भाद्र २२,काठमाडौँ । धादिङको थाक्रे गाउँपालिकाले सम्पुर्ण वडामा सार्वजनिक सुनुवाई गरेको छ । बिहिबार वडा नम्बर ९ र १० मा सार्वजनिक सुनुवाई गरेसंगै पालिकाले सुशासन र पारदर्शितामा गम्भिर रहेको र जनताको गुनासो सम्बोधन गर्न तयार रहेको सन्देश दिएको छ ।
आ.व २०७९–८० मा थाक्रे गाउँपालिका अन्तर्गत रहेका वडाहरुमा सञ्चालन भएका कार्यक्रम तथा योजनाका बारेमा सम्बन्धित वडाका वडा अध्यक्षहरुले जानकारी गराएका छन् भने वडावासीहरुले योजना र बजेटका सन्दर्भमा आफ्नो धारणासहित प्रश्नहरु राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा पालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्र बहादुर थापा, वडाका अध्यक्षहरुले उठेका सवाल र जिज्ञासाको जवाफ दिएका थिए । सहभागीहरुले सडक, शिक्षा, स्वास्थ्य,कृषि, सुशासन लगायतको बारेमा प्रश्न र जिज्ञासा उठाएका थिए ।
उठेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिदै जवाफदेही बक्ताले गाउँपालिकाबाट प्रवाह भएको सेवाको बारेमा समस्या, गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गरेका छन् ।
सवै वडा तथा गाँउपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण पत्रकार सरोज पौडेलले गरेका थिए ।