‘नेपाली पत्रकारितामा एकले बिराउँछ, साखा पिराउँछ भन्ने परिस्थिति आयो’ : अधिकारी (अन्तवार्ता)

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७५ जेष्ठ २७, आईतबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

पछिल्लो समय पत्रकारिता क्षेत्रबाटै सामाजिक सञ्जालको दुरुपयोग बढ्न थालेको छ । गएको शनिबार मात्रै गृह जिल्ला पुगेर फर्किएका उपचारत डा. उपेन्द्र देवकोटाका बारेमा केही अघि सामाजिक सञ्जालमार्फत् र केही अनलाइन मिडियाहरुले उनको निधन भएको गलत समाचार सम्प्रेषण गरे । त्योभन्दा अघिको उदाहरण लिने हो भने सुर्खेतबाट हुम्लाका लागि उडेको विमान दुर्घटनाग्रस्त हुँदा हतारको र जिम्मेवारीभन्दा बाहिर बसेर गरिएको पत्रकारिता र सामाजिक सञ्जालमा पत्रकारहरुले खेलेको भूमिकाले अहिले जुन किसिमको अभ्यास भइरहेको छ, त्यसमा प्रश्न चिह्न खडा भएको छ ।

पत्रकारितामा यो प्रकारको अभ्यासले असल पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सोझै आरोप पनि लाग्ने गरेको छ । पत्रकारले जथाभावी लेख्छ, गलत सूचना दिन्छ भन्ने खालका विचार सम्प्रेषण हुन थाल्यो । हाम्रो पत्रकारिता कता जाँदैछ, सोसल मिडियाले हामीलाई कहाँ पुर्याउदै छ ? यसै विषयमा केन्द्रित रहेर हामीले पत्रकार ध्रुवहरी अधिकारीसँग कुराकानी गरेका छौँ ।

पछिल्लो समय पत्रकारहरुले प्रयोग गरेको सामाजिक सञ्जालले सकरात्मक सन्देश दिएको छ ?

नकरात्मक बढी देखिन लागेको छ । विज्ञान प्रविधिले उपलब्ध गराएको टुल्सलाई सदुपयोग गर्ने कि दुरुपयोग आफैमा निर्भर रहन्छ । जस्तो पहिला मोबाइलको प्रयोग हुँदैन थियो, आयो सजिलो त भयो । चोरी, डाकैत गर्नेहरुले आफ्नो काम कोअर्डिनेट गर्नका लागि पनि प्रयोग गरे, त्यो दुरुपयोग भयो । सामाजिक सञ्जाल फेसबुक, टुर्इटर आयो यसले धेरै सजिलो बनाएको छ, एउटा सञ्चारको माध्यम खुलेको छ, मानिसलाई काममा सहज भएको छ । तर, दुरुपयोग धेरै हुन थाल्यो । व्यक्ति नै पिच्छे पत्रकार हुनेजस्तो भयो । एकता आएको थियो नि सिटिजन जर्नलिजम भनेर । त्यससम्बन्ध समाचार बनाउने हो भने त्यससम्बन्धी अंग पुग्नु पर्छ, त्यसको श्रोत खुलाउनुपर्छ । त्यसको सिरान पुच्छार सबै मिलाउनुपर्छ । आधिकारिक भएपछि मात्र समाचार हुन्छ ।
मैले एउटा ठाउँमा हल्ला सुने, अथवा केही दृश्य देखे, त्यसको सिरान पुच्छर केही थाहा छैन, मैले फुत्त सामाजिक सञ्जालमा हाल्दिएँ, त्यही खबर भइगयो, त्यही भाइरल भइगो, त्यत्तै मान्छे कुदे, बहकिए । गलत सूचनाको प्रवाह धेरै हुन थाल्यो । उपलब्ध भएको प्रविधि जो हो, त्यसको दुरुपयोग बढी भयो । सतही ज्ञान मात्र भएका मान्छेहरु रमाइलो पक्षमा देखेर सामाजिक सञ्जालको प्रयोग गर्ने, बहकिने मान्छेहरुको संख्या बढन थाल्यो, चिन्ताको विषय यो हो ।

पत्रकारले आधारभूत पत्रकारिताको मर्म नबुझेको हो ?

सामाजिक सञ्जालमा प्रवेश गरेर त्यसको उपयोग गर्नेहरु सबैले बुझेका हुन्छन भन्ने गाह्रो हुन्छ । हातमा मोबाइल छ, जे सुनेको छ, त्यो यसै हाल्दियों भनेका हुन्छन् । तिनीहरुलाई ज्ञान हुन्छ भन्ने कुरो होइन । त्यसो गर्दा अप्ठ्यारो पर्न सक्छ, समाजमा भ्रम पैदा हुनसक्छ । कतिपय परिस्थितिमा कुटाकुट हुन्छसक्छ, मारामार भएको अवस्था बेलाबेलामा हामी पढछौं । अनलाइन भइरहेको मूलधारको मिडियाको संस्करण हो । वेभ एडिसन । कतिले अनलाइन मात्र चलाएका छन् । यो जिम्मेवार पत्रकारिताअन्तर्गत पर्छ । दर्ता, अनुमति लिएको हुन्छ, त्यसमा पत्रकारिताको मान्यता, मर्यादा र आचारसंहिता पालना गरेको हुन्छ । कुनै सूचना आयो भने त्यसको पुष्टि, पुर्नपुष्टि गरेर ढुक्क भएपछि मात्रै त्यसलाई समाचारको रुपमा प्रस्तुत गर्ने हो । तर यहाँ पहिला हुने होड चलेजस्तो देखिन्छ । गलत सूचना दिएर पहिलो हुनुको अर्थ छैन । कतिपय अनलाइनले यी कुरामा सन्तुलन मिलाउन सकेका छैनन् । अहिलेको प्रविधिले घरपिच्छ एउटा ल्यापटप राखेर अनलाइन सुरु गरे हुनेजस्तो भएको हुनाले यहाँ जे पनि भइरहेको छ । त्यसैले समाचारको उपभोक्ता जो हुनुहुन्छ, उहाँहरु सजक हुनुपर्ने अवस्था छ । ढुक्क हुने अवस्था छैन । हामीसँग माध्यम धेरै भए विश्वसनीयता कम भयो ।

पत्रकार र आम व्यक्तिबीच भिन्नता हुन्छ ?

पक्कै हुन्छ, आम मान्छे पाठक, दर्शक, श्रोता र समाचारको उपभोक्ता मात्रै हो । कुनै पनि कुरा सञ्चारमाध्यममा आएको कुरा सरर अध्ययन गर्ने बुझ्ने समाचार उपभोक्ता मात्र हो । त्यसले आफ्नो हिसाबले जानकारी मात्र लिए पुग्यो । त्यही प्रयोजनका लागि मात्र रेडियो, टिभी, अखवार हेरेको हुन्छ । तर पत्रकारिता पेशामा प्रवेश गरेको मान्छेले अंग पुगेपछि मात्र कुनै जानकारी समाचारको फरमेटमा आउँछ, अनि मात्रै मान्छेले विश्वसनीय रुपमा लिन्छन भन्ने छुटाउनुपर्छ । जस्तो आयो, त्यसलाई पिकअप गरेर पुनप्रशारण गर्नु हुँदैन । अनियमित काम गराईले समाजलाई नै प्रदूषित र दिग्भ्रमित गरिरहेको छ । अझ गर्ला भन्ने डर भइरहेको छ ।

पहिलो हुने होड नेपाली पत्रकारितामा छिरेको हो ?

कुरा त्यही हो । मैले गोरखापत्रदेखि लिएर रोयटर्स, बीबीसीलगायत धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गरें । रोयटर्सका सम्पादकहरुले स्पिड र एक्युरेसी (तथ्यपरक र बेग) हुनुपर्छ । छिटो पुग्ने भनेर गलत सुचना लिएर अगाडि पुग्नेको अर्थ हुँदैन । डा. उपेन्द्र देवकोटाका बारेमा अपुष्ट कुराहरु समाचारको रुपमा प्रस्तुत गरेर वातावरण नै प्रदूषित बनायो । विश्वसनीयता खोइ ?, अनलाइन भनेका पनि त्यस्तै हो, मिडिया भनेका पनि त्यस्तै हुने भनेर मान्छेले ओठ ल्याप्राउने परिस्थिति सिर्जना भएको छ । पत्रकारिता क्षेत्रमा लागेका जो व्यवसायिक, पेशागत मर्यादा, मान्यताका आधारमा काम गरेका छन् उनीहरुलाई समेत अप्ठ्यारो पार्ने परिस्थिति आयो । एकले बिराउँछ, साखा पिराउँछ भन्ने परिस्थिति आयो, जुन चिन्ताको विषय हो, यसलाई कसरी सम्बोधन गर्ने ?
पेशागत संगठन नेपाल पत्रकार महासंघ, पे्रस काउन्सिलजस्ता निकायहरु सक्रिय हुनुपर्ने हो । तर, त्यो नभएको अवस्था छ । त्यसमा ऐन कानुनका जटिलता होलान् । पार्टीको भागवण्डाका आधारमा नियुक्ति पाएका मनोनित भएका मान्छेहरुको बाहुल्य छ कि ? अथवा के छ ? यसै सिलसिलामा तानिएर आउँछन् ।

हाम्रा समाचारहरु चलचित्रबाट प्रभावित हुन थालेको हो ?

त्यही देखिन्छ । मेरो पनि अनुमान हो । ‘कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा’ भन्ने एउटा उखान हो । अर्थात् आधा गाग्रो छचल्किन्छ भनेजस्तै हो । कुनै सिनेमामा देख्यो, त्यसैको नक्कल गरेर मान्छेलाई झुक्याउन सकिन्छ कि भन्ने हो । मप्रति आकर्षित होस् । धेरै अनलाइनमा कति सेयर भयो, कति भ्युज भयो भनेर हेरिन्छ । कुन गुणस्तरको समाचार भयो, कस्ता मान्छेले सेयर गरे त्यो महत्वपूर्ण हुन्छ । हायर गरेर सेयर, लायक बढाइदिने परिस्थिति हुँदो रहेछ । त्यसलाई आधार मानेर म अगाडि छु, फलानोलाई उछिने भन्ने प्रवृत्ति छ, यो अस्वस्थ्य दौड हो । यो दौडले गर्दा पत्रकारिताको अवस्था बिटुलिएको छ । घुमिफेरि विश्वसनीयतामा गएर ठोकिन्छ । विश्वसनीय स्खलित भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस