६० आयोजनाका लागि अनुमति माग गौशाला–चुच्चेपाटी सडक निर्माण सुरु

Post Thumbnail

वैशाख९, काठमाण्डौ । घाममा धुलो र वर्षामा हिलोको नामले परिचित गौशाला–चाबहिल–चुच्चेपाटी खण्डको निर्माण कार्य बन्दाबन्दीकै बीचमा सुरु भएको छ । काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत यस सडक खण्डको निर्माण कार्य सुरु भएको हो ।
खानेपानीको पाइप चुहिएका कारण विगत लामो समयदेखि धुलो र हिलोको सास्ती भोग्नु परेको यस सडक खण्डको निर्माणका लागि ठेक्का पट्टाको काम सम्पन्न भई निर्माण कार्य सुरु भइसकेको सडक विभागले जनाएको छ । विभागका अनुसार सडक निर्माणअन्तर्गत अहिले सो सडक खण्डमा बिछ्याइएको खानेपानी पाइपको ‘प्रेसर’ परीक्षण कार्य अन्तिम चरणमा रहेको छ । विभागका अनुसार, यो सडक खण्डको निर्माण कार्य सुरु गर्न कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्च स्तरीय समिति र जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट समेत स्वीकृति प्राप्त भइसकेको छ । बन्दाबन्दीमा काम गर्ने भएकाले सो स्वीकृति लिनुपरेको हो ।
विभागका महानिर्देशक केशवकुमार शर्माले गौशाला–चाबहिल सडक खण्डको निर्माण कार्य सुरु भएको जानकारी दिए । उनका अनुसार, गौशालादेखि चाबहिल चोकसम्म र चाबहिल चोकदेखि पूर्वमा चुच्चेपाटी र उत्तरमा धोबीखोला पुलसम्म सडक निर्माण सुरु गरिएको हो । यसै महिनाभित्र उक्त निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । ‘सब–बेस’, ‘बेस’ र कालोपत्रे गरी तीन चरणमा यो सडक खण्डको निर्माण गरिने छ । यो सडक खण्ड निर्माणका लागि कालिका-बेदाङ्सी (जेभी) र सडक विभागबीच सम्झौता भएको हो । १८ करोड रुपियाँमा यो सडक खण्डको निर्माण हुन लागेको हो । गौशाला–चाबहिल–चुच्चेपाटी–धोबीखोला सडक खण्ड ‘वाई’ आकारको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस