आश्विन १९,भक्तपुर । सम्पूर्ण नेपाली आम जनमानसमा नेपालीहरुको महान चाड विजय दशमी (दशैं)को उल्लास भइरहेको समयमा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई भने विकास निर्माणका कार्यहरु गर्न दशैंले समेत छेकेन ।
सूर्यविनायक नगरपालिका चुनदेवीमा चुनदेवी सामाजिक सेवा समाजको आयोजनामा शनिवार सांसद बस्नेतले सामुदायीक भवनको शिलान्यास गरेका छन । दुई करोडको लागतमा निर्माण शुरु गरिएको उक्त भवनको सिलान्यास गर्दै सांसद बस्नेतले जनताको विकास प्रतिको चाहना पुरा गर्नु नै आफ्नो लागि सवैभन्दा ठूला चाड भएको उल्लेख गरे ।
जनता नै देशको सवभन्दा ठूलो शक्ति रहेको उल्लेख गर्दै भक्तपुरको आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्दै जनताको चाहना र आवश्यकतालाई पुरा गर्दै अघि बढ्ने बताउँदै उनले भक्तपुर अवका दिनमा देशकै उदाहरणीय जिल्लाको रुपमा परिणत हुने बताए ।
बोलेका कुरा र जनताको आवश्यकता अनुसार शतप्रतिशत पुरा गर्ने बताउँदै उनले भक्तपुरको कुनै पनि विकासमा आर्थिक समस्या नहुने दोहोर्याए । कुनै पनि राम्रो काममा आट गरेपछि सवैको साथ हुने भएकाले सफलतामा पुग्न सकिने बताउँदै उनले तीन तहको सरकारको साथमा स्थानीयवासीको साथ र सहयोग अपरिहार्य रहेको औल्याए ।
भक्तपुरको विकास चारैतिरबाट शुरु भइसकेको उल्लेख गर्दै उनले भक्तपुरमा सडक, ढल, खानेपानी, भौतिक संरचना, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रहरुको जनताको चाहना अनुसार तिव्र गतिका साथ निर्माण कार्य भइरहेको जानकारी गराउनुभयो । उनले विकासमा राजनीतिकरण गर्नु नहुने बताउँदै राजनीतिमा प्रतिस्पर्धा र विकासमा ऐक्यवद्धता अहिलेको लोकतान्त्रीक प्रणालीमा अपरिहार्यता रहेकोमा जोड दिए ।
रात भएकाले दिनको महत्व छ, दुःख भएकाले सुखको महत्व रहेको उल्लेख गर्दै उनले भने, ‘भक्तपुरका जनता तिव्र विकासको चाहना तथा आधुनिक सोचका साथ अघि बढेको बढेका छन् । कुनै पनि विकासका कार्यहरुमा मुद्धामामिला आएमा आफै बसेर मिलाउन सक्ने क्षमताभएका स्थानीयवासी तथा जनप्रतिनिधिहरु रहेका छन् । छलफल तथा वार्ताको माध्यमबाट जस्तोसुकै समस्याको समाधान गर्न सकिन्छ ।’
कार्यक्रममा प्रदेश नं. तीनका सांसद रजनी जोन्छे, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल तथा स्थानीय जनप्रतिनिधिहरुले भक्तपुर जिल्लाको विकास निर्माणका कार्यहरुमा आ–आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।