प्रचण्ड,शेरबहादुर देउवा र माधव नेपालको निरन्तर नेतृत्व आम नागरिकलाई मनै परेकै छैन् । नागरिकले उनिहरुको हिजोको योगदान,आन्दोलन र संघर्षलाई अवमुल्यन गरेका पनि होइनन् । मात्र उनिहरुले भन्न खोजेका हुन्–”भयो १ अब यो देशमा तिमिले नेतृत्व गरेर जति गर्यौ गर्यौ, तिमले सक्ने यत्ति हो,अब विश्राम गर । यसैमा तिम्रो भलो हुन्छ ।” केहीदिन अघि मात्रै मैले रुपन्देहीमा एक स्थानीय युवा नेतालाई भेट्दै गर्दा उनी भन्दै थिए–’राजा ल्याएर पनि केही हुँदैन् तर मुखको तितो पोख्न राजा चाहियो भन्न पर्ने अवस्था आयो ।’ उनको गुनासो चाँही देशमा सिस्टम बसाल्न नसकेकोमा थियो । हुनपनि यो देशमा कहिल्यै सिस्टम बस्न सकेन् । न त देशको आर्थिक नितिमा सबै राजनितिक दल र सरोकारवाला एकठाँउमा उभिन सक्छन् । न त विदेश नितिमा उनिहरुको साझा धारणा बन्न सक्छ । न त नागरिकको सामाजिक सुरक्षामा उनिहरु एक ठाँउमा उभिन सक्छन् । हो त्यही कारण उनिहरुको तिव्र असन्तुष्टि छ । तर निराशाचाँही होइन् । दिनभरी काम गरेर आफ्नो व्यवहार चलाउने मेसोमा चिया पसलमा आएर तितो पोख्नेबाहेक फेरि उनिहरुले गर्न पनि के नै सक्छन् र ? नागरिकको शक्ति निर्वाचनमा भोट दिएर हराउने र जिताउने सम्पुर्ण अधिकार त फेरि बाँकी नै छ ।
देशमा नागरिकको मनस्थिती फेरिएको महसुस यो पङतीकारले गरेको छ । सबैलाई थाहा छ की कोही आउने र नागरिकलाई मुर्गा बनाउने खेल अब हुन सक्दैन् । पछिल्लो समय झन दुर्गा प्रसाईको आह्वानमा बेलगाम भएको अराजक प्रदर्शनमा दुईजनाको हत्या भएपछि जसरी प्रसाईले आफु भागेको छैन् भनेर पटक–पटक भनिरहे र भारतमा लुकेर बसेको क्रममा पक्राउ परे । यसले त नागरिकलाई तिनपल्ट सोच्न बाध्य बनाइदिएको छ । दुईजनाको हत्या मात्रै होइन्,दर्जनौ घाइते छन् । उनिहरुलाई उक्साउने दुर्गा प्रसाई भारत भागेर सुरक्षित बन्दै गर्दा अन्तिममा परिवारलाई नै पिडा हुने रहेछ भन्ने अरुले नबुझेपनि प्रत्यक्ष भोगेका पिडित परिवारले बुझेको छ । नेतृत्व त भागेर पनि ज्यान जोगाउने रहेछ भन्ने आम नागरिकमा परेको छ । दुर्गा प्रसाईले असन्तुष्टिको स्वरलाई समेट्न सुरुमा बैँकको ऋण नै तिर्न पर्दैन, लघुबित्तको ऋण नै तिर्न पर्दैन भनेर सोझा नागरिकलाई प्रयोग गरे । अन्तिममा राजाको माग गरे । हिजो तिनै नागरिकको शोषण गरेर दरबारमा मस्ती जिन्दगी बिताएका राजाको वकालत गरेपछि प्रसाईको आन्दोलन यतिखेर भने तुहिएको छ । उनि फौजदारीसहित ज्यान मुद्धामा पक्राउ परेका छन् ।
दुर्गा प्रसाईको कुरापछि फेरी प्रसंगमै आऊ । गणतन्त्र स्थापनापछि गाँउगाँउमा सरकार पुगेको छ । दुरदराजमा सडकको पहुँच पुगेको छ । स्वास्थ्य संस्थाहरुको सुविधायुक्त पहुँच विस्तार भैरहेको छ । सञ्चारले त फड्को नै मारेको छ । शिक्षालाई सर्वसुलभ र गुणस्तर बनाउन सरोकारवाला सक्रिय छन् । देशका विभिन्न ठाँउमा प्राविधिक शिक्षाको विकास भैरहेको छ । देशका ठुला राजमार्ग पृथ्वि राजमार्ग,महेन्द्र राजमार्ग,सिद्धार्थ राजमार्ग,कोदारी राजमार्गको विस्तार भैरहेको छ । १ घण्टामै काठमाडौँबाट निजगढ पुग्ने फास्ट ट्रयाकको निर्माणले गति लिएको छ । मध्येपहाडी लोकमार्गको विस्तार भैरहेको छ । सबैभन्दा ठुलो कुरा त गणतन्त्रपछि स्थानीय तहमा बजेट पुगेको छ । ५ लाखपनि देख्न नपाउने स्थानीय निकायले अहिले करोडको विकास वडामा ल्याउन सक्षम भएका छन् । देश सुरुङ युगमा प्रवेश गरिसकेको छ । नागढुंगा–सिस्नेखोला सुरुङ सञ्चालन हुने क्रममा छ भने पाल्पाको सिद्धबाबा सुरुङको कामले तिव्रता पाएको छ । के यो गणतन्त्रको उपलब्धी होइन ? टुकीको सहारामा बिताएका हामी अहिले उज्यालो संसारमा रमाउने मात्रै होइन, बढी भएको बिजुली भारतलाई बिक्रि गर्ने हैसियतमा पुगेका छौँ । देशले नयाँ बाटो समाउने तर्खरमा छ । पर्यटन आगमन विस्तारै बढ्दै गएको छ । भोैतिक पुर्वाधारको विकाससंगै काठमाडौँ केन्द्रित बसाई घट्दै गएको छ । गाँउलाई विकासको केन्द्र बनाउन नागरिक आतुर छन् । काठमाडौँबाट ४ घण्टामै पोखरा पुग्ने दिन टाढा छैन् । जवकी नागरिकले नौविसेबाट कलंकी आउन नै ८ घण्टा लामो जाममा दिनहुँ बिताउन बाध्य थिए । कर्णाली र मधेसमा विकासले गति लिदैछ । कतिपयलाई लाग्न सक्छ, यो त समयक्रम अनुसार भैहाल्छ नी । त्यसोभए अमेरिकामा भव्य विकास भैरहदा, सन् १८२५ मै बेलायतमा रेल कुद्धै गर्दा २ सय ३७ बर्ष शासन गरेका राजाहरुले यो देश किन बनाएनन त ? उनिहरुलाई देश बनाउनु नै थिएन । जनताले विष्णु अवतार मानेकै थिए । राजगद्धीबाट हट्न पर्ने थिएन् । मन नपरेपछि टपक्क टिपेर प्रधानमन्त्री,मन्त्री बनाउन पाइहालिन्थ्यो । त्यसैले राजतन्त्रमाथी थुप्रै प्रश्नहरु छन् । राजाहरुमाथी थुप्रै प्रश्नहरु छन् । उनिहरुले देशलाई अन्धकारमा राखेकै हो । नागरिकलाई शोषण गरेकै हो । भोगेका र अध्ययन गरेकाले राजतन्त्रको पक्षमा वकालत नै गर्दैनन् ।
मुलुक संघीय गणतन्त्रमा आएपछि १,५०,७५२ जना जनप्रतिनिधिहरु घटेका छन् । राजतन्त्रात्मक व्यवस्थामा स्थानीय निकायका जनप्रतिनिधिको तलव थिएन, संघीयतामा पनि तलव सुविधा न्युन थियो । यद्यपि, केन्द्र, प्रदेश र स्थानीय तह आफैमा सरकार भएका कारण प्रशासनिक क्षेत्रमा केही रकम खर्च हुने गरेको छ । संघीयतापछि कर्मचारीको संख्या पनि खास वृद्धि भएको छैन । तसर्थ, ८० प्रतिशत जनप्रतिनिधि घटाउने संघीय प्रणालीको निपरेक्ष आलोचना गर्नु व्यवस्थाप्रतिको पूर्वाग्रह मात्र हुन जान्छ । कतिपयले संघियतालाई राज्यको बोझको रुपमा लिएको देखिन्छ तर खासमा आम नागरिकले पाएको सुविधा र विकेन्द्रिकृत आर्थिक प्रणालीको फाइदा हेर्न र यसको प्रचार गर्न भने कन्जुस्याई गर्छन् । यथार्थमा नागरिकलाई बुझाउने नेतृत्व पनि कमै छन् । किनकी एकले अर्कालाई दोष लगाएर सबै बेठिक भन्नेमा पुर्याउने पनि अहिलेको राजनितिक नेतृत्व नै हो ।
देशको ढुकुटीमा होस् वा नहोस्, १० बर्षमै देशलाई सिंगापुर बनाउछु भनेर बोलपछि सिंगापुर जस्तै नेपालको अवस्था देख्न नपाएपछि नागरिकले असन्तुष्टि तिव्र रुपमा देखाएका हुन् । दलहरु एकले अर्कालाई हिलो छ्यापाछ्याप गर्ने तर नागरिकको मर्का नबुझ्ने नेतृत्वका कारण नागरिक बेचैन भएका हुन् । उनिहरु निराश भएर विदेश गएका होइनन् । देशमा काम नपाएर विदेश गएका हुन् । सरकारले काम र दाम दिएपछि वा सरकारले काम पाउने वातावरण बनाएपछि नागरिक देशमै खुसी हुनेछन् । देशमा अर्को एउटा समस्या पनि छ, त्यो हो कुनै पनि विकासका योजनामा दलहरु नै राजनिति गर्ने । यो वा त्यो बहानामा एकले अर्कालाई भिडाउने र उद्योग, व्यवसाय गर्न नदिने । पछिल्लो उदाहरण हो, पाथिभरा केवलकार । त्यहाँ केवलकार बनेपछि नागरिकले नै रोजगारी पाउने हो, राज्यले नै राजस्व पाउने हो । तर कसैको स्वार्थमा काम रोक्ने,आन्दोलन मच्चाउने तरिकाले यो देश बन्दैन् । थप असन्तुष्टि मात्रै बढ्छ । हामी जहाँ विकासका काम अघि सार्छौ, जहाँ योजना ल्याउछौँ त्यहाँ संगै राजनिति पनि घुसाउछौँ । एकले अर्कालाई भिडाएर व्यक्तिगत स्वार्थ पुर्ति गर्छौ । यसको निराकरण हुन आवश्यक छ । गर्नसक्ने बोल्ने र बोलेको गर्ने हो भने देशमा नेता र नेतृत्वप्रति आम धारणा बदलिन्थ्यो ।
अन्तमा पछिल्लो समय आम नागरिकले स्थिर सरकारको परिकल्पना गर्दै अहिलेको अस्थिरतामा तिव्र असन्तुष्टि पोखिरहेका छन् । उनिहरु कम्तीमा पाँच बर्ष एउटै मान्छे देशको कार्यकारी प्रमुख होस् र त्यो आफै चुन्न पाउनपर्छ भन्नेमा छन् । देशमा बढ्दो भ्रष्टाचारले नागरिक उद्धेलित छन् । पटक–पटक नेतृत्व गर्ने तर काम देखाउन नसकेकाहरु नै फेरि नेतृत्वमा आउन खोज्दा नागरिकको कन्पारो तातेको छ । संवेदनशिल विषयमा नेतृत्वकै अहंकार हुँदा नागरिकको मन बटारिएको छ । सम्पन्न हुने मिती तोकेर सुरु गरेको योजना बर्षौ नबन्दा नागरिक झोक्किएका छन् । बर्षभरी एक रुपैयाँको कारोबार नभएको व्यवसायिक फर्म/कम्पनीको पनि हजारौँ कर तिर्न पर्ने गएगुज्रेको नितिले आँखा रातो भएको छ । तरपनि देश सुन्दर र रमणिय छ । मन शान्त छ । चिया पसल,सामाजिक सञ्जाल र भेटघाटमा असन्तुष्टि पोखेपनि नागरिक निराश अझै भैसकेका छैनन् । असन्तुष्टिको चाङ छ । आशा जिवित छ ।