माया बिहानी पखको
पारिलो घाम झैं सबैलाई प्यारो हुँदो रहेछ
तर त्यही मायाले घाम छिप्पिएर डाम्न थालेपछि
खाला भत्भत्ति पोले झैं मुस्कानको महलमा
डढेलो लाग्दो रहेछ ।
आगो न्यानो हुन्छ
त्यो सबैलाई थाहा छ
तर त्यही आगोले डाम्दो पनि त रहेछ
डाम्यो भन्दैमा आफ्नै क्रोधको कलिलो पैताले
रगड्न भने कहाँ सकिदो रहेछ ।
आगो न्यानो भयो भन्दैमा
अगाँल्न पनि त सकिदो रहेन छ
बालसूर्य प्यारो भयो भन्दैमा टपक्कै टिपेर
हत्केलामा अटाउँन पनि त नसकिदो रहेछ
जून मलाई बिछट्टै प्यारो लाग्छ
तर के गर्नु जूनको सुगन्धले
अगेनाको बिस्कुन नसुक्दो रहेछ ।
रातो गुलाब प्रेमको प्रतीक हो
तर काँडेदार डांठमै फुल्न रमाउँदो रहेछ
तर म भने बित्थामा सयपत्री फूलको बोटमा
गुलाब फुलाउन कोसिस गरिरहेको रहेछु
अनि मखमली फूलमा झुक्किई रहें अविरल
कहिल्यै ओइलाउँदैन भन्दै ।
एकदिन उनै फूललाई सोधेर हेरें
बिचरी मखमली त भित्रभित्रै सुकेर
झुरुमझुरुम भएकी रैछे
बल्ल पो बुझ्दै छु म
मखमली हुनुको नदेखिने पीडा झैं
मेरो जिन्दगी पनि त एक सम्झौतै सम्झौताको
दस्तावेज पो रहेछ ।
थाहा छैन मलाई
मलाई घृणा गर्ने उनको जिन्दगी
सम्झौता हो या उनको जिद्को शैल ?
-राजबाबु श्रेष्ठ (सागर)