ऋषि बरालको पहिलो कृति ‘पैतालाका डोबहरु’ मुक्तक सङ्ग्रह बिमोचन

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ आश्विन ५, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज ५,काठमाडौँ । ऋषि बरालको पहिलो कृतिका रुपमा आएको पैतालाका डोबहरु मुक्तकसङ्ग्रहको बिहिबार एक भब्य कार्यक्रमका बिच नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा बिमोचन भएको छ । राजधानीको मिडिया इन्टरनेसनलको सभाहलमा धेरै मुक्तकिला मनहरुका माझमा बरिष्ठ कवि एवम् गीतकार रत्नशम्शेर थापाले कृतिको बिमोचन गरे ।

करिब दुई घण्टा लामो कार्यक्रममा कृतिका बारेमा समालोचनात्मक टिप्पणी त्रिबिबिका प्रा.डा. खगेन्द्रप्रसाद लुईटेलले गरेका थिए । उनले मुक्तकका सैद्धान्तिक र लेखन शैलिका बारेमा प्रकाश पार्दै मुक्तकका बारेमा रहेका अन्योल र भ्रमका बारेमा खुलेर प्रष्ट्याएका थिए ।

बिशिष्ट अतिथिका रुपमा नेपाल हाइकु केन्द्रका अध्यक्ष एवम् बरिष्ठ कवि प्रा. रामकुमार पाँडे, अनेसासका नवनिर्वाचित अध्यक्ष एवम् कवि राधेश्याम लेकाली, अनेसासका पूर्व अध्यक्ष एवम् कवयत्रि गीता खत्रिको उपस्थिति थियो ।

कार्यक्रममा स्थापित कवि तथा कवयत्रि, पत्रकार, लेखक, समिक्षक, समालोचक एवम् समकालिन मुक्तक लेखनमा लागेका स्रष्टा तथा सर्जकहरुको बिशेष उपस्थिति थियो ।

प्रतिष्ठानका महासचिव एवम् बरिष्ठ मुक्तककार रमेश पौडेलले बरालका मुक्तक सङ्ग्रहमा सङ्गृहीत मुक्तकका बारेमा समिक्षा गरेका थिए । उनले बरालका मुक्तकमा माया, प्रेम, घरदेश र परदेशका सुख दुख तथा मानविय प्रवृत्तिका सुन्दर छनक पाउन सकिन्छ भने ।

कार्यक्रमको सभाध्यक्ष नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष एवम् मुक्तककार रामकाजी कोनेले गरेका थिए भने नेपाल मुक्तक प्रतिष्ठानका सचिव बादल घिमिरेले कार्यक्रमको संचालन गरेका थिए ।

पैतालाको डोबहरु नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । यस कृतिभित्र जम्माजम्मी २१६वटा विभिन्न परिवेश र समयमा बरालद्धारा सृजित चतुष्पदीय छन्दका मुक्तकहरु समेटीएका छन् भने उनका मुक्तकले वर्तमानको युगीन परीवेशलाई स्पष्ट सम्बोधन गर्न सफल भएका छन् ।

९६ पृष्ठ रहेको यस सङ्ग्रहको मुल्य रु. १७५ ।– रहेको छ । आवरण कलामा बरिष्ठ कवि एवम् रेडियो नेपालका रमेश पौडेलले रङ् भरेका हुन । पुस्तकको डिजाइन चितवनका स्थापित डिजाइनर दीपेन्द्र कुमार जोशी निकले गरेका छन ।

डा. लक्ष्मणप्रसाद गौतमको भूमिका लेखन रहेको उक्त कृतिमा मुक्तककार रमेश पौडेल र बरिष्ठ हाइकुकार एवम् कवि प्रकाश पौडेल माइलाका शुभकामनारुपी मन्तव्यहरु समेत रहेका छन् । सर्जक ऋषि बरालले मुक्तक सङ्ग्रह लेखन प्रकाशनका क्रममा आफूले भोगेका अनुभवहरुलाई साटासाट गर्दै कृतिभित्रका केही मुक्तकहरु समेत वाचन गरेका थिए ।

नेपाल मुक्तक प्रतिष्ठानका विष्णुबहादुर सिंहले स्वागत मन्तव्य गरेका थिए भने बरालका मुक्तक कृतिबाट केही मुक्तकहरु मुक्तककार एवम् गीतकार प्रकाश सुवेदी र कवयत्रि शान्तिशर्माले वाचन गरेर सुनाएका थिए ।

आमन्त्रित अतिथि, विशिष्ट अतिथि, प्रमुख अतिथि कार्यक्रम सञ्चालक, सभाध्यक्षसबैलाई खादा ओढाएर सम्मान गर्नुकासाथै पैतालाका डोबहरुको सम्झनारुपी मायाको चिनो समेत दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस