असार २१,दाङ । अवरुद्ध रहेको दाङको टरिगाउँ विमानस्थललाई सञ्चालन गर्न यहाँका नागरिकले सरकारसँग माग गरेका छन् । विसं २०११ देखि उडान शुरु भएको जिल्लाकै एक मात्र पुरानो विमानस्थल पटकपटक बन्द हुँदा आफूहरु मर्कामा परेको भन्दै सञ्चालन गर्न नागरिकले सरकारसँग माग गरेका हुन् ।
पछिल्लो समयमा तीन महिना भइसक्यो विमान सेवा अवरुद्ध भएको तर सञ्चालन गर्न कसैले पहल गर्दैन तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का हरिप्रसाद अधिकारीले गुनासो गरे ।
उनले भने, “चुनावका बेलामा जिल्लाबाट उम्मेदवार भएका सबैले टरिगाउँ विमानस्थल नियमित गराउनेछु भन्दै ठूलाठूला भाषण गरे, घोषणापत्रमा आफ्ना एजेण्डा बनाए तर अहिले जितेर गइसकेपछि चुप लागेर बस्दा आफूहरुमाथि ठूलो धोका भएको छ”, उनले थपे, “सरकारले यहाँका नागरिकको भावनालाई ध्यान दिनुपर्छ ।”
त्यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नं ६ की चन्द्र राईले विमानस्थल नाम मात्रको रहेको बताए । उनले भने, “नियमित उडान नभर्ने भए राज्यको करोडौँ रकम खर्च गरेर धावनमार्ग किन बनाएको हो ।”
विमान सेवा अवरुद्ध भएपछि अहिले पुनःविमानस्थल गौचरणमा परिणत हुँदै आएको छ । अहिले स्थानीयले भेडा बाख्रा चराउन शुरु गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो पटक समिट एयरको जहाज हप्ताको दुईपटक उडान भर्ने गरी विमान कम्पनीसँग सम्झौता गरी हवाई सेवा शुरु गरेको थियो । तर सो विमान कम्पनीले शुरुको दुई हप्तासम्म हप्तामा दुईपटक उडान भ¥यो अनि हप्तामा एक पटक सेवा दिँदै आए पनि अहिले त्यो पनि बन्द भएको छ ।
तुलसीपुर उपमहानगरपालिकासँग भएको सहमतिविपरीत समिट एयरले छ हजार ७०० बाट भाडा वृद्धि गरी नौ हजार ८०० पु¥याएपछि विमान सेवा पुनः अवरुद्ध भएको हो । भाडादर एक्कासि वृद्धि र जहाज नियमित नहुँदा अहिले हवाई सेवा अनिश्चित भएको हो ।