मंसिर ८,धादिङ । धादिङको थाक्रे गाँउपालिकाको महादेवबेशीबाट मकवानपुरको थाहा नगरपालिका जोड्ने आग्रा सम्मको सडक निरिक्षण गरिएको छ । प्रदेश तथा स्थानिय दुई पालिकाको संयुक्त बजेटमा निर्माण भईरहेको महादेवबेशी–निगाले–आग्रा सडकको निरिक्षणमा प्रदेश ३ का सांसद तथा पुर्व स्थानीय विकासमन्त्री राजेन्द्र प्रसाद पाण्डे,थाहानगर पालिकाका प्रमुख लबशेर विष्ट, सडकसंग सम्बन्धित वडा अध्यक्ष तथा राजनैतिक दलका प्रतिनिधिहरु रहेका थिए । अनुगमन टोलीसंग शनिबार स्थानीयले अन्तक्रिया समेत गरेका थिए । स्थानीयले सडकलाई सकेसम्म कालोपत्रे नै गर्न नसके यो बर्षदेखी १२ महिना नै चल्न सक्ने बनाउन नेता पाण्डेसंग आग्रह गरेका थिए ।
अनुगमनपछि थाहा न.पा वडा न. ८ को मोरियामा भएको कार्यक्रममा बोल्दै नेता पाण्डेले यसपाली प्रदेशबाट धादिङतर्फ ८५ लाख र मकवानपुरतर्फ ५० लाख छुट्याईएको बताए । उनले प्रदेश र दुई स्थानीय तहबाट गरी करिव ३ करोडको काम भईरहेकोले सडकमा काम भए–नभएको,गुणस्तयुक्त सामाग्री प्रयोग भए–नभएको र ठेकेदारले लापरवाही गरे–नगरेको विषयमा स्थानीय जनप्रतिनिधी र स्थानीय जनताले नै नियमित हेर्नुपर्नेमा जोड दिए ।
उनले जनताको स्वभाव र चेतना आफुलाई राम्रासंग थाहा भएको भन्दै आग्रा–महादेवबेशी सडक कालोपत्रे गरिदिए हुने भन्ने आशा जनतामा रहेको बताए । उनले जनताको आशालाई कुनैपनि हालतमा यथार्तमा बदल्ने बताउदै भने–’म जे बोल्छु,त्यो गरेरै छोड्छु,अरु केही भन्दिन,यो सडक कालोपत्रे गर्ने एउटै मात्रै एजेण्डा लिएर हिड्छु,अरु साना योजनाहरुमा तपाईहरुले स्थानीय सरकारसंग सहकार्य गर्नुहोस् ।’
नेता पाण्डेले विकास निर्माणमा जनताको सहभागीता शुन्य हुँदै गएकोतर्फ लक्षित गर्दै भने–’हाम्रो गाँउ हामीले नै बनाउनपर्छ, पहिला स्थानीय जनता विकासप्रति आफै जागरुक हुन्थे,काम पनि गर्थे तर अहिले गाँउको होस् वा सहरको कसैलाई आफ्नो घर वरपरको विकास निर्माणको चासो हुँदैन । एकोहोरो सरकारलाई गाली गर्यो बस्यो’, उनले थपे–’पहिला गाँउमा ३ लाख पठाउदा १२ लाखको काम हुन्थे,अहिले १२ लाख पठाउदा ३ लाखको काम हुन्छ,यो जतिको विकृती र लापरवाही के हुन्छ ?’
नेता पाण्डेले महादेवबेशी–आग्रा सडकलाई प्रदेश स्तरिय सडक संगै छुट्टै राजमार्गको रुपमा अघि सार्न सकिनेमा समेत जोड दिँदै मकवानपुरको डाँडाबास–आग्रा–धादिङको महादेवबेशी–केवलपुर हुँदै नुवाकोटको जिलिङसम्म ५० किलोमिटरको राष्ट्रिय राजमार्ग समेत बनाउन छुट्टै पहल गर्न सकिनेमा जोड दिए । नेता पाण्डेले थाहा नगरपालिका विकास र पर्यटनको सम्भावना नै सम्भावना बोकेको नगर भएको बताउदै विकासका पुर्वाधार संगै पर्यटन विकासमा मुख्य ध्यान दिनुपर्ने बताए । उनले अहिलेको दुई तिहाई सरकारबाट जनताले धेरै अपेक्षा गरेको बताउदै स्थानीय,प्रदेश र केन्द्र सरकार संगै मिलेर जानपर्ने बताए । उनले अहिलेको सरकारले काम गर्न सकेन भने मुलुकमा अराजकताले प्रशय पाउने जिकिर गरे ।
अनुगमनपछि बोल्दै थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टले जनतामा विकासप्रति अपनत्व भएमात्रै त्यस बिकासले दिगो रुप लिने बताए । ‘आग्रा–महादेवबेशी सडक निर्माणमा नेता राजेन्द्र पाण्डेले पहिल्यैदेखी चासो र महत्व दिनुभएको हो, अरु नेता आफ्नो जिल्ला र क्षेत्र वरीपरी घुम्छन तर उहाँले त्यसो गर्नुभएन ।’ विष्टले भने
उनले अझैपनि यस सडकलाई महत्वमा राखेर प्रदेश स्तरीय सडक बनाउने काममा पहल गरिदिन नेता पाण्डेलाई आग्रह गरे । विष्टले आग्राको विकासमा नगरपालिकाले छुट्टै ध्यान दिएको बताउदै सरकारले लगानी गरेको हरेक विकासमा जनता आफैपनि सक्रिय भएर लाग्नपर्नेमा जोड दिए । उनले भने–म तपाईहरुको प्रत्येक गुनासो सुन्न तयार छु, कहाँ,के भएन ? मलाई एक–एक विषय राख्नुस् म सुन्न तयार छु । सुन्न मात्रै हैन, काममा एक्सन लिन तयार छु ।
महादेवबेशी–आग्रा सम्मको १९ किलोमिटर सडकमा अहिले कटिङ,फिलिङ,ग्राभेलिङ तथा नालीको निर्माण भईरहेको छ । २०६४ सालमा स्थानीय विकास मन्त्री भएको बेला पाण्डेले १ लाख बजेट उपलब्ध गराएर सुरु भएको यो सडक दुई जिल्ला जोड्ने महत्वुपर्ण सम्पर्क सञ्जालको रुपमा लिईन्छ । अहिले यस सडकको प्रयोग गरी आग्रा भेगबाट काठमाडौँ जाने बस सञ्चालनमा छ ।
यहाँबाट महादेवबेशी हुँदै काठमाडौँ पुग्न साँढे २ घण्टा लाग्छ भने आग्रा बाट डाँडाबास–टिस्टुङ–नौविसे, काठमाडौँ पुग्न पाँच घण्टा लाग्ने गर्दछ । आग्रा,निगाले लगायतका नागरिकले यही सडक हुँदै दैनिक उपभोग्य सामाग्री आयात गर्छन भने उत्पादित फलफुल, तरकारी तथा पशुजन्य सामाग्रीहरु महादेवबेशी निर्यात गर्दछन ।