मुक्तक -१
काँडा टेकेको पाउलाई, फूलै बिछाऊ त भन्दिनँ म
सस्तिएको आँशुको भाउलाई, चर्कै बनाऊ नि भन्दिनँ म
धेरै हण्डर खाइसकेँ, मुटुलाई पत्थर बनाइसकेँ
पुरिँदै गएको घाउलाई, मलमै लगाऊ भन्दिनँ म ।
मुक्तक-२
फोनमा च्याटमा कतै पनि, भेट हुँदैनौ सितिमिति
माया सद्भाव हुँदा-हुँदै, फरक किन तिम्रो नीति ?
झमक्क हुन्छ मुख पनि, बोलिन्थ्यो दु:ख-सुख पनि
अचेल किन भारी हुन्छ, तिम्लाई मेरो उपस्थिति ।
मुक्तक-३
पहिले विश्वास दिलाएर, मन-मुटुमा राज गर्यौ
विश्व चर्चित प्रेमकहानी, भुलाउने कामकाज गर्यौ
निहित स्वार्थमा बिकेपछि, फट्याइँ गर्न सिकेपछि
सम्झौता सब भंग गरी, सबका सामु लाज गर्यौ ।
मुक्तक-४
धेरै सुनियो जिन्दगीमा, फोश्रा तिम्रा बक-बकहरु
एउटा हातले दिए जस्तो, अर्कोले छिन्थ्यौ हकहरु
सधैको दिन एकै हुन्न, कति सक्छौ र जालो बुन्न
आजभोलि त बुझ्न थालेँ, तिम्रा सबै नाटकहरु ।
मुक्तक- ५
पहिलो चोटि भेट हुँदा, महिना थियो पुसको अहो
हिउँद बर्खा बित्दै गए, रमाई खास र खुसको अहो
कसम थियो जुनी-जुनी, दुईटा मुटु एकै हुनी
अहिलेसम्म बिजोडी म, माया फास न फुसको अहो ।
– गोम बिक्रम
कल्लाबारी, पाल्पा ।