आश्विन ४,धादिङ । शुक्रबार संविधान दिवस । धुनवेशी नगरपालिकामा संविधान दिवस मनाईरहेको अवस्था थियो । सोही नगरका वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण रेग्मी भने तनावमा देखिन्थे । घरी ईन्जिनियर नवराज श्रेष्ठसंग पुग्थे घरी कार्यक्रममा देखिन्थे । केही समय अघिमात्रै फेसबुकमा देखिएको एक तस्विरले उनलाई घच्घच्याईरहेको थियो ।
हुनपनि किन नहोस् राज्यले लाखौ खर्च गरेर वडाको गौरवको आयोजनाकै रुपमा रहेको चालिसे–वागवानी सडक खण्डमा नाली निर्माण भईरहेको छ । तर त्यहाँ नालीमा कमसल सामाग्री प्रयोग भईरहेको र नाली व्यवस्थित रुपले नबनिरहेको भन्ने किसिमको सन्देश सामाजिक सञ्जालमा फैलिएको थियो । उनले तत्काल एक्सन लिए र केही पत्रकार र ईन्जिनियरसहित उनि काम भईरहेको स्थान गए ।
निर्माण गरिरहेको नालीमा गुणस्तरिय सामाग्री प्रयोग नभएको भन्दै नाली नै वडा अध्यक्षले भत्काईदिए । धुनिवेशी नगरपालिकाको वडा नम्बर ८ स्थित निर्माणाधिन बागबानी–चालिसे सडक खण्डमा पक्की नालीमा प्रयोग भैरहेको बालुवामा माटो मिसाईएको, काममा लापरबाही गरेको भन्दै जनगुनासो आएपछि अध्यक्ष रेग्मीले निरिक्षण पछि केहि स्थान भत्काएर राम्रो काम गर्नका लागि निर्देशन दिएका हुन् ।
सुरुमा काम राम्रो देखिएपनि पछि ठेकेदार, सुपरभाईजर तथा काम गर्नेहरुबाटै नाला बनाउने काममा लापरबाही गरेको गुनासो आएपछि ईन्जिनियर नवराज श्रेष्ठ,पत्रकार सहितको टोलीबाट निरिक्षण गरी काम राम्रो गर्न निर्देशन दिएको वडा अध्यक्ष रेग्मीले अनलाईन केन्द्रलाई बताए । उनले काममा अझै लापरबाही गरे कारबाहीसहित रकम भुक्तानी रोक्का गरिने बताए ।
उक्त सडकको रेशमखेती बलुवाडाँडा खण्डमा कटिङ, ग्राभेल, नाला तथा हिमपाइप राख्ने भनि करिब १ करोड रुपैँयामा उमँग कन्ट्रक्सनले ठेक्का पाएको थियो । २ देखि साँढे २ किलोमिटर सडकमा काम सम्पन्न गर्नका लागि गत जेठ २ गते देखि काम सुरु भएको हो । बागबानी धार्के सडक करिब ६ किलोमिटर लामो रहेको छ ।
रेग्मी यो सडकलाई आफ्नो कार्यकालमा कालोपत्रै गरेरै छोड्ने अठोटमा छन । यो योजनासहित उनि अन्य विकास निर्माणका काममा पनि लागिरहेका छन । भन्छन–बजेट कम छ, काम धेरै छन । कामहरु भईरहेका छन तर जनताको अपेक्षाकृत हुन सकिरहेको छैन । तर प्रयत्नशिल भने छु । कामका सिलसिलामा केही कमजोरी हुन्छन तर सच्याउदै लैजानुपर्छ । यो मेरो निरन्तरको अभ्यास हुनेछ ।