भाद्र २७,काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी–६ कुण्डोलका सुनिल अधिकारी सशस्त्र प्रहरीका सहायक हवल्दार हुन् । शुक्रवार साँझपख दाई सुदीपको घरमा मासु लिएर जाँदा उनले कल्पना नगरेको दृश्य देखे ।
मध्यपुर ठिमी–९ स्थित निकोसेरास्थित घरको पहिलो तल्लामा भतिजा सुशान्त अधिकारी मृत अवस्थामा पल्टिरहेका थिए । कोठाबाहिर कुकुर पनि मरेको थियो । दोस्रो तल्लमा भाउजु सम्झना, तेस्रो तल्लाको किचनमा दाई सुदीप मृत अवस्थामा पल्टिरहेका थिए । उनले फोन गरेपछि घटनास्थलमा प्रहरी पुग्यो ।
सिंगो परिवार नै सखाप भएको घटनाको यकिन कारण खुल्न बाँकी छ । तर, प्रारम्भिक अनुसन्धानबाट सो घटना ‘हत्यापछि आत्महत्या’ गरेको प्रहरीको निश्कर्ष छ । घटनास्थलमा एउटा विषादीको बट्टा फेला परेको छ ।
भान्साको चक्कु र दाउ छोरा सुशान्तको कोठाबाट प्रहरीले बरामद गरेको छ । विषादीको बट्टा किचनका फेला परेको छ, जहाँ सुदीप मृत अवस्थामा भेटिए ।
आमा छोराको शव सडेर गन्हाइरहेको थियो । सुदीपको शव चाहिँ आमा छोराको तुलनामा सडेको छैन् । तीनैजनाको शव भक्तपुरको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा पोष्टमार्टम हुँदैछ ।
‘पोष्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान गर्छौं,’ महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० दीपक थापाले भने– ‘हत्यापछि आत्महत्या भएको जस्तो देखिन्छ, तर यकिन घटनाको कारण खुलिसकेको छैन ।’
अनुसन्धान अधिकारीहरु थप अनुसन्धानको लागि पोष्टमार्टम रिपोर्ट कुरेर बसेका छन् । आमा, छोरा र कुकुरको शव कुहिएको र सुदीपको शव नकुहिएको हुनाले उनीहरुको हत्या गरेर केही दिनपछि सुदीपले विष खाएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निश्कर्ष छ ।
आमा–छोरा पल्टिएको ठाउँमा रगत लतपतिएको छ । आमा–छोराको टाउकोमा चोट लागेको छ । घटनास्थलमा भेटिएको दाउ र चक्कुले हानेर आमा छोराको हत्या गरेको हुनसक्ने अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।
सुदीपको हातमा विष लागेको देखिन्छ । कुकुरले पानी खाने भाँडामा झिंगा र किरा मरेको भेटिएको छ । कुकुरलाई पनि विष घोलेको पानी खुवाएर मारेको हुनसक्ने बताइएको छ ।
सुदीप भक्तपुरस्थित एक औषधी कम्पनीमा काम गर्थे । धेरै मदिरा सेवन गर्ने बानीका कारण औषधी कम्पनीले उनलाई जागिरबाट निकाल्यो । एक बर्षदेखि उनी बेरोजगार थिए ।
निकोसेरास्थित घरको सटरमा किराना पसल छ । उनी, पछिल्लो समय सोही पसलमा बस्थे । सुदीप–सम्झना दम्पतीले केही त्यहाँ घर बनाएको पनि धेरै भएको छैन । बाबु आमाको घर उनको बाट अलि टाढा छ । उनको घरनजिकै जस्ताको टहरो छ । त्यहाँ होटल, पसल छन् । तर, उनको घर आसपासमा अरु घर छैनन् ।
उनीहरुको घरको हरेक तल्लामा एउटा मात्र कोठा छ । घर बनाउँदा ऋण लागेको थियो । लकडाउन शुरु भएपछि सुदीपले ससुरासँग ‘पसलको सामान थप्न’ भनेर २ लाख ऋण लिएका थिए । ‘जसरी पनि दुई लाख दिनुपर्ने’ भनेपछि ससुराले सुदीपलाई पैसा दिएको प्रहरीसँग बताएका छन् । मदिरा सेवन गर्ने उनको बानीका कारण घर झगडा भैरहने छिमेकीहरु बताउँछन् ।
छोरा यस वर्ष एसईई पास भएका थिए । पछिल्लो समय छोरासँग पनि उनको झगडा भएको थियो । अन्तर्मुखी स्वभावका कारण घर वरपर बस्नेहरुसँग उनीहरुको खास सम्बन्ध थिएन् । घर झगडा र ऋणका कारण उनले हत्यापछि आत्महत्याको बाटो रोजेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।